रुसद्वारा अमेरिकी हमलाको भर्त्सना

  • 7 एप्रिल 2017
टोमाहक क्षेप्यास्त्र प्रहार तस्वीर कपीराइट Reuters

अमेरिकाले सिरियामा भएको ठानिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरुप भूमध्यसागरमा तैनाथ युद्धपोतबाट सिरियाली हवाइ अड्डामा झण्डै ६० वटा टोमाहक क्षेप्यास्त्र प्रहार गरेको थियो।

सिरियाली सेनाका अनुसार ती आक्रमणमा ६ जनाको ज्यान गएको छ।

यो सिरियाली राष्ट्रपतिले सम्हालेको फौजविरुद्धको पहिलो सीधा अमेरिकी सैन्य आक्रमण हो।

बसर अल-असदको सरकारलाई समर्थन गर्दै आएको क्रेमलिनले पछिल्लो अमेरिकी आक्रमणको विरोध गरेको छ।

राष्ट्रपति पुटिनका प्रवक्ता डीमीत्री पेस्कोभले आक्रमणको निन्दा गरेका छन्।

उनले भने, "अमेरिकी आक्रमण "एक सार्वभौंम देशविरुद्धको अतिक्रमण हो"।

विरोध

सिरियाली सरकारले हमलाको कडा विरोध गरेको छ।

उसले सिरियामा सैन्य गतिविधि अब थप नचर्कने अपेक्षा गरेको छ।

पछिल्लो आक्रमणअघि अमेरिकाले सिरियाको विद्रोही नियन्त्रित शहरमा दर्जनौँको ज्यान लिने गरी रासायनिक हतियार प्रयोग गरिएपछि तत्कालै सैनिक कारवाही गर्ने विकल्पबारे विचार गरिरहेको बताएको थियो।

आक्रमणपछि राष्ट्रपति ट्रम्पले उनले रासायनिक हमला गरिएको ठानिएको सिरियाली हवाइ अखाडामा अमेरिकी सैन्य कारवाहीको आफूले आदेश दिएको बताए।

संवाददाताहरुमाझ उनले भने, "रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ विपरित छ।"

पछिल्लो हमलासंगै वासीङटनले मस्कोसँगको चिसो सम्बन्ध झनै बिग्रिएको प्रतिक्रिया दिएको छ।

चीनले आफ्ना राष्ट्रपति सी जीन पीङले अमेरिकाको भ्रमण जारी राख्दै गर्दा संयमको लागि आग्रह गरेको छ।