शेयर बजार खोल्न अर्थ मन्त्रालयको निर्देशन

  • 30 जुन 2017
Image caption अर्थ मन्त्रालयले धितोपत्र व्यवसायीलाई मूल्य अभिवृद्धि कर तिर्न पत्राचार गरेको छ

विगतमा भइसकेका कारोबारको कर तिर्न नसक्ने भन्दै बिहीबारदेखि शेयरको कारोबार ठप्प पारेका शेयर दलालहरुलाई आईतबारदेखि कारोबार पुनर्संचालन गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

उनीहरुको मागबारे विस्तारै छलफल गरिने मन्त्रालयका एक अधिकारीले बताएका छन्।

बिहीबार दुईवटा शेयर दलाल कम्पनीलाई तीन वर्ष अघि देखिको वक्यौता मूल्य अभिवृद्धि कर तिर्न पत्र काटेको आन्तरिक राजश्व विभागले भने सबै शेयर दलालहरुबाट त्यस्ता बाँकी कर उठाउने प्रकृया नरोक्ने बताएको छ।

वित्तीय क्षेत्रको कारोबारमा भ्याट तिर्न नपर्ने भन्दै हालसम्म शेयर दलालहरु उक्त करबाट उम्कँदै आएका थिए।

मौन

अर्थमन्त्रालय पनि यस विषयमा मौन रहेको थियो।

तर महालेखा परीक्षकको कार्यालयले वर्षेनी करिब ६ सात करोड रुपियाँ यसरी बेरुजु भएको भन्ने उसको प्रतिवेदनमा उल्लेख गरेपछि विभाग ती कर उठाउन कस्सिएको थियो।

उसले त्यसबारे दुईवटा कम्पनीलाई पत्र काटे लगत्तै शेयर दलालहरुमाझ हल्लीखल्ली मात्र भएन उनीहरुले त्यसरी पुरानो कारोबारको कर तिर्न नसकिने भन्दै बिहीबार शेयर कारोबार बन्द गराए।

शुक्रबार अर्थ मन्त्रालयले ती शेयर दलाल कम्पनीहरुलाई विवादबारे कुराकानी जारी राख्दै आईतबारदेखि शेयर बजार नियमित खोल्न निर्देशन दिएको राजश्व सचिव शिशिर ढुङ्गानाले बताएका छन्।

निर्देशन

उनले भने, "बन्द भइरहेको बजार आइतबारदेखि खोल्ने र विगतमा जस्तै संचालन गर्दै जाने कुरा भएको छ। त्यसपछि उहाँहरुको कुरा जे जति विषय छन् त्यसलाई छलफलको माध्यमबाट टुङ्ग्याउने छ।"

महालेखा परीक्षकको कार्यालयले विगत तीन वर्षदेखि शेयर दलाल कम्पनीहरुले कमाउने नाफाको मूल्य अभिवृद्धि कर तिर्न पर्ने विषय उठाउँदै आएको थियो।

उक्त प्रतिवेदनकै आधारमा आन्तरिक राजश्व विभागले शेयर दलाल कम्पनीबाट मूल्य अभिवृद्धि कर उठाउने काम शुरु गरेको विभागकी कायम मुकायम महानिर्देशक चन्द्रकला पौडेल बताउँछिन्।

उनले भनिन्, "शेयर दलालहरु पनि मूल्य अभिवृद्धि करको दायरमा आउनुपर्छ भन्ने आन्तरिक राजश्व विभागको धारणा हो। सेवा शुल्क लिने सबै शेयर दलालहरुको कर निर्धाणको प्रकृया शुरु भएको अवस्था छ।"

समस्याको हल

शेयर दलालहरुले चाहिं आफूहरु वित्तीय क्षेत्रमा काम गर्ने भएकाले भ्याटमा दर्ता नै हुनु नपर्ने विषयसंग सम्बन्धित मूल्य अभिवृद्धि कर लिन पाइंदैन भन्दै आएका छन्।

अब यो समस्याको समाधान तीन तरिकाबाट हुनसक्ने कर विज्ञ तथा पूर्व अर्थसचिव विद्याधर मलिकले बताए।

उनले भने, "दर्ता नभएको कम्पनीबाट मूल्य अभिवृद्धि कर उठाउन मिल्दैन, त्यसैले कि शेयर दलालले यो आफ्नै खल्तीबाट तिर्न पर्यो। कित सरकराले एक पटकका लागि आम माफी दिएँ अब देखि चाहिँ मूल्य अभिवृद्धि कर तिर भन्न पर्यो।"

सरकारले कुन कुन वित्तीय क्षेत्रमा मूल्य अभिवृद्धि कर लाग्छ र कुनमा लाग्दैन भनेर स्पष्ट भाषामा नलेख्दा सम्म यस्तो समस्या अन्य क्षेत्रमा पनि आउन सक्ने कतिपय जानकारहरुको भनाइ छ।