आक्रमणकारी "एक्लै थिएनन्"

  • 24 मे 2017
अबेदी

ब्रिटेनको म्यानचेष्टरमा सोमबार गरिएको बम आक्रमणका सम्बन्धमा थप तीन जनालाई गिरफ्तार गरिएको छ।

म्यानचेष्टरका बम आक्रमणकारी सलमान अबेदीले अरुले बनाएको विस्फोटक उपकरण प्रयोग गरेको ठानिएको छ।

प्रहरीले बम कारखानाको खोजी जारी राखेका छन्।

अबेदीका २३ वर्षीय दाइलाई पनि गिरफ्तार गरिएको छ।

सैनिक परिचालन

ब्रिटेनमा सोमबार गरिएको बम आक्रमणपछि सरकारले सुरक्षा सम्बन्धी चालेका विशेष कदम अन्तर्गत सैनिकहरु केन्द्रिय लण्डनको सडकमा उत्रेका छन्।

सैनिकहरु संसद भवन, प्रधानमन्त्री निवास र अन्य महत्वपूर्ण सरकारी भवन वरिपरि खटाइएका छन्।

शुरुको चरणमा एक हजार सैनिकलाई सडकमा उतारिँदैछ भने प्रहरीको सहयोग गर्नका लागि ३ हजार ८ सय सम्म सैनिक उपलब्ध छन्।

सांगीतिक प्रस्तुति लगायतका कार्यक्रममा पनि प्रहरीको निर्देशनमा सैनिकहरु खटिन सक्ने प्रधानमन्त्री टरीजा मे ले बताएकी छिन्।

घाते

सोमबार बेलुकी एउटा सांगीतिक कार्यक्रममा अबेदीले आत्मघाती आक्रमण गर्दा २२ जना मारिएका थिए र ६४ जना घाइते भएका थिए।

घाइतेहरुको आठवटा अस्पतालमा उपचार गरिंदैछ।

ती मध्ये २० जनाको अवस्था गम्भीर छ र केहीले हातखुट्टा गुमाएका छन्।

थुप्रैजना अझै पनि बेपत्ता छन्।

प्रतिआतंवाद इकाई प्रमुख प्रहरी अधिकारी मार्क राउलीले अनुसन्धान चाँडै अघि बढिरहेको बताएका छन्।

उच्च खतरा

थप आक्रमण गरिन सक्ने आँकलन गरिएपछि ब्रिटेनमा खतराको तह सबैभन्दा उच्च बनाइएको छ।

यो भन्दा अघि दुईपटक मात्रै खतराको तह सबेभन्दा उच्च बनाइएको थियो।

लिबियाली मूलका २२ वर्षीय आक्रमणकारी सलमान अबेदी म्यानचेष्टरमै जन्मेका थिए।

परिवारसंग उनको सम्बन्ध नराम्रो भएको र उनी चाँडै रिसाउने गरेको उनलाई चिन्ने मानिसहरुले बताएकाछन्।