'कर्मचारीतन्त्रमा एकीकृत प्रणालीको विकास गर्छु'

  • 13 जुलाई 2017
Image caption क्षेत्री कानुन समूहको पृष्ठभूमिबाट मुख्य सचिव बन्ने सीमित व्यक्तिमध्ये परेका छन्

स्थायी सरकार मानिने निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा बढुवा भएका राजेन्द्रकिशोर क्षेत्रीले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न कर्मचारीतन्त्रमा एकीकृत प्रणालीको विकास गर्ने बताएका छन्।

पूर्वमुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास व्याङ्कमा काम गर्न गएपछि मन्त्रिपरिषद्ले क्षेत्रीलाई उक्त जिम्मेवारी दिएको हो।

कार्यकाल बाँकी छँदै मुख्य सचिवबाट भएको सुवेदीको बहिर्गमनका कारण रोलक्रममा नरहेका क्षेत्रीले सो अवसर पाए।

सँगै त्यसले भावी मुख्य सचिवको रोलक्रममा समेत फेरबदल ल्याइदिएको छ।

पृष्ठभूमि

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेको निर्णयसँगै क्षेत्री कानुन समूहको पृष्ठभूमिबाट मुख्य सचिव बन्ने सीमित व्यक्तिमध्ये परेका छन्।राजेन्द्रकिशोर

पाँच दिनपछि उनी सचिवको पाँच वर्षे पदावधि पुरा गरेर सेवा निवृत्त हुँदै थिए। मुख्य सचिवको पदावधि तीन वर्ष हुने भए पनि ५८ वर्षे उमेर हदका कारण क्षेत्रीले कार्तिक ८ गतेसम्म मात्र काम गर्न पाउने छन्।

नयाँ जिम्मेवारी पाएपछि आफ्नो छोटो कार्यकालको योजनाबारे बीबीसीसँग कुरागर्दै मुख्य सचिव क्षेत्रीले भने, "एकीकृत रुपमा सरकारलाई सहयोग गर्ने प्रणालीको विकास गर्ने प्रचलित ऐन नियम र नीतिका आधारमा निर्णय गर्ने प्रकृयालाई अगाडि बढाउने हो जसले गर्दा सरकारका निर्णयहरु चाँडो भन्दा चाँडो कार्यान्यनमा बढुन् भन्नेमा प्रथामिकता दिने छु।"

चुनौती

आफ्नो करिब एक सय दिने कार्यकालमा मुख्यसचिव क्षेत्रीले संघीयताको कार्यान्वयनसँग जोडिएका कर्मचारीको पुनर्संरचना गरेर स्थानीय तहसम्म कर्मचारी व्यवस्था गर्नु पर्ने छ।

त्यो सँगै मन्त्रालयको पुनर्संरचना गरेर संख्या घटाउने, संविधान अनुकूलका कानुन निर्धारित समयमा गर्नु पर्ने लगायतका काममा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने छ।

क्षेत्रीले कर्मचारीलाई स्थानीय तहमा व्यवस्थापन गर्ने चुनौतीपूर्ण लाग्ने काम सहजरुपमा फत्ते गर्ने विश्वास दर्शाए।

उनले भने, "जिल्लास्थित कार्यालयहरुमा उहाँहरुले काम गरिरहेकै हो। त्यसैलाई अब रुपान्तरित अवस्थालाई हेर्नु पर्ने हो, त्यसले गर्दा अपठ्यारो होला जस्तो मलाई लाग्दैन।"

उर्जा सचिव रहँदा मन्त्रीसँग मत बझाएको विषय राजनीतिक नेतृत्व सामु क्षेत्रीले लिएको अडानको रुपमा बाहिर आए पनि निजामती सेवाभित्र कामका कारण उनले फरक छाप देखाएको मानिंदैन।

निर्णय

मुख्य सचिवका दावेदार सचिव धनबहादुर तामाङले पाँच वर्षे पदावधि पुरा गरेको दुई दिनपछि सरकारले मुख्य सचिवबारे निर्णय लिएको हो।

छोटो अवधिका निम्ति मुख्य सचिव बनाउन नहुने आवाज उठिरहेका बेला अब अन्य दावेदार ठानिएका नारायणगोपाल मलेगो, शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ सचिव पदबाटै सेवानिवृत्त हुने भएका छन्।

कार्तिकमा क्षेत्रीले अनिवार्य अवकास पाउँदा गृह सचिव लोकदर्शन रेग्मी वरिष्ठ हुने छन्।

सरकारको बिहीबारको निर्णयमा प्रधानमन्त्रीको रोजाइका व्यक्तिलाई भावी मुख्यसचिवको निम्ति मार्ग प्रशस्त गरिदिने उद्देश्य लुकेको कतिपय जानकारहरु बताउँछन्।