उम्मेदवारी मनोनयन 'उत्साहपूर्ण'

  • 18 जुन 2017
दर्ता

दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ वटै स्थानीय तहका लागि उम्मेदवारहरुको मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले बताएको छ।

उम्मेदवारी दर्ताका क्रममा बाजुरा जिल्लामा भने दलका समर्थकहरुबीच झडप हुँदा एकजनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ।

अन्य केही जिल्लामा भएका घटनाहरुमा कम्तीमा १५ जना घाइते भएको अधिकारीहरुको भनाइ छ।

उम्मेदवारीका लागि बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको थियो।

बिना अवरोध

राष्ट्रिय जनता पार्टी, नेपालको आन्दोलनले प्रभावित गर्नसक्ने भनि ठानिएका तीनवटै प्रदेशका तराईका जिल्लामा अवरोध विना उम्मेदवारी दर्ता भएको बताइएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने,"३ सय ३४ स्थानमै शान्तिपूर्ण तरिकाबाट ठूलो सहभागितामा उम्मेदवारी दर्ताको कार्यक्रम सम्पन्न भएको छ।"

१५ हजार ३८ जनप्रतिनिधि चयनकालागि हुने दोस्रो चरणको निर्वाचनमा कुल उम्मेदवारहरुको संख्याको विवरण भने सोमवारसम्ममा प्राप्त हुने आयोगले जनाएको छ।

कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाका केही स्थानीय तहमा निर्वाचनको विरोध गर्दै आन्दोलन गरिरहेको राजपा नेपालका सक्रिय कार्यकर्ताहरुले पनि स्वतन्त्ररुपमा उम्मेदवारी दिएको बताइएको छ।

स्थानीय निर्वाचन बहिष्कार गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि उसको प्रभाव क्षेत्र मानिने रोल्पाको थवाङमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको रोल्पाका सञ्चारकर्मीहरुले बताएका छन्।

उनीहरुले नेपाली कांग्रेससँग सहकार्य गर्नेगरी उम्मेदवारी दिएको बताइएको छ।

झडप

गृह मन्त्रालयले केही जिल्लामा उम्मेदवारीका लागि तोकिएका स्थानभन्दा बाहिर हिंसाका घटना भएको जनाएको छ।

प्रदेश नम्बर ७ को बाजुरामा दलहरुबीच भएको झडपमा एकजनाको ज्यान गएको र केही घाइते भएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए।

छेडादह गाँउपालिकामा उम्मेदवारी दर्ता गर्ने जाने क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र केही घाइते समेत भएको उनले बताए।

प्रदेश नम्बर ५ को कपिलवस्तुमा मनोनयन दर्तास्थल बाहिर अज्ञात समूहले गराएको बम विस्फोटमा १० जना घाइते भएको प्रहरीले जनाएको छ।

बाँकेको बैजनाथपुर गाँउपालिकामा दलहरुका कार्यकर्ताबीच झडप हुँदा दलका समर्थकहरु घाइते भएको बताइएको छ।

दोस्रो चरण अन्तर्गत १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ।

उम्मेदवारहरुले असार ६ गते निर्वाचन चिन्ह पाउनेछन् भने असार १४ गते मतदान हुनेछ।