हेक्मतयार काबुल फर्के

  • 4 मे 2017
‌गुलबुद्धिन हेक्मतयार तस्वीर कपीराइट EPA

अफगानिस्तानमा दुई दशकसम्म भूमिगत जीवन विताएर एकजना पुराना युद्ध सरदार ‌गुलबुद्धिन हेक्मतयार राजधानी काबुल फर्कंदा उनको ठूलो स्वागत भएको छ।

उनको स्वागतका लागि गरिएको समारोहको नेतृत्व अफगान राष्ट्रपति अशरफ गनीले गरेका थिए।

अधिकारीहरुले अब उनको अनुशरण गर्दै तालेवान उग्रवादीहरु पनि शान्ति प्रकृयामा आउने आशा व्यक्त गरेका छन्।

सरकारसंग शान्ति सम्झौता गरेको आठ महिनापछि गुलबुद्धिन हेक्मतयार बिहीबार राजधानी काबुल फर्केका हुन्।

सुरक्षा

हेक्मतयार जलालाबाद शहरबाट कडा सुरक्षा व्यवस्थाका साथ राजधानी काबुल आएका थिए र उनको सवारी जत्थालाई अफगान सेनाको हेलिकप्टरले सुरक्षा प्रदान गरेको थियो।

बिहीबार काबुलमा आयोजित एक समारोहमा भूतपूर्व राष्ट्रपति हमिद कार्जाइ पनि उपस्थित थिए।

अफगानिस्तानका भूतपूर्व प्रधानमन्त्री समेत रहेका हेक्मतयार देशको आधुनिक इतिहासकै सबैभन्दा विवादास्पद व्यक्तिहरु मध्येका एक हुन्।

हेक्मतयार देशको दोस्रो ठूलो उग्रवादी समूह हेज्ब ए इस्लामीका नेता हुन् र उनीमाथि विभिन्न अत्याचारहरु गरेको आरोप छ।

सम्झौता

सरकारसंगको सम्झौतामा हेक्मतयारले अफगानिस्तानको संविधानलाई स्वीकार गर्ने र हिंसा त्याग्ने सहमति गरेका छन्।

केहीले त्यस्तो सम्झौतालाई सकारात्मक रुपमा लिएका छन् भने अन्यले यो कदमले सरकार भित्र रहेको विभाजनको अवस्थालाई झन खराब तुल्याउन सक्ने बताएका छन्।

हेक्मतयारले हालका लागि आफूले सरकारमा कुनै भूमिका नचाहेको पनि बताए।

सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत अतिक्रमण विरुद्ध संघर्षरत ठूलो संख्याका मुजाहिद्दीन लडाकुहरुलाई नेतृत्व प्रदान गर्ने सातवटा सोभियतविरोधी गुट मध्ये एउटाको नेतृत्व हेक्मतयारले गरेका थिए।

तर मानिसहरु उनलाई सन् १९९० को दशकमा भएको रक्तपातपूर्ण गृहयुद्धमा उनको भूमिकाका लागि सम्झने गर्छन्।

त्यसबेला राजधानी काबुललाई नियन्त्रणमा लिन उनी नेतृत्वको हेज्ब ए इस्लामी समूहले अन्य मुजाहिद्दीन गुटहरुसंग हिंसात्मक संघर्ष गरेको थियो।