युकेमा मध्यावधि चुनावको प्रचलन के हो?

  • 18 एप्रिल 2017
तस्वीर कपीराइट Getty Images

आवधिक निर्वाचनसँग सम्बन्धित ऐन, फिक्स्ड-टर्म पार्लमेन्ट्स ऐन २०११, अनुसार हरेक पाँच वर्षमा मे महिनाको पहिलो बिहीबार आमनिर्वाचन हुनुपर्नेछ।

पछिल्लो निर्वाचन सन् २०१५ को मे ७ तारिखमा भएको थियो।

र, आगामी निर्वाचन सन् २०२० अघि हुने कुरा थिएन।

तर प्रधानमन्त्री टरिजा मेले सन् २०१७ को जुन ८ तारिखमा नै अर्को निर्वाचन गराउने योजना घोषणा गरिन्।

अब प्रक्रिया कसरी अघि बढ्छ त?

अब वैधानिक तरिकाले आम निर्वाचन गराउन दुईवटा औपचारिक तरिकाहरु छन्।

टरिजा मेले तीमध्ये निर्वाचन ऐनमा भएको प्रावधान बमोजिमको सबैभन्दा छिटो र छोटो उपाय चुनेकी छिन्।

सांसदहरुको दुई तिहाई बहुमतले निर्वाचन प्रस्ताव गरिएको विधेयकलाई समर्थन गरेमा समय अगावै निर्वाचन हुन सक्छ।

सांसदहरुको दुई तिहाई बहुमत भन्नाले मतदानमा सहभागी सांसदहरुको दुई तिहाई भनिएको होइन।

संसद्को कुल सांसद संख्याको दुई तिहाई मत आवश्यक पर्छ, मतलब हाल रिक्त रहेको एउटा स्थान समेतको हिसाब हुन्छ।

ब्रिटेको संसद्को प्रतिनिधिसभा, हाउस अफ कमन्समा कुल ६५० सांसद संख्या रहेको छ, र समय अगावै निर्वाचन हुनका लागि सम्बन्धित विधेयकमा ४३४ सांसदको समर्थन हुनुपर्नेछ।

तस्वीर कपीराइट PA

मतदान

अब बुधबार ब्रिटिश संसद्को तल्लो सदनमा प्रधानमन्त्री मेले निर्वाचनका लागि प्रस्तुत गर्ने विधेयकमा मतदान हुनेछ।

सन् २०१० मा भएको आमनिर्वाचनपछि सो निर्वाचन सम्बन्धि ऐन, फिक्स्ड-टर्म पार्लमेन्ट्स एक्ट, ल्याइएको थियो।

र त्यस्तो ऐनलाई तत्कालीन गठबन्धन सरकारलाई कसिलो बनाउने र एकजुट पार्ने प्रयासका रुपमा अर्थ्याइएको थियो।

आफूले चाहेको बेला निर्वाचन घोषणा गर्न पाउने प्रधानमन्त्रीको विशेष अधिकारको प्रावधानलाई हटाइएको थियो र पाँच पाँच वर्षको अन्तरालमा निर्धारित मितिमा नै निर्वाचन हुनुपर्ने निश्चित गरिएको थियो।

सहमति

तत्कालीन गठबन्धन सरकारको सानो साझेदार लिबर डेमोक्र्याट्सहरुले प्रधानमन्त्री डेभिड क्यामरनले आफूखुशी निर्वाचन डाक्न नपाउन भनेर त्यस्तो प्रावधानमा सहमति जनाएका थिए।

ब्रिटेनमा प्रधानमन्त्रीले आफूले अनुकूल ठानेको समयमा निर्वाचन गराउन पाउने प्रावधान शाही अधिकारका रुपमा शताब्दीऔंदेखि चलिआएको थियो।

त्यसबेला प्रधानमन्त्री डेभिड क्यामरनले त्यस्तो परिवर्तनलाई "एउटा ठूलो परिवर्तन र राम्रो परिवर्तन" भनेर नयाँ प्रावधानको पक्षमा आफ्नो तर्क राखेका थिए।