ब्रिटेन इयु छोड्ने प्रक्रिया अघि बढाउँदै

  • 20 मार्च 2017
इयु र ब्रिटेन तस्वीर कपीराइट AFP

ब्रिटेनले युरोपेली संघबाट बाहिरिने प्रकृया मार्च महिनाको अन्तिम साता शुरु गर्ने बताएको छ।

ब्रिटेनकी प्रधानमन्त्री टेरीजा मेले यसै मार्च महिनाको २९ तारिखमा ब्रिटेनले युरोपेली संघ छोड्ने सूचना औपचारिक रुपमा संघलाई दिनेछिन्।

मेले युरोपेली परिषद्लाई चिठी लेख्ने भन्दै डाउनिङ्ग स्ट्रिटले त्यसपछि बहिर्गमनका शर्तहरु र भविष्यको सम्बन्धका बारेमा सकेसम्म चाँडै वार्ता अघि बढ्ने आशा राखेको बताएको छ।

एउटा जनमतसंग्रहमा ब्रिटेनका ५१ दशमलव ९ प्रतिशत मतदाताले इयु छोड्ने पक्षमा मत दिएको ९ महिनापछि त्यस्तो कदम चालिएको हो।

प्रतीक्षा

इयुका एकजना प्रवक्ताले इयु त्यस्तो चिठीका लेख्नका लागि तयार रहेको र त्यसको प्रतीक्षा गरिरहेको बताएका छन्।

सन्धीको सम्बन्धित धारा ५० का अनुसार ब्रिटेनले इयुलाई ‍औपचारिक रुपमा आफू बाहिरिने जानकारी नदिएसम्म बहिर्गमनका शर्त र भावी सम्बन्धका बारेमा वार्ता गर्न पाईंदैन।

त्यस्तो वार्ताका लागि औपचारिक समयतालिकामा दुई वर्षको समय दिइएको छ। सबैकुरा समय अनुसार भएमा ब्रिटेनले सन् २०१९ को मार्च महिनामा इयु छोड्ने छ।

योजना

मेले बुधबार धारा ५० लागू गरेपछि आफ्नो उद्देश्यका बारेमा संसदलाई सम्बोधन गर्ने अनुमान गरिएको छ।

डाउनिङ्ग स्ट्रिटका एकजना प्रवक्ताले चाँडै आमनिर्वाचन हुने सम्भावनालाई अस्वीकार गरेका छन्।

सोमबार मेले इयुबाट ब्रिटेनको बहिर्गमन गराउन र सही सहमति गर्नमा आफू उद्दत रहेको बताएकी छन् र गत वर्षको जनमतसंग्रहको उद्देश्य इयु छोड्नु मात्रै नभएर देशले कसरी काम गर्छ त्यसमा परिवर्तन ल्याउनु पनि रहेको बताएकी छन्।

त्यस अन्तर्गत बलियो अर्थतन्त्र बनाउने र आर्थिक विकासका फाइदाहरु ब्रिटेनका सबै भागमा पुर्याउने पनि उद्देश्य रहेको उनले बताइन्।

आफूले इयुसंग गर्ने सहमतिमाथि सांसदहरुले मतदान गर्ने मेले बताएकी छन् तर संसदले त्यो सहमति अस्वीकार गरेको खण्डमा पनि ब्रिटेनले इयु छोड्नेमा उनले जोड दिएकी छन्।