भारतमा सफल नेपालीहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 16.09.12, 18:14 NST सम्मका समाचार
रेग्मी प्लाष्टीक उद्योग

नेपालीहरुले भारतमा आफ्नो पौरखले राम्रो व्यवसाय चलाइरहेका छन्

सुरक्षा गार्ड, चौकिदारी, बेरा जस्ता कम आम्दानीवाला कामको घेरा तोड्दै कतिपय नेपालीहरुले भारतमा व्यावसायिक सफलता हासील गरेका छन्।

उनीहरुले आफ्नो सीप र मेहेनतको बलबाट विदेशमा दशौं लाखको कारोबार गरेका छन्।

करीब १३ वर्षको उमेरमा आफ्नो गाउँ छाडेर दिल्ली हानिएका स्याङ्गजाका ईश्वरप्रसाद पंगेनी अचेल दिल्लीका सडकमा राज गर्छन्।

शुरुमा मासिक ५० रुपियाँ आम्दानी हुनेगरी घरघरमा काम गर्ने ईश्वर अहिले १८ चमचमाउँदा गाडीका मालिक बनेका छन्।

राजधानी दिल्ली र वरपरका राज्यका सडकहरुमा चल्ने उनको ट्राभल्स व्यवसायले २५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ।

“सन् १९९१ देखि मैले आफ्नै व्यवसाय थालें। खासगरी ट्रान्सपोर्ट र टुरको क्षेत्रमा काम गरिरहेको छु। मैले कुनै चीज पूर्व योजना बनाएर चाहीं गरेको होइन। जीवनमा जे अगाडी आयो त्यसैलाई समाएर अघि बढ्दैछु,” दिल्लीको पहारगञ्ज स्थित आफ्नो ट्रान्सपोर्ट अफिसमा बीबीसीसंग बोल्दै पंगेनीले बताए।

रोचक

बाह्र वर्षको उमेरमा ४० वर्ष अगाडी भारत आएका दिलीप शर्माको सफलताको कहानी उत्तिकै रोचक छ।

दिलीप शर्मा

दिलीप शर्माको जुत्ताको सांचो बनाउने उद्योग छ

वर्षौंसम्म जुत्ता बनाउने कम्पनीमा काम गरेर आर्जेको अनुभव प्रयोग गर्दै उनले ठूल्ठूला जुत्ता कम्पनीका लागि आवश्यक पर्ने जुत्ता चप्पलको डाई अर्थात साँचो बनाउने उद्योग खोलेका छन्।

दिल्लीको त्रिनगरमा रहेको उनको योगा इन्टरप्राइजेजले वार्षिक एक करोड भारु बराबरको कारोबार गर्दछ अनि पच्चीस तीसजनालाई रोजगारी दिएको छ।

उनका उत्पादन भारतभर एवं नेपालमा समेत पठाइन्छ।

“मेरा उत्पादनहरु दिल्लीमा अमुल फुटवेयर, न्युटन शूज तथा कोलकाताको जापान प्लाष्टिक एवं काठमाण्डौंका फेशन फुटवेयर, हिमाल फुटवेयर र मैती फुटवेयर आदि कम्पनीहरुमा जान्छ,” शर्माले भने।

मोतीनगरमा रहेको रेग्मी प्लाष्टिक उद्योगका मालिक माधव रेग्मी पनि दिल्लीमा राम्रै कारोबार गर्दछन्।

ईश्वर पंगेनीको ट्रान्सपोर्ट व्यवसाय

दिल्लीका सफल ट्रान्सपोर्ट व्यवसायी ईश्वर पंगेनीका ड्राइभरमा नेपालीहरु पनि छन्

“शुरुमा त नोकरी गरियो। पछि विस्तारै आफ्नै प्लाष्टिकका थैलाहरु बनाउने फैक्ट्री खोलियो,” रेग्मीले बताए।

असन्तुष्ट

तर उनीहरुलाई विदेशमा पाएको सफलताले धेरै सन्तुष्टि दिन सकेको छैन। आफ्नै देशमा व्यापार उद्योगधन्दा गर्न पाएको भए यो भन्दा कैयौं गुणा खुशी मिल्ने उनीहरु बताउँछन्।

एकचोटी नेपालमै ट्रान्सपोर्टको व्यवसायमा हात हालेका ईश्वर पंगेनीले नमीठो नतीजा बेहोर्नुपरेको सुनाए।

“स्वदेशमा नगरेको होइन। एक पटक त्यहाँ जीपहरु किनेर चलाइयो। तर घाटामात्रै भयो। कहिले बन्द, कहिले डिजेल अभाव जस्ता समस्या आएपछि सबै बेचेर पुन भारत फर्किएं,” पंगेनीको भनाई थियो।

पंगेनी, शर्मा तथा रेग्मीजस्तै भारतमा अन्य कैयौं नेपाली व्यवसायीहरुले घरजग्गाको कारोबार ट्राभल्स कुरियर सेवा आदि व्यवसायमा राम्रै सफलता कमाएका छन्।

उनीहरुमध्ये धेरैको इच्छा स्वदेशमा वातावरण बनेको खण्डमा नेपालमै लगानी गर्ने रहेको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।