कतारले छिमेकीको कुरा सुन्ने: मध्यस्थकर्ता

  • 11 जुन 2017
कतार तस्वीर कपीराइट EPA
Image caption दोहा कतारस्थित एक सुपरमार्केट, इरानले कतारमा माग भएसम्म खाद्यान्न उपलब्ध गराउने बताएको छ

केही दिन यता क्षेत्रीय नाकाबन्दी खेप्दै आएको खाडी मुलुक कतार उसका छिमेकीहरुको कुरा सुन्न तयार भएको बताइएको छ।

मध्यस्थकर्ता कुवेतले कतार उसका छिमेकीहरुको आशंका सुन्न तयार रहेको बताएको हो।

कुवेतले गत हप्ता साउदी अरेबीयमा उसका अमीरलाई पठाएर मध्यस्थता शुरु गरेको थियो।

आइतबार कुवेतका विदेश मन्त्री शेख खबा अल खालिद अल सबाले 'कतार सुरक्षा र स्थायित्व बृद्धि गर्न उसका दाजुभाइहरुको चासो बुझ्न तयार रहेको' बताएका छन्।

इरानबाट खाद्यान्न

यसैबीच क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमानमा कार्गो गरेर खाद्यान्न पठाएको छ।

कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको सीमाना जोडिएको छिमेकी साउदी अरेबीयाबाट आउँथ्यो जुन अहिले बन्द छ।

इरान एअरका प्रवक्ता शारुख नुशाबदीले समाचारसंस्था एएफपीलाई आइतबार भने, "अहिलेसम्म पाँचवटा विमानभरी फलफुल र तरकारी पठाएका छौं अर्को विमान पनि पठाउँछौं।"

हरेक विमानले नब्बे टन बोकेको बताइएको छ।

तस्वीर कपीराइट IRANAIR
Image caption शिरज विमानस्थलमा खाद्यान्न लोड गरेको तस्वीर इरान एअरले ट्वीट गरेको छ

इरानले पठाएको खाद्यान्न सहयोग हो कि व्यापारिक हो प्रष्ट छैन।

इरान एअरका प्रवक्ताले कतारमा माग भएसम्म सामान पठाउने बताए।

पानीजहाज तयार

एएफपीले तसनीम न्यूज एजेन्सीलाई उद्धृत गर्दै ३५० टन खाद्यान्न बोकेका तीनवटा पानीजहाज पनि कतार जान ठिक्क परेको बताएको छ।

साउदी अरेबीया, बहराइन र युनाइटेड अरब एमिरेट्सले बन्द गराएपछि इरानले कतारी उडानका लागि हवाइ मार्ग पनि उपलब्ध गराएको छ।

विश्लेषकहरु भन्छन्, शिया नेतृत्वको इरानसँग कतारको सकारात्मक सम्बन्ध र इरानको विरोधी रहँदै आएको सुन्नी नेतृत्वको साउदी अरेबीया द्वन्द्वको कारक देखिन्छ। खाद्यान्न पठाउँदैमा कतारको उसका छिमेकीहरुसँग सम्बन्ध नसुध्रिन सक्छ।

इरानको मुख्य विरोधी साउदी अरेबीया सहित केही मुलुकहरुले गत हप्तादेखि कतारसँग सम्बन्ध तोडेका छन्।

कतारले आतंकवादलाई सहयोग पुर्याएको उसका छिमेकीहरुको आरोप छ जुन कतारले अस्वीकार गर्दै आएको छ।