एमालेको तराई केन्द्रित अभियान शुरु

  • 4 मार्च 2017
एमाले अभियान

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि चुनावलाई लक्षित गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालले शनिबारदेखि 'मेची-महाकाली राष्ट्रिय अभियान' शुरु गरेको छ।

सो पार्टीका नेताहरुले 'राष्ट्रिय एकता, संविधान कार्यान्वयन तथा चुनावको सुनिश्चितताका लागि' आयोजना गरिएको बताएका छन्।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि संसद्का ठूला दलहरुमध्ये पहिलोपल्ट एमालेले आयोजना गरेको उक्त अभियानका कार्यक्रम पूर्व-पश्चिम राजमार्ग केन्द्रित रहनेछ नेताहरुले बताएका छन्।

अभियानको शुरुवात गर्दै एमाले अध्यक्ष केपी ओलीले संसद्‍मा सरकारले पेश गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने उनको यसअघिको अडान दोहोर्याए।

'जनभावना विपरीत'

उनले भने, "सरकारले संसद्‍मा पेश गरेको संविधान संशोधन विधेयक देशको हितमा छैन। त्यो जनभावना विपरीत छ। त्यसैले हामीले त्यसलाई पारित हुन दिँदैनौँ।"

विशेषगरी तराईकै क्षेत्रमा अभियानका कार्यक्रमहरु चलाइने एमालेले बताइरहँदा तराई केन्द्रित दलहरुकै मागहरुलाई सम्बोधन गर्ने भनेर सरकारले संसद्‍मा पेश गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने अडान संसदीय अभ्यास भएको ओलीले दाबी गरे।

उनले थपे, "यो हामीले अलोकतान्त्रिक ढंगले कुरा गरेका छैनौँ। संसदीय अभ्यासभित्र, संसद्‍भित्रको कुरा गरेका छौँ।"

एमालेले तराई र पहाडबीचको साम्प्रदायिक सद्‍भाव खल्बलिन नदिन अभियान चलाएको बताइरहँदा तराईका मुद्दालाई सम्बोधन नगरी जस्तोसुकै नाम दिएर अभियान चलाइएपनि वर्तमान राजनीतिक गतिरोध अन्त्य नहुने त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका सह-प्राध्यापक भीम सुब्बाको बुझाई छ।

भूमिका

सुब्बाले भने, "अहिलेको परिस्थितिमा यो सार्थक हुने कुरै भएन। केही गरेन केही गरेर जानुपर्छ भन्ने मान्यता सम्भवतः भएर यो अभियान चालेको हुन सक्छ तर यो अभियानले राजनीतिक संकट निवारण गर्ने भूमिका खेल्न सक्दैन।"

पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्र लगायत ३३ स्थानमा एमालले आमसभा लगायतका कार्यक्रम गर्ने बताइएको छ।

एमालेले अभियानका कार्यक्रम सडकछेउमा गरिरहँदा पूर्व-पश्चिम राजमार्ग घण्टौंसम्म अस्तव्यस्त बन्न पुगेको थियो।

कार्यक्रमका बेला अत्यावश्यक दमकल तथा एम्बुलेन्स जस्ता सवारी साधनसमेत गुड्न पाएका थिएनन्।