‘दुई छिमेकीभन्दा पछि परिरहनु खतरनाक’

  • 4 डिसेम्बर 2016
जेफ्री स्याक्स

अमेरिकाका प्रतिष्ठित अर्थशास्त्री प्राध्यापक जेफ्रि स्याक्स गरीबी निवारणका एक विज्ञ र अभियानकर्मीका रुपमा चिनिन्छन्। दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार समेत रहेका स्याक्स छोटो समयका लागि काठमाण्डू आएका क्रममा उनलाई हाम्रा सम्वाददाता सञ्जय ढकालले भेटेर कुराकानी गरेका थिए। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:

प्राध्यापक स्याक्स तपाईं सन् १९९४ मा यहाँ आउनु भएको थियो र अब २०१६ मा आइपुग्नुभएको छ। यो अवधिमा तुलनात्मक रुपमा के फरक वा सुधार पाउनुभयो?

नेपालले गत २० वर्षमा गरेको प्रगतिले म खुशी छु। साथै म आगामी २० वर्षमा नेपालले अझ तीव्र विकास गर्नेछ भन्ने आशा राख्दछु। केही उपलब्धिबारे आँफैले हेरेर वा सुनेर मैले अब दिगो विकास तीव्र पार्न के गर्न सकिन्छ भनेर यस पटक छलफल गरेको छु।

विगतमा भूपरिवेष्टित हुनु बेफाइदा भनिन्थ्यो। तर अचेल दुई छिमेक चीन र भारतको तीव्र विकासले अवसर दिन्छ भनिन्छ। यी दुई बिच चेपिएको नेपालले हालसम्म त्यस्तो कुनै फाइदा लिन सकेको देखिन्न। किन होला?

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अमेरिकी अर्थशास्त्री जेफ्री स्याक्स

नेपालका दुई छिमेकी विश्वकै तीव्रतम विकास गरिरहेका विशाल देश भए पनि मलाई लाग्दैन नेपालले सक्ने जति वा गर्नु पर्ने जति काम यस दिशामा गर्न सकेको छ। यी दुई विशाल देशसंग कामकारवाही गर्नु निश्चय पनि जटिल कार्य हो। नेपालका सामु विशाल बजार तथा विशाल अवसर छन् किनभने चीन र भारत दुवैको अर्थतन्त्र प्रति वर्ष सात प्रतिशतका दरले बढ्दैछ। तर नेपालले आफ्नो अर्थतन्त्र त्यति धेरै दरमा वृद्धि गर्न सकेको छैन। त्यसो किन भयो भने जुन ठूला लगानी हुनुपर्थ्यो ती भएनन्, उदाहरणका लागि जलविद्युतका क्षेत्रमा एक पुस्ता भन्दा बढी समय अगाडि देखि चर्चा भएका ठूलठूला विस्तारका योजना कार्यान्वयन भएका छैनन्। त्यसैले ठूला लगानी हुने हो भने नेपालले अहिलेको भन्दा तीव्र विकास गर्न सक्छ।

तपाईंले खनिज इन्धनमा आधारित २० औ शताब्दीको विकासको मोडेल अब धान्न सकिंदैन, हरित अर्थतन्त्र आवश्यक छ भन्ने गर्नुभएको छ। नेपाल जस्तो एउटा विकासोन्मुख देश, जोसँग हरित अर्थतन्त्रका लागि चाहिने प्रविधि र खर्च सहज उपलब्ध छैन, उसका लागि अब के विकल्प रहन्छन्?

वास्तवमा नेपाल त हरित अर्थतन्त्रबाट फाइदा लिन एकदमै उपयुक्त परिस्थितिमा छ। ऊ संग जलविद्युतको विशाल सम्भावना छ। यो भनेको हरित, सफा अनि कार्बन रहित उर्जा हो। यदी नेपालले धेरै जलविद्युत उत्पादन गर्ने हो भने, त्यसमध्य केही निर्यात गर्ने हो भने अनि विद्युतलाई घरेलु यातायात प्रणालीमा प्रयोग गर्ने हो भने उसको हावापानी स्वच्छ हुनुका साथै अर्थतन्त्रपनि हरित र थप प्रभावशाली हुनेछ।

तपाईंले खासगरी भूगोल र देशको विकासमा त्यसको भूमिका बारे अफ्रिकी देशहरुको अध्ययन गर्नुभएको छ। नेपाल पनि भूपरिवेष्टित तथा अतिकम विकसित मुलुकको एउटा विशिष्टै उदाहरण मनिन्छ जहाँ जातिय विविधता, द्वन्द्व र असमानता सबै छन्। तपाईंको अन्तर्राष्ट्रिय अनुभव नेपालले कस्तो आर्थिक विकासको मोडल पछ्याउनुपर्ला भन्ने लाग्छ?

भूपरिवेष्टित भएकै कारण नेपालका सबै पक्ष चाहे इतिहास होस् वा संस्कृति वा अर्थतन्त्रमा प्रभाव परेका छन्। तर अहिले सबभन्दा उल्लेखनीय पक्ष के छ भने नेपालका दुवै छिमेकी तीव्र गतिमा वृद्धि भइरहेका अर्थतन्त्र हुन्। नेपाल चीन वा भारत दुवैभन्दा गरीब छ। यसको अर्थ हो नेपालले यी दुवै देशमा आफ्ना लागि बजार भेट्टाउन सक्छ। मेरो दृष्टिकोणमा यो नेपालका लागि अवसर मात्र होइन आवश्यकता नै हो ताकि उसले छिटो विकास गरी दुई छिमेकीभन्दा धेरै पछाडी नपरोस्। किनभने, त्यसो भयो भने यो देशको लागि वास्तवमै खतरा उत्पन्न हुन्छन्।

तपाईं सन् ८० ताका निकै परम्परावादी अनि आर्थिक अनुशासनका कट्टर हिमायती अर्थशास्त्री मानिनु हुन्थ्यो। तर अहिले आएर झण्डै झण्डै मानवतावादी जस्तो देखिनु, सुनिनु हुन्छ। तपाईंमा आएको यस परिवर्तनबारे केही बताइदिनोस्?

यो कुनै व्यक्तिगत परिवर्तन होइन। मैले त जस्तो समस्या देख्छु सोही अनुसार विश्लेषण गर्ने गर्छु। सन् ८० को अन्ततिर जब मैले पूर्वी यूरोपेली देशहरुको बारेमा काम गरें त्यतिखेरको उनीहरु कम्युनिष्ट शासन शैलीबाट बाहिरिने प्रयत्न गर्दै थिए। त्यो शासन निकै खराब सावित भएको थियो त्यसैले उनीहरुलाई बजारमा सुधारको आवश्यकता थियो। त्यतिखेर उनीहरुलाई त्यही चाहिन्थ्यो। जब म अफ्रिकामा काम गर्दै थिएं, त्यतिबेला रोगहरुको नियन्त्रण सबभन्दा मूल विषय थियो। त्यसैले मैले त्यसैमा ध्यान दिएं। नेपाललाई हेर्दा मेरो विचारमा सबभन्दा प्रमुख समस्या भौतिक संरचनाहरुको छ। त्यसमा उर्जा, सडक, सञ्चार तथा गुणस्तरीय सामाजिक सेवाहरु पर्छन्। त्यसैले राम्रो अर्थतन्त्र भनेको आफुसामुको समस्या बुझ्नु हो। अन्य देशमा अन्य समयमा देखिएका समस्या बुझिरहनु होइन।