'लण्डन आक्रमणमा चारजनाको मृत्यु'

  • 22 मार्च 2017
प्रहरी कारबाही तस्वीर कपीराइट PA
Image caption लण्डन आक्रमणपछि प्रहरी कारबाही तीव्र बनाइएको थियो।

ब्रिटेनको संसद् भवनबाहिरको आक्रमण पछि मारिनेहरुको संख्या चार पुगेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले आक्रमणकारीसहित पाँचजना मारिएको बताएपनि पछि उक्त संख्या चारमात्रै रहेको जनाएको हो।

कम्तीमा २९ जना मानिसहरु घाइते भएको बताइएको छ।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडिरहेका मानिसहरुमाथि मोटर लगेर जोताएका थिए।

पछि ती व्यक्तिले मोटरबाट निस्केर संसद् भवनको सुरक्षा गरिरहेका प्रहरीमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए।

लगत्तै ती आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो।

आक्रमणकारी तथा घाइते प्रहरी दुवैको ज्यान गएको विवरणहरुमा जनाइएको छ।

छानविन

लण्डनको मेट्रोपोलिटन प्रहरीका एकजना प्रवक्ताले लण्डनभरि नै थप प्रहरी तैनाथ गरिएको र पूर्णकालीन आतंकवाद विरोधी छानविन शुरु गरिएको बताए।

वेस्टमिनस्टर पुलमा घाइतेहुनेहरुमध्ये तीनजना प्रहरी पनि रहेको बताइएको छ।

घाइते हुनेहरुमध्ये फ्रान्सका तीनजना स्कुले विद्यार्थीहरु पनि भएको जनाइएको छ।

जानीजानी पदयात्रीमाथि कार गुडाइएपछि एक महिलाको मृत्यु भएको चिकित्सकहरुले बताए।

सो कार आक्रमणपछि गम्भीर घाइते भएका अन्य केहीको उपचार भइरहेको छ।

आक्रमणमा कैयौं पदयात्रीहरुलाई किचेपछि सो कार नजिकैको रेलिङमा गएर ठोकिएको थियो।

'आतंकवादी हमला'

प्रहरीले संसद भवनबाहिर भएका आक्रमणलाई "हालका लागि आतंकवादी हमला" को रुपमा लिइएको बताएको छ।

सेन्ट टमस अस्पतालका एक डाक्टरले कैयौं घाइतेको अवस्था गम्भीर रहेको बताए।

सो घटना लगत्तै ब्रिटिश संसदको कारवाही स्थगित गरिएको थियो।

सांसदहरुले तीन वा चार पटक गोली चलेको आवाज सुनेको बताएका थिए।

सुरक्षित

प्रधानमन्त्री टरिजा मे सुरक्षित रहेको डाउनीङ स्ट्रीटले जनाएको छ।

गोली चलेको आवाज सुनिए लगत्तै ब्रिटिश प्रधानमन्त्री टरीजा मेलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।

उनले सो हमलाको निन्दा गर्दै हताहति हुनेहरुप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेकी छन्।

उनले मन्त्रीहरुसहितको एउटा संकटकालिन बैठक पनि गरेकी थिइन्।