प्रधानमन्त्री प्रचण्ड 'लचिलो हुन तयार'

  • 11 डिसेम्बर 2016

प्रधानमन्त्री प्रचण्डले संविधानलाई स्विकार्यता बढाउँदै निर्वाचनमा जानुको विकल्प नभएको भन्दै सबै दललाई एकताका निम्ति सार्वजनिक अपिल गरेका छन्।

तस्वीर कपीराइट pm secretariat

सबै जसो दलका नेता सहभागी भएको राजधानीमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले समाधान खोज्न सरकार लचिलो बन्न तयार रहेको पनि बताए।

संविधान संशोधन विधेयक संसदमा दर्ता भए यता दलहरुबीच बढेको देखिएको दुरी घटाउन आइतबार राष्ट्रपतिदेखि प्रमुख दलका नेताले समेत सक्रियता देखाएका थिए।

संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दै सरकारले दर्ता गराएको संशोधन विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको सन्दर्भमा प्रधामन्त्रीको पछिल्लो अपिल आएको हो।

'अधिकतम प्रयास'

एमालेको अवरोधका कारण संशोधन विधेयक दर्ता भएको दुई साता पुग्न लाग्दा पनि संसद बैठकमा प्रस्तुत हुन पाएको छैन।

विधेयकलाई संसदमा छलफल गराउन सरकारकातर्फबाट भएका प्रयासले सार्थक परिणाम नदिएका बेला प्रधानमन्त्रीले सबै दलका नेताहरु सहभागी कार्यक्रममा भने, "एमाले लगायत सबै दललाई मेरो अनुरोध छ, सबैलाई साथमा लिनका लागि अधिकतम प्रयास गरौँ, म सरकारकातर्फबाट आवश्यक लचकता अपनाउन तयार छु। तर फेरि आन्दोलन गर्ने स्थिति नदोहोरियोस्, एकताको निम्ति सबैलाई अपिल गर्दछु।"

माउन्टेन टेलिभिजनको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमा उनले विगतमा पनि अनेक तिक्तताबीच दलहरु एकतामा जोडिने गरेको प्रसंग सम्झना गरेका थिए।

ठूला दलका नेताका शीर्षस्थ नेताले संविधान जारी गर्नु पूर्व नै संशोधन गर्ने प्रतिवद्धता जनाएको र सोही अनुरुप सकारले संशोधन दर्ता गराएको उनको भनाई थियो।

आग्रह

उनले भने "हामी तराई-पहाड-हिमाललाई मिलाउन चाहन्छौं, सकेसम्म संविधान संशोधनमार्फत असन्तुष्ट पक्षका जायज माग सम्बोधन गर्दै देशलाई निर्वाचनतिर लैजान चाहान्छौं। यो कुरामा अन्यथा सोच्नु पर्ने देख्दिन।"

प्रधानमन्त्री प्रचण्डले हाल देखिएको गतिरोध अन्त्य गर्न सहमतिको निम्ति अपिल गरेकै दिन उनीसँग सत्ता सहकार्यमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा आउन आग्रह गरेका छन्।

एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी ओलीसँग भएको छलफलबारे एमाले नेता संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, "वर्तमान अवस्थामा जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिएर समस्या समाधान गर्नुको विकल्प छैन भन्नेमा उहाँहरु सकारात्मक देखिनु भएको छ।"

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच पनि भेटवार्ता भएको थियो।

जुन भेटमा प्रचण्डले सबैलाई समेटेर अगाडि बढ्न आफू प्रयत्नशील रहेको जानकारी राष्ट्रपतिलाई गराएको बताइएको छ।