नेपाली ओलिम्पिक टोलीको तयारी

पछिल्लोपल्ट अपडेट गरिएको: 13.07.12, 20:35 NST सम्मका समाचार
स्नेहा राणा

शुटिंगकी स्नेहा राणा काठमाण्डूमा नै प्रशिक्षणरत रहेकी छिन्

विश्वभरका १० हजारभन्दा वढि खेलाडीहरुलाई स्वागत गर्न तयार रहेको ओलिम्पिक शहर लन्डनमा नेपालको सानो टोली पनि तयारीमा ब्यस्त छ।

चार खेलाडीहरु-एथलेटिक्सका तिलकराम थारु र प्रमिला रिजाल तथा पौडीका श्रेया धिताल र प्रसिद्धजंग शाह इंग्ल्याण्डको केन्ट शहरमा पुगेर अभ्यास गरिरहेका छन्।

उनीहरुसंगै पौडी प्रशिक्षक वाङदेन लामा र एथलेटिक्स प्रशिक्षक टिका सेढांई पनि छन्।

अर्का शुटिङ खेलाडी स्नेहा राणा भने ललितपुरको सातदोबाटो स्थित शुटिङ रेञ्जमा प्रशिक्षणरत छिन्।

उनको पनि बैदेशिक प्रशिक्षणको प्रयास भइरहेको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।

छनोट

विश्वको सवैभन्दा ठूलो खेल मेला मानिने ओलिम्पिकमा नेपालका अन्य खेलका खेलाडीहरु छनोट चरणमा असफल भएपछि नियमित कोटाको रुपमा रहेको एथलेटिक्स र पौडी बाहेक वाइल्ड कार्डको बाटोबाट शुटिङ खेलाडी स्नेहा छनोट हुन सफल भएकी थिइन्।

अन्तराष्ट्रिय ओलिम्पिक कमिटी, आइओसीले कमजोर राष्ट्रका प्रतिभाशाली खेलाडीहरुलाई तयारी स्वरुप खर्च उपलब्ध गराउने सहुलियत अनुरुप, नेपाल ओलिम्पिक कमिटीको पहलमा यी चार खेलाडीहरुले केन्ट शहरमा प्रशिक्षणको अवसर पाएका हुन्।

नेपाली खेलाडीहरुले एक महिना लामो वैदेशिक अभ्यासको मौका पाएको यो पहिलो पटक हो।

पौडीका प्रशिद्धजंग शाह

पौडीका प्रशिद्धजंग शाह अभ्यासका क्रममा घाइते भएका समाचारहरु आएका छन्

विश्वका उत्कृष्ट खेलाडीहरुको जमघट हुने ओलिम्पिक खेलकुदमा नेपालले अहिलेसम्म आधिकारिक पदक जित्न सकेको छैन । यसपाली पनि नेपाली खेलाडीहरुको उद्देश्य राष्ट्रिय कीर्तिमान कायम राख्नु रहेको जनाइसकेका छन् ।

पदाधिकारीहरु उदघाटनमा मात्र

ओलिम्पिकका नेपाली पदाधिकारीहरु भने जुलाई २५ मा लन्डन पुग्ने बताइएको छ ।

ब्रिटेनको लन्डनमा २७ जुलाई अगस्ट १२ सम्म ३० औं गृष्मकालिन ओलिम्पिक प्रतियोगिता संचालन हुदैछ।

नेपालबाट १७ सदस्यिय आधिकारिक टोलीको घोषणा भइसकेको छ। यसबाहेक नेपाल ओलिम्पिक कमिटीका पदाधिकारी गरी सहभागिता संख्या वढ्नेछ ।

सेफ द मिशन को हो?

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा नेपाली टोलीको सेफ द मिशनको रुपमा लन्डन ओलिम्पिक जाने तयारीमा थिए।

तर नेपाल ओलिम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद विच पछिल्लो समय विवाद वढेपछि सदस्य सचिव लामाले सेफ द मिशन नबन्ने घोषणा गरेका छन्।

यसपछि अब नेपाली टोलीको टोली नेता को बन्ने भन्ने तय भइसकेको छैन।

जानकारी अनुसार नेपाली टोलीको नेतृत्व ओलिम्पिकमा छानिएका अधिकारीहरु विचबाट मात्रै नियुक्त गर्न पाइनेछ।

सम्बन्धित शिर्षकहरु

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।