टोरी सरकारलाई डीयुपीको समर्थन

  • 26 जुन 2017
हस्ताक्षर तस्वीर कपीराइट Getty Images

ब्रिटेनको कन्जरभेटिभ पार्टीले आफ्नो अल्पमतको सरकारका लागि समर्थन जुटाउन र संसदमा केही महत्वपूर्ण मतदानमा बहुमत प्राप्त गर्न उत्तरी आयरल्याण्डको एउटा सानो पार्टीसंग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ।

दशजना सांसद रहेको उक्त डेमोक्र्याटिक युनियनिष्ट पार्टी (डीयुपी) संग कन्जरभेटिभको औपचारिक गठबन्धन भने हुने छैन।

अब यो सम्झौतापछि डेमोक्र्याटिक युनियनिष्ट पार्टीले टरिजा मेको अल्पमतको सरकारलाई समर्थन गर्नेछ।

आम निर्वाचनबाट कुनै पनि पार्टीलाई एकमना सरकार बनाउन सकिने गरी मत प्राप्त नहुँदा त्रिशंकु संसद्को अवस्था आएको थियो।

त्यसको दुई हप्तापछि भएको उक्त सम्झौता अन्तर्गत संसद्‌मा हुने महत्वपूर्ण मतदानमा डीयुपीका दशजना सांसदले कन्जरभेटिभलाई समर्थन गर्ने छन्।

सम्झौताका शर्तअनुसार आगामी दुई वर्षमा उत्तरी आयरल्याण्डलाई झण्डै एक अर्ब पाउण्ड प्रदान गरिने छ।‌

हित

डीयुपीकी नेतृ आर्लिन फोस्टरले उक्त विस्तृत सम्झौता उत्तरी आयरल्याण्ड र युकेको हितमा भएको बताइन्।

तर लेबोर पार्टीका नेता जेरमी कोर्बीनले उक्त सम्झौताको आलोचना गर्दै त्यो देशको हितमा नरहेको दाबी गरे।

तस्वीर कपीराइट PA

उक्त सम्झौतापछि वेल्स र स्कटलण्डमा पनि उही अनुपातमा आर्थिक सहयोग जानु पर्ने माग उठेको छ।

सहमतिका सबै शर्तसहित तीन पृष्ठ लामो उक्त सम्झौतापत्रको पूर्ण स्वरुप नै सार्वजनिक गरिएको छ।

डीयुपीले ती शर्तहरु वर्तमान संसदको आयु रहुञ्जेलसम्म लागु रहने बताएको छ।

तर दुई वर्षपछि त्यसको पुन: समीक्षा हुनेछ।