छ दलबीचको एकतापछि पाँचौं ठूलो दल

  • 20 एप्रिल 2017
Image caption मधेशी मोर्चाभित्रका छवटा पार्टी मिलेर राष्ट्रिय जनता पार्टी बनेको हो

संविधान संशोधन विधेयक अस्वीकार गर्दै चुनाव विरोधी आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रका छवटा पार्टीबीच एकता भएको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी बाहेकका अन्य सबै दल मिलेर बिहीबार राष्ट्रिय जनता पार्टीको जन्म भएको हो।

नवगठित दल संसदको पाँचौं ठूलो पार्टी बन्न पुगेको छ।

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिलकुमार झाले नेतृत्व गरेका छवटा दलबीच एकीकरण भएको हो।

चेतावनी

उनीहरु सबैजना रहेको नवगठित पार्टीको अध्यक्ष मण्डल बनाइएको छ।

एकतापछि आत्मबल निकै बढेको अनुभव सुनाएका नेताहरुले सरकारलाई कडा शैलीमा चेतावनी दिएका थिए।

राष्ट्रपतिले केही महिनाअघि आयोजना गरेको सर्वदलीय बैठकमा आफूले राखेको धारणा सुनाउँदै महन्थ ठाकुरले भने, "आफूलाई सुधार्नु भएन र सिंहदरबारलाई नै नेपाल ठानिरहनु भयो भने अब त्यो अवस्था रहने छैन। तपाईहरुले मधेशीलाई गुमाइसक्नु भएको छ। मधेश पनि गुम्छ। पछि सबैले भन्न थाले तपाईंले त बम पडकाइदिनु भयो। अनि मैले भने होइन यो टाइम बम हो। सुध्रिने समय छ नसुध्रिए त फुट्ने नै छ।"

मधेशी समुदायबाट नेपाली कांग्रेसको नेतृत्व तहमा रहेका ठाकुरले पहिलो संविधानसभाको चुनावको मुखमा नयाँ पार्टी गठन गरेका थिए।

कांग्रेसमा कृष्णप्रसाद भट्टराई निकट रहेका भण्डारीले फोरम हुँदै आफ्नो दल खोलेका थिए।

उनले जसरी पनि चुनाव गराउने सरकारको भनाइप्रति तीव्र आक्रोश व्यक्त गर्दै भने, "जहाँ-जहाँ चुनाव हुन्छ त्यो नेपाल हुन्छ, जहाँ हुँदैन त्यहाँ के हुन्छ? यस किसिमको दम्भ मुलुकको निम्ति राम्रो हुँदैन।"

'चुनावमा जाऔं'

नयाँ दलको जन्मसँगै लामो समयदेखि तराईका मुद्दालाई प्राथमिकता दिएर स्थापना भएको गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीको संसदमा अस्तित्व सकिएको छ।

महतो र झाले दुईवटा सद्भावना पार्टीको नेतृत्व गर्दथे।

अन्य नेताको तुलनामा नेता राजेन्द्र महतोको अभिव्यक्ति नरम खालको थियो।

चुनावको निम्ति समेत आफूहरु तयार रहेको उल्लेख गर्दै उनले भने, "संविधानमा जे-जे गडबडी गर्नु भएको छ, सच्याउनुस् अनि तपाईहरुसँग चुनाव लड्छौं। अब त मधेशी एक भइसक्यौं। चुनावमा तपाईहरुलाई पाठ सिकाउँछौं। विश्वास लाग्दैन भने भोलि संविधान संशोधन गर्नुस्, पर्सी चुनावमा जाऔं।"

लामो समय नेकपा एमालेमा राजनीति गरेका महेन्द्र राय यादव पछि क्षेत्रीय राजनीतिमा लागेका थिए।

संविधानलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन नगरेको उल्लेख गर्दै उनले भने, "भारतले समेत यो संविधानलाई अनुमोदन गरेको छैन। यो संविधान कार्यान्वयन हुन सक्दैन। किन भारतले गर्नु पर्छ भने भारत उत्पीडन र विभेद विरुद्ध लडेको देश हो।"

अध्यक्ष मण्डलका सबै छजना नेता प्रदेश नंम्बर दुईका हुन्।

ती मध्ये तीन जना सर्लाही र अन्य एक-एकजना रौतहट, सिरहा र महोत्तरीका छन्।

अरु एकता

नवगठित पार्टीले उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनलाई पनि एकतामा सामेल गराउने लक्ष्य लिएको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पनि एकता प्रयास भइरहेको समाचार आइरहेका छन्।

मोर्चामा नरहेको विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टीबीच पनि एकता भएको छ।

नयाँ दलको नाम नेपाल लोकतान्त्रिक पार्टी राखिएको थारुले बताएका छन्।