मोसुल विमानस्थल इराकी सेनाको नियन्त्रणमा

  • 23 फेब्रुअरी 2017
तस्वीर कपीराइट Reuters

इराकी सरकारी सैन्यले मोसुल शहरबाट इस्लामिक स्टेट समूहका लडाकुहरुलाई धपाउने प्रयासमा जारी कार्वाहीका क्रममा त्यहांको विमानस्थललाई पुन: आफ्नो नियन्त्रणमा लिएका छन्।

तोप, ट्यांक र अमेरिकी नेतृत्वको गठबन्धन सैन्यको हवाइ हमलाको मदत प्राप्त सेनाले घण्टौंको संघर्ष पछि रणनीतिक दृष्टिले महत्वपूर्ण विमानस्थलमा कब्जा जमाएका विवरणहरुमा जनाइएको छ।  

मोसुलको विमानस्थल कब्जामा लिने आक्रमण बुधबार राती हवाइ हमलाहरुका साथ शुरु भएको थियो।

हमला

त्यसपछि विमानस्थलमा बख्तरबन्द सैनिक सवारी साधनहरुले हमला गरेका थिए।

उक्त विमानस्थल र अल गजलानी सैनिक अखडा मोसुलको दक्षिणी बाहिरी क्षेत्रमा र टाईग्रीस नदीको पश्चिमी किनारामा पर्दछ।

इराकी सैन्यहरुसंग रहेका एकजना बीबीसी संवाददाता भन्छन्, आइ एसका लडाकुहरुले विमानस्थल भन्दा पारी रहेका आफ्ना ठेगानाहरुबाट मोर्टार हमला जारी राखेका थिए।

हाम्रा संवाददाता भन्छन्, विमानस्थलको धावनमार्ग आइएस लडाकुहरुले नष्ट गरिदिएका छन्, तर पनि उक्त विमानस्थलको महत्व ठूलै रहेको छ। उक्त ठूलो र फराकिलो स्थान नियन्त्रणमा लिन सफल भएपछि त्यहांबाट पश्चिम मोसुलतर्फ जाने दक्षिणी बाटोहरु सुरक्षित तुल्याउन सेनालाई सजिलो हुन सक्नेछ।

कब्जा

विमानस्थल कब्जामा लिएपछि इराकी सैन्य मोसुल शहरको दक्षिण पश्चिमी क्षेत्रको बाहिरी भेगको नजीक पुगेको बताइएको छ।

घना वस्ती भएको सो इलाकामा रहेका उग्रवादीहरुले रकेट हमलाहरु गर्न सक्ने अनुमान गरिएको छ।

इराकी सैन्यले गत महिना पूर्वी मोसुललाई पुन: आफ्नो नियन्त्रणमा लिएका थिए।