सेसन्सलाई पद त्याग गर्न आह्वान

  • 2 मार्च 2017

विपक्षी डेमोक्रयाट नेताहरुले अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सलाई रुसी अधिकारीसंग उनको भेटको विषयलाई लिएर पदत्याग गर्न माग गरेका छन्।

उनीहरुले सेसन्सले शपथ लिएर पनि झुठो बोलेको भन्दै त्यस्तो माग गरेका हुन्।

राष्ट्रपतीय निर्वाचन अघि रुसी अधिकारीहरुसंग सम्पर्क गरेको भनी आलोचित महान्यायाधिवक्ता जेफ सेसन्समाथि दबाब बढिरहंदा उनले निर्वाचन प्रचार अभियानबारे छलफल गर्न त्यस्तो कुनै भेट नगरेको बताएका छन्।

एउटा समाचार च्यानल एमएसएनबीसी नेटवर्कसंग कुरा गर्दै उनले त्यस्तो विवरणहरु सहितका समाचारहरु झुट्टा भएको दावी गरे।

प्रस्ताव

उनले ट्रम्पको चुनावी टोली र मस्को बीच सम्पर्क भएको हुनसक्ने भन्ने विषयमा कुनै अनुसन्धान भएमा आफू त्यस प्रकृयामा सहभागी नबन्ने प्रस्ताव पनि गरे।

हाउस अफ रिप्रिजन्टेटिभ्समा रिपब्लिकन सांसदहरुका नेता केभिन म्याक्कार्थीले संभावित अनुसन्धानबाट अलग रहन सेसन्सलाई आग्रह गरेका थिए।

उनले भने, "त्यसो भयो भने अमेरिकी जनताको विश्वास कायम राखीराख्‍न सजीलो हुनेछ।"

एउटा वक्तव्य जारी गर्दै सेसन्सले आफ्नो पदबहालीका लागि भएको सुनुवाइका क्रममा राष्ट्रपतीय निर्वाचन प्रचार अभियानका बेला रुसी राजदूतसंग भेट गरेको कुरा लुकाएको भन्ने विवरणहरुलाई झुठा र अविश्वसनीय भनेका थिए।  

आफ्नो पदबहालीका लागि भएको संसदीय सुनुवाइका क्रममा सेसन्सले निर्वाचनका विषयमा रुसी अधिकारीहरुसंग कुनै कुराकानी नभएको बताएका थिए। तर त्यसयता उनले आफूले आफ्नो सिनेटरको भूमिकामा अमेरिकाका लागि रुसी राजदूतसंग भेट गरेको स्वीकार गरेका छन्।

भेटघाट

बीबीसी वाशिंगटन सम्बाददाता जेन ओब्रायनका अनुसार त्यस्तो भेटघाट कुनै पनि हिसाबले गैरकानुनी होइन र त्यो नियमित कार्य जिम्मेवारी अन्तर्गत नै भएको मानिन्छ। तर केहि डिमोक्र्याटहरुको माग छ, उनले राजीनामा दिनुपर्छ किनभने उनले सपथ खाएर पनि झुठो बोलेका थिए।

महान्यायाधिवक्ताको हैसियतमा रहंदा जेफ सेसन्सले नै राष्ट्रपति ट्रम्पको चुनाव प्रचारप्रसारका क्रममा उनको टोलीका कसैले रुससंग सम्पर्क गरेका थिए की थिएनन् भनी अनुसन्धान गर्नु पर्ने या नपर्ने निर्णय गर्नु पर्नेछ। रुसलाई अमेरिकी राष्ट्रपतिय निर्वाचनको नतिजालाई प्रभावित गर्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ, जुन आरोपलाई मस्कोले भने अस्वीकार गर्दै आएको छ।

गत महिनामात्रै राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले अमेरिकाकालागि रुसी राजदूत सेर्गेइ किसलियाकसँग चुनावी अभियानका क्रममा मस्को विरुद्धका नाकावन्दीहरुबारे छलफल गरेको भन्ने आरोप लागे पछि राष्ट्रपति ट्रम्पले उनलाई पदबाट हटाउका थिए।