दलहरुलाई नयाँ डर

  • 7 मे 2012
अखण्ड सुदूरपश्चिमको माग गर्दै विरोध प्रदर्शन
Image caption अखण्ड सुदूरपश्चिमको माग गर्दै प्रदर्शनकारीहरुले अनिश्चितकालीन बन्दको आह्वान गरेका थिए

मुख्य दलहरु प्रादेशिक विभाजनको अन्तिम प्रयासमा जुटेका बेला देशभर संघीय खाकालाई लिएर खिचातानी चुलिएको छ।

अखण्ड सुदूरपश्चिम विकास क्षेत्रको पक्षमा अनिश्चितकालीन बन्द आव्हान र त्यससँग असहमति राख्नेले पनि सडक नै रोज्नु त्यसको पछिल्लो उदाहरण हो।

सामान्य जनजीवनमा गम्भीर असर पारेको सुदूरपश्चिम बन्द खुलाउन मुख्य दलका प्रमुखले काठमाण्डूमा संयुक्त विज्ञप्ती मार्फत गरेको अपिलले तत्काल कुनै असर गरेन।

त्यसअघि प्रधानमन्त्रीको आव्हान पनि निष्प्रभावी बनेको थियो।

सोमबार सरकारको तर्फ वार्ताका लागि आह्वान गर्दै प्रधानमन्त्रीले आन्दोलनकारीहरुलाई पत्र पठाएका छन्।

सरकारको त्यस्तो कदमलाई विरोध प्रदर्शनकारीहरुले सकारात्मक रुपमा लिएको बताउंदै, वार्ता र आफूहरुको संघर्ष साथसाथै लैजाने पनि बताएका छन्।

सरकारले सुदूरपश्चिममा नै आफूहरुसंग वार्ता गर्नु पर्ने पनि तिनीहरुको माग छ।

विभाजन

चाख लाग्दो कुरा, मुख्य तीन दलकै प्रभावशाली नेताहरु अखण्ड सूदूरपश्चिमको पक्ष र विपक्षमा विभक्त छन्।

दुई प्रष्ट खेमामा बाँडिएको सबैभन्दा ठूलो दल एकीकृत माओवादीमा त अध्यक्ष प्रचण्ड पक्ष नै बाँडिएको छ।

सुदूर-पश्चिमका प्रभावशाली माओवादी नेता लेखराज भट्ट आफ्नो क्षेत्र टुक्राउन नदिन उहिल्यैदेखि लागेका हुन्।

पूर्वका अर्का प्रभावशाली माओवादी नेता गोपाल किराँतीले बीबीसी नेपाली सेवाको नयाँ नेपाल कार्यक्रममा भनेका थिए, "भट्टजीको कदम संघीयता विरोधी देखिएको छ।"

दुबै पोलिटब्युरो सदस्य प्रचण्ड पक्षका हुन्।

विवाद देशब्यापी

Image caption प्रदर्शनकारीहरुले आफ्नो मागप्रति सरकारले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए

कुरा पश्चिममा मात्र सीमित छैन, देशव्यापी छ।

छलफलमै रहेका अन्य कतिपय प्रदेशको सिमाङ्कन र नामाङ्कनलाई लिएर माओवादीका साथै कांग्रेस र एमालेका नेताहरु पनि विपरित कित्तामा देखिएका छन्।

त्यसले पार्टीहरुभित्र परेको गैर-राजनीतिक ध्रुविकरणको प्रष्ट छाप दर्शाउँछ।

जस्तो कि तराईमा प्रदेशको संख्या र अन्य भागमा जातीय राज्यको सीमानालाई लिएर मुख्य दलका सभासदहरु आफ्नो पार्टीको सीमाना नाघेर एकजुट भएका छन्।

सिंगो मुलुकको रुपान्तरणको प्रसव घडीमा आफ्नो क्षेत्र, जात-जाति, वर्ग, भाषा र संस्कृतिको पहिचान स्थपित गराउन हरसम्भव प्रयास गर्नु अस्वाभाविक होइन।

अस्वाभाविक

तर अस्वाभाविक के लाग्छ भने एउटा राजनीतिक सिद्धान्त र दर्शनप्रति प्रतिवद्ध भई वर्षौसम्म रगत-पसिना बगाएर आफैले बनाएको पार्टी छाड्नसम्म नेताहरु तयार देखिन्छन्।

हुन त बदलिंदो परिस्थितिमा राष्ट्रिय पार्टीभन्दा क्षेत्रीय दलमा हुने रवाफ र रौनकले कतिपयलाई लालायित बनाएको पनि होला।

हुन पनि कांग्रेस र एमालेलाई ठूलो क्षति पुर्‍याउँदै मातृदल त्यागेका तराईका प्रभावशाली नेताहरु सत्ता र शक्तिको केन्द्रबाट बाहिरिनु परेको छैन।

देशका अन्य भूगोल, सम्प्रदाय, जाति र वर्गका नेताबाट हुने त्यसको सम्भावित पुनरावृति प्रमुख दलका निम्ति नयाँ डरको रुपमा जन्मिएको छ।

जुन भवितब्य तीनवटै प्रमुख दलका निम्ति खतरनाक परिणतिको रुपमा प्रकट हुनसक्छ।