वनको व्यथा

  • 1 सेप्टेम्बर 2010
बाक्लिंदै र पातलिंदै गएको वन
Image caption भारततर्फको वन संरक्षित छन् भने नेपाली जङ्गल यसरी मैदानमा परिणत भएका छन्

नेपालमा बढ्दो वन फँडानीबारे बीबीसी नेपाली सेवाले विशेष श्रृङ्खला शुरू गरेको छ।

यस अन्तर्गतका कार्यक्रमहरूले नेपालको इतिहासमै अहिलेसम्म भएको भनिएको उक्त सबैभन्दा ठूलो वन विनाशका विभिन्न पक्षहरू केलाउने छन्।

यस श्रृङ्खलाकालागि पश्चिम नेपालमा गरिएको स्थलगत अध्ययनले नेपालबाट बढ्दो मात्रामा काठ भारततर्फ तस्करी हुने गरेको देखाएको छ।

नेपाल र भारतका अधिकारीहरूले मध्य तथा पूर्वी तराईका जङ्गलहरूबाट सबैभन्दा बढी काठ भारततर्फ तस्करी भइरहेको पुष्टी पनि यस कार्यक्रममा गरेका छन्।

यसै पनि भारतको कडा बनाइएको वन संरक्षण नीतिले नेपालका वन जङ्गलबाट भारतीय बजारतर्फ काठको चोरी निकासी बढेकोमा, भारत सरकारको वन सम्बन्धि एउटा नयाँ योजनाले स्थितीलाई झनै विकराल बनाउने चिन्ता विज्ञहरूले यस कार्यक्रममा व्यक्त गरेका छन्।

यस श्रृङ्खलाले हालैका दिनहरूमा वन प्रशासन र सामुदायिक वनबीच बढ्दै गएको तनावका कारणहरू माथि प्रकाश पार्नेछ।

त्यस क्रममा वन फँडानीसित सम्बन्धित भ्रष्टाचारको सन्जाल खोतल्ने प्रयास पनि गरिनेछ।

श्रृङ्खलाको एउटा कार्यक्रम नेपाली वनलाई जलवायुपरिवर्तनसित लड्नकालागि सदुपयोग गर्न विदेशी दातृ निकायहरूले लिएका पहलले सामना गर्नुपरेको वन फँडानीको चुनौतीमा केन्द्रित हुनेछ।

नदीनालाहरूबाट अनियन्त्रित रूपमा गिट्टी ढुङ्गाको उत्खननले वन क्षेत्रमा पार्न थालेको प्रभावबारे पनि हामी यस कार्यक्रममा छलफल गर्ने छौं।

समग्रमा यस श्रृङ्खलाले अस्थिर राजनीतिले कमजोर बनाउँदै लगेको प्रशासनको नाजायज फाइदा उठाएर तीव्र बनाईएको वन फँडानी र त्यसका प्रभावहरूबारे खोजमूलक कार्यक्रमहरू श्रोतासामू पस्कने छ।

भारततर्फ काठ तस्करी-30.08.10

बन फँडानी-06.09.10

सामुयिक वन-13.09.10

उपयोगी वन-20.09.10