तनाव बढ्दै गएको चिनियाँ चेतावनी

  • 14 एप्रिल 2017

चीनले कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको भनी चेतावनी दिएको छ।

विदेश मन्त्री वाङ यीले भने, "कुनै पनि बेला द्वन्द्व शुरु हुनसक्ने ठानिएको छ र यदि त्यसो भयो भने कोही पनि विजयी हुनेछैन।" उत्तर कोरियाले उसका नेता किम जोङ उनले निर्णय गर्नासाथ उसले कुनै पनि बेला आणविक परीक्षण गर्ने जनाएपछि उनले त्यस्तो टिप्पणी गरेका हुन्।

बेइजिङगमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्री वाङ यीले कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको भनी चिन्ता व्यक्त गरे।

उनले कुनै पनि बखत द्वन्द्व शुरु हुन सक्ने अनुभूति आफुले गरेको पनि बताए।

शक्ति प्रदर्शन

उनले भने, "उत्तर कोरियाको विषयमा जसले कठोर अडान लिन्छ वा शक्ति प्रदर्शन गर्छ, उसैले जीत हासिल गर्छ भन्ने होइन। यदि युद्ध भयो भने त्यस्तो परिस्थतिमा सबैजनाले हार्नेछन् र कसैले पनि जित्ने छैन।

अमेरिकाको नाम नलिइकनै विदेश मन्त्री यीले द्वन्द्व भड्काउने वा समस्या सृजना गर्ने पक्षले यसको ऐतिहासिक जिम्मेवारी लिनु पर्ने र त्यसको मूल्य पनि तिर्नु पर्ने चेतावनी दिए।

उत्तर कोरियाले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तेजना फैलाउने खालका ट्वीटहरु गरेको भन्दै त्यसको आलोचना गरेको छ। मंगलबार एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई चीनले संझाएमा त्यो राम्रो हुने, तर यदि त्यसो नभएमा अमेरिका र उसका सहयोगीहरुले चिनियाँ सहयोग विना नै सो समस्या समाधान गर्ने बताएका थिए।

उत्तर कोरियाले उसका नेता किम जोङ उनले निर्णय गर्नासाथ उसले कुनै पनि बेला आणविक परीक्षण गर्ने जनाएपछि अमेरिका र प्योङयाङबीच तनाव बढेको हो।

गत साता अमेरिकाको फ्लोरिडामा राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जीनपिङसंग वार्ता गरेपछि यो साताफेरि उनीसंग फोनमा कुराकानी गरेका थिए।

नाकान्दी

रोयटर्स समाचार संस्थाले अमेरिकी अधिकारीहरुले उत्तर कोरिया विरुद्ध अरु कडा आर्थिक नाकाबन्दी लगाउने बारे विचार गरिरहेको जनाएको छ।

त्यसो त हालैका दिनहरुमा चीनको पनि उत्तर कोरियासंग त्यति न्यानो संबन्ध छैन।

कोरियाली प्रायद्वीपमा द्वन्द्व भडकिएमा ठूलो संख्यामा शरणार्थीहरु आफ्नो सीमामा आउनसक्ने संभावनाबाट उ चिन्तित छ।

शनिबार आफ्ना संस्थापक नेता किम इल सुङ्को १०५ औं जन्म जयन्तीको अवसर पारेर उत्तर कोरियाले छैठौं आणविक बम परीक्षण गर्नसक्ने वा अर्को क्षेप्यास्त्र प्रहार गर्न सक्ने धेरैले अडकलवाजी गरेका छन्।