पश्चिमा सभ्यता खतरामा: राष्ट्रपति ट्रम्प

  • 6 जुलाई 2017
भाषण तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी राष्ट्रपति ट्रम्प र पोलिश राष्ट्रपति एञ्जय डुडाका तस्वीर बोकेर उनीहरुका भाषण सुनिरहेका मानिसहरु

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोल्याण्डको राजधानी वार्शअमा मुख्य भाषण दिँदै पश्चिमा सभ्यताको भविष्य खतरामा परेको तर्क गरेका छन्।

पोल्याण्डलाई पश्चिमी स्वतन्त्रताको बचाउ गर्न तम्तयार देशका रुपमा उदाहरण दिँदै ट्रम्पले आतंकवाद र अतिवादको खतराप्रति सतर्क गराए।

रुसको आलोचना गर्दै ट्रम्पले जिम्मेवार मुलुकहरुको समुदायमा सहभागी हुन रुसलाई आग्रह गरे।

जर्मनीको ह्यामबर्गमा हुने जी ट्वेण्टी शीखर सम्मेलनमा सहभागी हुने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प पोल्याण्ड पुगेका हुन्।

आक्रामक दृष्टिकोण

वार्शअमा उनको समर्थनमा भेला भएको ठुलो समूहलाई ट्रम्पले सम्बोधन गरेका थिए।

पोल्याण्डको कन्जरभेटिभ सरकारको पनि ट्रम्पको जस्तै आप्रवासीहरुप्रति आक्रामक दृष्टिकोण रहँदै आएको छ र सार्वभौमसत्ताबारे कडा धारणा छ।

ट्रम्पले भने, "पोल्याण्डको अनुभवले हामीलाई संझना दिलाउँछ कि पश्चिमको बचाउ उपायमा मात्र नभै त्यहाँका नागरिकका इच्छाशक्तिमा पनि निर्भर हुन्छ।"

"हाम्रो समयको प्रश्न भनेको पश्चिमसँग अस्तित्व बचाउने इच्छाशक्ति छ की छैन भन्ने हो।"

तस्वीर कपीराइट EPA
Image caption पोल्याण्डकी प्रथम महिला अगाटा कोर्नौजर डुडा र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पबीच वार्शअ दरबारमा भेटवार्ता भएको थियो

उनले रुसलाई युक्रेनमा अस्थिरतावादी गतिविधि रोक्न तथा सिरिया र इरानलाई समर्थन नगर्न आग्रह गरे।

अस्वीकार

अमेरिकी नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलोपटक ह्यामबर्गमा भेट्नेछन्।

क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले रुसी राष्ट्रपतिले यो क्षेत्र अस्थीर बनाइरहेको भन्ने स्वीकार नगर्ने बताए।

पोल्याण्डको वर्तमान सरकारले २०१५ को इयू मुलुकहरुको ऐक्यबद्धता योजना अन्तर्गत शरणार्थीहरुलाई स्वीकार नगर्ने निर्णय गरेपछि पृथक भएको छ।

ट्रम्पको भ्रमण एक आपसका लागि फाइदाकारी रुपमा ट्रम्प र पोल्याण्ड सरकारले हेरेको बीबीसीका एडम इष्टनले वार्शअबाट बताएका छन्।