अमेरिकी क्षेप्यास्त्र प्रणालीप्रति चीन रुष्ट

  • 7 मार्च 2017
क्षेप्यास्त्र तस्वीर कपीराइट Reuters

दक्षिण कोरिया र अमेरिकाले एउटा क्षेप्यास्त्र प्रतिरक्षात्मक कवच परिचालन गर्न थालेपछि चीनले आफ्नो रक्षाका लागि कदम चाल्ने बताएको छ तर त्यो कस्तो कदम हो भनेर खुलाएको छैन।

थाड नामक त्यो प्रणाली उत्तर कोरियाको आक्रमणबाट बचाउने गरी तयार गरिएको सोलको दावी छ।

चीनले थाडलाई मन पराएको छैन र त्यो स्पष्ट पारेको छ।

थाडको प्रक्षेपण गरिएको खबरप्रति प्रतिकृया दिंदै बेइजिङमा विदेश मन्त्रालयका एकजना प्रवक्ताले आफ्नो सरकारले देशको सुरक्षाको बचाउ गर्न पक्कै केही कदम चाल्ने बताएका छन्।

तिनै प्रवक्ताले सबै पक्षलाई तनाव कम गर्ने प्रयास गर्न पनि आह्वान गरेका छन्।

थाडका विशेषता

थाडलाई छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरुका विरुद्ध सुरक्षा दिने किसिमले बनाइएको छ।

उत्तर कोरियाले त्यस्तै क्षेप्यास्त्रहरुले दक्षिण कोरियामाथि आक्रमण गर्ने चेतावनी दिने गरेको छ।

र सोमबार उत्तर कोरियाले जापानी समुद्रमा थुप्रैवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

चीनले अमेरिकामाथि आक्रमण गर्नका लागि प्रयोग गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्रका विरुद्धमा भने थाडले सुरक्षा दिन सक्दैन।

रेडारप्रति चिन्ता

बेइजिङको चिन्ता मुख्यतया थाडको शक्तिशाली रेडारसंग सम्बन्धित छ।

त्यो रेडारले चीनको निकै भित्रसम्म जाँचबुझ गर्न सक्छ र त्यसले अमेरिकाका रहेका अन्य रक्षात्मक प्रणालीलाई चेतावनी दिन सक्नेछ, अर्थात् अचानक आणविक आक्रमण भएमा त्यो अमेरिकाले चाँडै थाहा पाउनेछ।

त्यसका लागि आवश्यक उपकरण दक्षिण कोरिया पुग्न थालेपछि चीनका प्रवक्ताले त्यसका परिणामहरु अमेरिका र दक्षिण कोरियाले भोग्ने चेतावनी दिएका छन्।

तर वाशिंगटनका शक्तिशाली रेडारहरु जापानमा र थाड प्रणाली ग्वाममा यो भन्दा अघि देखि नै छन्।

त्यसैले दक्षिण कोरियामा आधारित नयाँ रेडारले कस्तो फाइदा दिन्छ त्यो स्पष्ट छैन।