मुख्य सचिव बन्ने दौड

पछिल्लोपल्ट अपडेट गरिएको: 18.07.12, 21:40 NST सम्मका समाचार
सिंहदरवार

स्थायी सरकार मानिने निजामती सेवाको प्रमुख बन्न राजनीतिक समर्थनको खोजी नयाँ होइन

निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा पुग्न सचिवहरुबीच अस्वस्थ हानथाप हुने पुरानो रोग यसपटक पनि दोहोरिएको छ।

निजामती सेवामा पदोन्नतिको आधार ज्येष्ठता र कार्य क्षमतालाई बनाउने चलन छ।

साउन २२ गतेदेखि खाली हुने मुख्य सचिवका प्रतिष्पर्धी देखिएका करिव एक दर्जन सहसचिव एकैपटक सचिव बनेकाले ज्येष्ठतामा खासै विवाद देखिन्न।

अब सरकारले उनीहरु मध्ये कार्य क्षमताको आधारमा मुख्य सचिवको छनौट गर्नु पर्नेछ।

तर त्यस्तो छनोटको आधारबारे पूर्वमुख्य सचिव विमल कोइरालाले भने, "योग्य, निर्भिक, ऐन-कानुनमा चल्ने, राजनीतिमा कतै पट्टि नढल्किएको मान्छे ल्याउनु पर्छ।"

दौड

मुख्य सचिव माधवप्रसाद घिमिरेको उत्तराधिकारी बन्ने दौडमा लिलामणि पौडैल, शंकर कोइराला, बालानन्द पौडेल, बिन्द्रा हाडा, उमाकान्त झा र सुशील जंगबहादुर राणा अगाडि देखिएका छन्।

झा मधेसी र हाडा महिला तथा जनजाति हुनु उनीहरुका निम्ति थप अनुकूल बनेको बताइन्छ।

प्रतिष्पर्धामा भगवतीकुमार काफ्ले, श्यामप्रसाद मैनाली, बामनप्रसाद न्यौपाने, ताना गौतम, त्रिलोचन उप्रेती र अवनिन्द्रकुमार श्रेष्ठ पनि छन्।

तर केहीले उमेर हदका कारण छिट्टै अवकास पाउने र केहीको राजनीति पहुँच प्रतिकूल बनेकाले उनीहरु दौडमा पछाडि परेको बताइएको छ।

"योग्य, निर्भिक, ऐन-कानुनमा चल्ने, राजनीतिमा कतै पट्टि नढल्किएको मान्छे ल्याउनु पर्छ"

विमल कोइराला, पूर्व मुख्य सचिव

वरिष्ठ प्रशासकहरुका अनुसार मन्त्रिपरिषद बैठकको निर्णय प्रमाणित गर्ने अधिकार रहने मुख्यसचिवमा देशको हित प्रतिकूल हुने वा कानुन विपरितका प्रस्ताव मन्त्रिपरिषदमा पुगेमा त्यो रोक्ने आँट पनि हुनुपर्छ।

शाहीकालीन मन्त्रीहरुले मन्त्रिपरिषद बैठकमा राखेको एउटा प्रस्ताव आफ्नो अडानपछि तत्कालीन राजा ज्ञानेन्द्रले रोकेको अनुभव उसबेलाका मुख्य सचिव कोइरालासँग छ।

उनले भने, "एकाधिकार प्राप्त संस्था भएकाले आयल निगमको निजीकरण गर्नुहुन्न, तेल आपूर्ति गर्ने निजी संस्था धेरै भएमा एउटा नियामक निकाय राखेर मात्रै निजीकरण गर्न मिल्ने अडान लिएको थिएं।"

चतुर-राज

कुनै पनि निजामती कर्मचारीले स्थायी सरकारको प्रमुख हुने महत्वाकांक्षा राख्नु स्वाभाविकै हो।

प्रशासनविद्हरुका अनुसार मुख्य सचिवले चाहेमा स्थायी सरकार मानिने निजामती प्रशासन पनि प्रभावकारी बन्न सक्छ।

तर दलहरुको समर्थनविना मुख्य सचिव बन्न नसकिने बुझेरै हुनसक्छ, सक्षम ठानिएका सचिव समेत राजनीतिक आशीर्वाद थाप्ने पंक्तिमा देखिएका छन्।

त्यससँगै विगतदेखि चल्ने गरेका आर्थिक लेनदेनका प्रसंगहरु पनि नसुनिएका होइनन्।

मूल रुपमा ती दुबै कारणले चतुरहरुको हालिमुहाली हुँदा निजामती सेवाका क्षमतावान, इमान्दार र सक्षम कर्मचारी ओझेलमा पर्ने गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।