राजपा-नेपाललाई मनाउने तीन दलको प्रयत्न

  • 27 मे 2017

तीन मुख्य दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले तराई केन्द्रित दल राजपा नेपाललाई चुनावमा सहभागी गराउने प्रयत्न जारी राखेको बताइएको छ।

तस्वीर कपीराइट CMPRACHANDA.COM
Image caption कांग्रेस, माओवादी र एमालेले राजपा नेपाललाई चुनावमा सहभागी बनाउने प्रयत्न जारी राखेको बताएका छन्।

राजपा-नेपालले शुक्रबार मात्रै स्थानीय तहको चुनावमा सहभागी नहुने र चुनाव गर्न खोजे विथोल्ने चेतावनी दिँएको थियो तर लगत्तै उसलाई मनाउने राजनीतिक कसरत शुरु भएको छ।

बैठकका सहभागी कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उनीहरुका कुन, कुन माग कसरी पूरा गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए।

पौडेलले बालुवाटार बैठकबाट बीबीसीलाई भने, "उहाँहरुका माग के कसरी पुरा गर्न सकिन्छ भन्ने छलफलमा छौ।"

संयुक्त बैठक

त्यसअघि शनिबार दिउसो आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेको भनिएको नेपाली कांग्रेसका नेताहरुले राजपा-नेपालका शीर्ष नेताहरुसँग बैठक गरेका थिए।

कांग्रेससँगको वार्तापछि राजपा-नेपालको आन्तरिक छलफल भएको बताइएको थियो।

त्यसपछि साँझमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एमालेले संयुक्त रुपमा राजपा-नेपालसँग बैठक गरेका हुन्।

संविधानप्रति असन्तुष्टी प्रकट गर्दै आएका तराई केन्द्रित दलहरुलाई मनाउन भनेरै सरकारले स्थानीय चुनावलाई दुई चरणमा विभाजन गर्दै पहिलो चरण सम्पन्न भएको एक महिनापछि मात्र दोश्रो चरण तय गरेको बताउँदै आएको छ।

राजपा नेपाललाई मनाउन भन्दै सरकारले स्थानीय तहको संख्या बढाएपनि शुक्रबार त्यसको खिलाफमा सर्वोच्च अदालतको आदेश आएको छ।

बैठकमा त्यसपछि उत्पन्न परिस्थितिको समाधानको खोजी भइरहेको बताइएको छ।

त्यसैगरी चुनाव चिन्ह लगायतका निर्वाचन आयोग आकर्षित हुने मागहरु संबोधन गर्ने उपायको खोजी भइरहेको पनि जनाइएको छ।

कुनै बेला राजपा-नेपालकाका नेतासँगै संविधानको विरोध गर्दै आएका संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र तराईकै अर्को नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छेदार चुनावमा जान तयार भएपछि राजपामाथि चुनावमा सहभागी हुन दबाब बढेको बताइन्छ।

शनिबार विहान प्रधान न्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाभियोग फिर्ता लिनुपर्ने मुख्य विपक्षी एमालेको माग पूरा गरेपछि नाटकीय रुपमा अगाडि बढेको चारदलीय कसरतले फल दिन सकेमात्र जेठ ३१ मा गर्न तय गरिएको चुनाव संभव हुने देखिन्छ।