बीजेपी नेताविरुद्ध मुद्दा चलाउन आदेश

  • 19 एप्रिल 2017
आडबाणी तस्वीर कपीराइट PTI
Image caption बीजेपीका नेताहरुले आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद भत्काएको विरोधमा दायर मुद्दालाई लिएर सत्तारुढ भारतीय जनता पार्टीका कयौं वरिष्ठ नेताहरुमाथि आपराधिक षडयन्त्रको मुद्दा चलाउन आदेश दिएको छ।

सन् १९९२मा भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएपछि हिन्दु र मुसलमान समुदायबीच भड्किएको हिंसामा करिब दुई हजार मानिसको ज्यान गएको थियो।

मुद्दा चलाउनु पर्ने भनिएकी बीजेपीकी एक नेतृ एवं वर्तमान सरकारकी एक मन्त्री उमा भारतीले आफूले कुनै षडयन्त्र नगरेको बताएकी छन्।

बाबरी मस्जिद प्रकरणमा आपराधिक षडयन्त्रको आरोपमा मुद्दा चलाउनु पर्ने भनी आदेश दिइएका १३ जना बीजेपी नेताहरुमा पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडबाणी र वर्तमान सरकारकी एक मन्त्री उमा भारतीको समेत नाम रहेको छ।

बीजेपीका नेताहरुले आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

मन्त्री उमा भारतीले संवाददाताहरुसँग कुरा गर्दै आफूले कुनै आपराधिक षडयन्त्र नगरेको र बाबरी मस्जिद घटनाप्रति खेद प्रकट गर्नु आवश्यक नरहेको बताइन्।

अदालतले मुद्दालाई छरितो प्रक्रियाबाट अघि बढाएर दुई वर्षभित्र टुंग्याउन आदेश दिएको छ।

मुद्दाहरु

बीबीसी हिन्दीका रामदत्त त्रिपाठी भन्छन् १९९२को डिसेम्बर ६ तारिखमा विवादित रामजन्मभूमि बाबरी मस्जिद भत्काउन गरिएको भनिएको षडयन्त्र, त्यसपछि समुदायलाई भड्काउन गरिएका भाषण र पत्रकारहरुमाथि हमला सम्बन्धी मुद्दाहरु विगत २५ वर्षदेखि अदालतमा अड्किका थिए।

आरोप लागेका जम्मा ४९ आरोपी मध्ये २२ अभियुक्तविरुद्ध लखनऊमा र आठ आरोपीविरुद्ध रायबरेलीमा मुद्दा चलिरहेको थियो।

वर्षौदेखि मुद्दा चल्दै गर्दा १० अभियुक्त र लगभग ५० जना साक्षीको मृत्यु भइसकेको छ।

पत्रकार त्रिपाठी भन्छन्, "अन्य कतिपय अभियुक्त र साक्षी यति वृद्ध र कमजोर भइसकेका छन् कि उनीहरुले लखनऊको विशेष अदालतको तेस्रो तलासम्म उक्लन निकै कठिन हुन सक्छ।"

आपराधिक षडयन्त्रको आरोपमा मुद्दा चलाउनु पर्ने वरिष्ठ व्यक्तिहरुमा पूर्व मन्त्री मुरली मनोहर जोशी, स्वर्गीय नेता बाल ठाकरे, राज्यसभा सदस्य विनय कटिया, स्वर्गीय अशोक सिंघल, गोरखनाथ मन्दिरका स्वर्गीय महन्थ अवैद्यनाथ लगायतकाका नाम रहेको छ।

पूर्व महन्त अवैद्यनाथ रामजन्मभूमि आन्दोलनका प्रमुख नेता थिए र उनी उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथका गुरु थिए।