उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको तीव्र विरोध

  • 12 फेब्रुअरी 2017
क्षेप्यास्त्र तस्वीर कपीराइट kim hee-chul
Image caption उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुन्द्र नजिकै खसेको छ

डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि पहिलोपल्ट उत्तर कोरियाले प्राक्षेपिक क्षेप्यास्त्र अर्थात ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ।

ट्रम्पले जापानी प्रधानमन्त्री शिञ्जो आबेलाई जापानको ठूलो समर्थक अमेरिका शत प्रतिशत उसको साथमा रहेको बताएका छन्।

दक्षिण कोरियाली अधिकारीका अनुसार क्षेप्यास्त्र पूर्वमा रहेको जापानी समुन्द्रतर्फ करिब ५०० किलोमिटर टाढा पुगेको थियो।

आबेले परीक्षण कुनै हालतमा सह्य नहुने बताए। जापानी अधिकारीहरुले उक्त क्षेप्यास्त्र आफ्नो पानीसम्म आइनपुगेको बताएका छन्।

प्रतिबद्धता

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका आबेले संयुक्त प्रेस सम्मेलनमा भने- 'राष्ट्रपति ट्रम्पले हाम्रो गठबन्धन बलियो बनाउन अमेरिका प्रतिबद्ध रहेकोमा आश्वस्त तुल्याएका छन्'।

चुनावी अभियानका बेला ट्रम्पले जापान र कोरियाप्रति अमेरिकी रक्षा प्रतिबद्धता अनुचित भन्दै र जापानमा अमेरिकी सैनिक राख्दा लाग्ने खर्च जापानले नै बेहोर्नुपर्ने बताएका थिए।

उत्तर कोरियाले गत वर्ष गरेका आणविक र क्षेप्यास्त्र परीक्षणले यो क्षेत्रमा आक्रोश र सतर्कता बढाएको छ।

उत्तरी प्योङगन प्रान्तमा रहेको बाङ्घ्योन हवाइ आधारबाट स्थानीय समय ७.५५ मा प्रहार गरिएको थियो।

क्षेत्रप्यास्त्र ५५० किलोमिटर माथि आकाशमा पुगेर खसेको थियो।

तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति ट्रम्पले जापानप्रति अमेरिकाको शत प्रतिशत साथ रहेको बताए

दक्षिण कोरियाली सेनाले भनेको छ उक्त क्षेप्यास्त्र ४००० किलोमिटरसम्म पुग्न सक्छ र प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग गुयममा पुग्न सक्छ।

ज्यानवरी महिनामा उत्तर कोरियाली नेता किम जङ उनले उनको सेना लामो दुरीको क्षेप्यास्त्र परीक्षणको नजिक पुगेको र त्यो आणविक युद्ध शक्ति सहित अमेरिकी मुख्य भूमि पुग्नसक्ने क्षमताको रहेको चेतावनी दिएका थिए।

ट्रम्पले उक्त दावीको उपहास गर्दै ट्वीटमा 'त्यो हुन सक्दैन' भनेका थिए।

सनकपूर्ण आशक्ति

दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाको बारम्बारको उक्साहटले किम जङ उन सत्ताको विवेकहिनता र आणविक तथा क्षेप्यास्त्र विकासमा सनकपूर्ण आशक्ति प्रदर्शन भएको बताएको छ।

जापानका मन्त्रिपरिषद प्रमुख सचिव योशिहिदे सुगाले जापानी पानीसम्म उक्त क्षेप्यास्त्र नपुगेको बताए र टोक्योले त्यसबारे कडा विरोध जनाउने बताए।

उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

गत हप्ता दक्षिण कोरिया पुगेका अमेरिकी रक्षा मन्त्री जेम्स म्याटीसले उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेमा तत्काल प्रभावकारी र बलियो प्रतिक्रिया उत्तर कोरियाले भोग्नुपर्ने बताएका थिए।

उनले दक्षिण कोरियामा यो वर्ष नै अमेरिकी क्षेप्यास्त्र रक्षा प्रणाली तैनाथ गरिने योजनाको पुनर्पुष्टि गरेका थिए।

उत्तर कोरियाले गत वर्ष उसको पाँचौं आणविक परिक्षण गरेको थियो र उसले अमेरिकामाथि आणविक आक्रमण गर्न सक्ने क्षमता रहेको दावी गर्छ।

तर विज्ञहरु उसको प्रविधि त्यहाँसम्मको होला भन्नेमा अहिलेसम्म विश्वस्त छैनन्।