ओलिम्पिक्सको टिकट विशेष बुथहरुबाट बेचिने

  • 2 मार्च 2012
ओलिम्पिक रंगशाला तस्वीर कपीराइट l
Image caption ओलिम्पिक्सको मुख्य रंगशाला बाहिरको टिकट बुथमा ठूलो भिड लाग्ने अनुमान छ

लण्डन ओलिम्पिक्सका सबैभन्दा धेरै माग हुने टिकटहरु मध्ये केही खेल आरम्भ हुनु भन्दा ‌ केही हप्ता अगाडि विशेष विक्रि केन्द्र, बुथहरु, बाट विक्रि गरिने भएको छ। पुरुष तर्फको १०० मिटर दौडको फाइनल जस्ता प्रतियोगीताहरुको टिकट त्यस्ता बुथहरुमा उपलब्ध हुन सक्छ। लण्डन २०१२ का आयोजकहरु त्यस्ता टिकट बुथहरुमा विम्बल्डन टेनिस प्रतियोगीतामा जस्तै टिकट किन्न आउनेहरुको लामो लाइन लाग्न सक्ने अनुमान गरेका छन्। सबैभन्दा बढी लोकप्रीय खेल प्रतियोगीताहरुको टिकट हात पार्न खेलप्रेमीहरुले त्यस्ता टिकट बुथहरु अगाडि कयौं दिनसम्म रात विताएरै भएपनि लाम बस्न सक्ने अनुमान पनि गरिएको छ।

विक्रि

तस्वीर कपीराइट AP
Image caption लण्डनमा ओलिम्पिक्सको तयारी जोडतोडका साथ भैरहेको छ

इन्टरनेट मार्फत टिकट बेचिने अन्तिम चरण एप्रिल महिनामा हुनेछ, त्यस बेला झण्डै दश लाख टिकटहरु विक्रिका लागि उपलब्ध हुनेछ। यो प्रकृयामा गत बर्ष टिकटका लागि आवेदन गरेर पनि सफल हुन नसकेकाहरुले प्राथमिकता पाउनेछन्। तर खेल प्रतियोगीताहरुका सबै बांकी टिकटहरु एप्रिल महिनामा विक्रिका लागि उपलब्ध नहुने अहिले स्पष्ट भएको छ। लण्डन २०१२ का कर्मचारीहरुले प्रत्येक खेल प्रतियोगीता स्थलमा आफूहरुले कतिवटा टिकट बेच्न सकिएला भन्ने बारेमा अन्तिम निर्णयहरु गर्दैछन्। सबैभन्दा जटील अनुमान चाहिं उद्घाटन सत्रको टिकट विक्रिका सम्बन्धमा गर्नुपर्ने हुन्छ। किनकी त्यस अवसरमा ‌ कतिजना जति प्रतियोगीहरु सहभागी हुन सक्लान् भनेर आयोजकहरुले अनुमान लगाउनु पर्नेछ। त्यो संख्या यकिन हुन नसकुन्जेल तिनीहरुसंग केही टिकटहरु नबेचिकन जगेडा राख्‍नु बाहेक अरु विकल्प हुने छैन। फेरि मुख्य ओलिम्पिक रंगशालामा औपचारिक खेल परीक्षण नगरिकन त्यहां अटाउन सकिने दर्शक र टिकट संख्या बारे यकिन गर्न सकिंदैन।

परीक्षण

हरेक खेल स्थलमा आयोजना गर्नु पर्ने त्यस्तो क्षमता परीक्षण, मुख्य रंगशालाका लागि भने मे महिनाको आरम्भ भन्दा अगाडि हुन सक्ने छैन। त्यस्तो परीक्षण पछि मात्र मुख्य रंगाशालामा अट्ने दर्शकको अन्तिम संख्याको बारेमा थाहा हुनेछ। त्यसैले पनि एप्रिल महिनामा हुने विक्रिको बेला एथलेटिक्स प्रतियोगीताका केही टिकटहरु बांकी राख्‍नु पर्ने हुन्छ। यसरी एप्रिल महिनामा नबेचिने टिकटहरुलाई खेल प्रतियोगीता शुरु हुने केही हप्ता अगाडि लण्डन ओलिम्पिक्सको आयोजकहरुले खडा गर्ने विशेष टिकट बुथहरु मार्फत बेचिने छ। फुटबल जस्ता कम लोकप्रीय खेलहरुको बांकी बचेको टिकट त्यस्ता विशेष बुथहरुबाट बेचिने योजना पहिल्यै गरिएको थियो। अब जुन अथवा जुलाई महिनामा सर्वसाधारणका लागि टिकट विक्रि बुथहरु खडा गरिंदा त्यहांबाट अरु बढी लोकप्रीय प्रतियोगीताहरुको टिकट पनि किन्न पाइने अवसर मिल्न सक्छ।

बुकिंग गत बर्ष उद्घाटन समारोहका लागि टिकट बुकिंग खुला गरिंदा झण्डै बीस लाख भन्दा बढी मानिसहरुले खरीदका लागि आवेदन दिएका थिए। यस्ता समारोहहरुका लागि बुथहरुमा टिकट पाइन थाले पछि त्यस्ता टिकटहरुको माग पनि निकै चर्को हुने पक्का छ। र लण्डन २०१२ का आयोजकहरुले त्यस्तो मागलाई ध्यानमा राखेर खेलप्रेमीहरुको लामो लाइनका लागि तयारी गर्न थालिसकेका छन्। ओलिम्पिक पार्क नजीक खोलिने मूख्य टिकट बुथ ‌बाहिरको ठूलो इलाकालाई टेन्ट र स्लीपींग ब्याग बोकेर टिकट किन्न लाम बस्न आउने खेलप्रेमीहरुका लागि छुट्याइने छ।