सकियो संसद अधिवेशन

  • 18 मे 2017
Image caption एक वर्षभन्दा लामो समयदेखि चल्दै आएको संसद अधिवेशन अन्त्य गरिएको छ

नेपालको इतिहासकै संभवत: सबैभन्दा लामो अधिवेशनका रुपमा एक वर्षभन्दा लामो समयदेखि चल्दै आएको संसद अधिवेशन अन्त्य गरिएको छ।

जेठ १५ गते बजेट ल्याउन नयाँ अधिवेशन आवश्यक परेकाले जारी अधिवेशन अन्त्य गरिएको बताइएको छ।

मुख्य विपक्षी एमालेले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोगको विषयलाई कार्यसूचीमा प्रवेश नगराइएको भन्दै आपत्ती जनाएको छ।

त्यस्तै संविधानमा संशोधन गरिनु पर्ने माग गर्दै आएका तराई केन्द्रित दलहरुले पनि अधिवेशन हठात् अन्त्य गरिएको भन्दै आपत्ती जनाएका छन्।

आरोप

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

अब चारदिनपछि जेठ ८ गते संसदको बजेट अधिवेशन शुरु गर्ने भनिएको छ।

प्रधान न्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव फिर्ता लिएर मात्र अधिवेशन अन्त्य गर्न माग गर्दै आएको मुख्य विपक्षी एमालेले आफूहरुलाई थाहा नदिइकनै महाभियोगको विषय कार्यसूचीबाट हटाइएको आरोप लगाएको छ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्गले संसद नचल्दाको बेला पनि महाअभियोग फिर्ता लिन सरकारलाई दबाब दिने बताए।

जिम्मा

उनले भने, "हामीले विशेष समय लिएर यस विषयमा हाम्रा कुराहरु राख्यौं। अहिले सार्वजनिक रुपमा पनि यो कुरा उठाइरहन्छौ र संसद बसेको दिनदेखि यो कुरा उठाइरहनेछौ।''

संसदको अधिवेशन अचानक टुङ्गाइएकोमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पनि आपत्ती जनाएको छ।

प्रधानमन्त्री प्रचण्डसंग भएका पटक पटकका वार्तामा संविधान संशोधन विधेयक ‌बिहीबार बस्ने संसदमा उठाउने आश्वासन पाउँदै आएको राजपा नेपालले सरकारले आफूहरुसंग बेइमानी गरेको आरोप पनि लगाएको छ।

स्थानीय तहको संख्या थप्ने र सिमाङ्कन हेरफेर लगायतका विषयमा संविधान संशोधनको माग राख्दै स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागी नभएको राजपा नेपालले विधेयक पारित गरेर दोस्रो चरणको निर्वाचनमा जाने वातावरण बनाउने जिम्मा सरकारको रहेको बताएको छ।

चलन

राजपा नेपालका एक नेता महेन्द्र राय यादवले भने, "निर्वाचनको वातावरण बनाउँछौं भनेको हो सरकारले, अब हामीलाई निर्वाचनमा लाने हो कि चुनावभन्दा बाहिर राख्ने जिम्मा सरकारको हो।"

सरकारले बोले अनुसार काम गर्ने बारेमा चाहिँ आफूलाई झिनो आशा रहेको नेता यादवले बताए।

संसद अधिवेशन शुरु हुने र सकिने दिन कुनै विषय छलफलमा नराखिने चलन अनुसारनै यी विषय तालिकामा नपरेको भनाइ अधिकारीहरुको छ।

सभामुख ओनसरी घर्तीले भनिन्, "संसद अन्त्यको घोषणा गर्ने हुनाले अहिलेसम्म हामीले गरेका कामहरुको संक्षिप्त जानकरी दियौं र त्यसपछि राष्ट्रपतिले पठाउनु भएको संसद अन्त्यको घोषणा गरियो।''

२०७३ साल बैशाख २१ गते देखि चलेको संसदको अधिवेशनमा ३ सय ८१ दिन संसद चालु रहेको थियो।

सो अवधिमा जम्मा १३५ पटक बैठक बसेको जानकारी सभामुखको कार्यालयले दिएको छ।