सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

  • 25 मे 2017
चुनाव
Image caption राष्ट्रपति विद्या भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दोश्रो चरणको निर्वाचन जेठमा गर्ने बताइन

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जेठमै दोश्रो चरणको स्थानीय तहको निर्वाचन हुने बताएकी छन्।

चुनावी आचारसंहिताका कारण पुरानै कार्यक्रमलाई निरन्तरता दिईएको भनिएकाले राष्ट्रपतिले प्रस्तुत गरेका कार्यक्रममा खासै नयाँ कुरा छैनन्।

हिजो प्रधानमन्त्रीबाट राजीनामा दिँदा प्रचण्डले राष्ट्रका नाममा दिएको विशेष सम्बोधनका कैयौं विषयहरु दोहोर्याउँदै राष्ट्रपति भण्डारीले संघियता कार्यान्वयनका लागि प्रहरी र कर्मचारी व्यवस्थापन गरिने बताइन्।

स्थानीय तह निर्वाचनको आचारसंहिताका कारण राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले नयाँ कुरा दिन सक्ने स्थिति नरहेको पहिले नै बताइएको थियो।

स्थानीय निर्वाचन

त्यसमाथि गठबन्धन सरकारको बाध्यताका कारण हिजो राजीनामा पेश गर्दै प्रधानमन्त्री प्रचण्डले दिएको विशेष सम्बोधनका कैयौं बुँदा राष्ट्रपतिले दोहोर्याएकी थिइन्।

कतिपय विरोधाभाषपूर्ण कुरा पनि राष्ट्रपतिको संबोधनमा परेको थियो।

निर्वाचन आयोगले स्थानीय तह संख्या बढेका कारण नयाँ व्यवस्था अनुसार जेठ ३१ गते चुनाव गर्न नसक्ने विज्ञप्ती जारी गरेको करिब डेढ घण्टापछि राष्ट्रपतिले जेठको ३१ गते नै दोश्रो चरण निर्वाचन हुने दोहोर्याइन्।

उनले भनिन्, 'सरकार स्थानीय तहको निर्वाचन जेठ ३१ गते भित्र सम्पन्न गर्न दृढ छ।'

अर्थतन्त्र

तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा खासै थिएनन्

अर्थतन्त्रमा उल्लेख्य सुधार हुन सक्ने वित्तिय निकायहरुले प्रक्षेपण गरेको कुरालाई हिजो प्रचण्डले लोडशेडिङ अन्त्यका कारण मुलुकको अर्थतन्त्र दुई छिमेकी मुलुककै हाराहारीमा पुगेको बताएका थिए।

बिहिबार राष्ट्रपतिले प्रस्तुत गरेको नीतिमा पनि उक्त तथ्य उल्लेख थियो।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता छानविन आयोगलाई बलियो बनाउने कुरा, स्थानीय तह निर्वाचन, संविधानको कार्यान्वयन जस्ता विषयमा व्यक्त गरिएका धारणा दोहोरिएका थिए।

करिब आधा घण्टा लामो नीति तथा कार्यक्रममा राष्ट्रपतिले संघीय ढाँचा अनुसार कर्मचारी र प्रहरी व्यवस्थापन गरिने बताइन्। उनले राष्ट्रिय गौरबका आयोजनामा जोड दिइन्। कृषि र पर्यटनलाई बढावा दिने भनिन्।

स्थानीय तह बढाउने लगायतका विषयमा विरोध गर्दै केही समय यता सदन चल्न नदिएको एमालेले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दियो तर धन्यवाद दिन बसेको बैठक एमालेले अवरुद्ध गरेपछि पुन: स्थगित हुन पुग्यो।