‘तिब्बतमा खनिजका लागि लाखौं विस्थापित’

  • 1 जनवरी 2014
Image caption तिब्बतीहरूको चरणक्षेत्र कब्जा गरी सुन तथा तामा जस्ता खनिजको उत्खनन थालिएको आरोप छ

प्रकृति संरक्षण भनि तिब्बतमा दशौं लाख फिरन्ते समुदायका तिब्बतीहरूलाई तीनका भूमिबाट विस्थापित गराइएको र ती क्षेत्रहरूमा व्यापक रूपमा खानी उत्खननको काम शुरू भइ वातावरण बिथोलिन थालेको तिब्बती नेता तथा शोधकर्ताहरूले बताएका छन्।

तिब्बतमा त्यसरी आन्तरिक रूपमा विस्थापितहरूको संख्या ह्वात्तै बढेको खबर अन्य देशमा शरणार्थी बन्न पुग्ने तिब्बतीहरूको संख्या ख्वात्तै घटेको बेला आएको छ।

तिब्बती शरणार्थीहरूको संख्या त्यसरी घट्नुमा उनीहरूमाथि तिब्ब्तभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न नपाउने गरी चीन सरकारले लगाएको प्रतिबन्ध प्रमुख कारण भएको निर्वासमा रहेका तिब्बती नेता तथा शरणार्थीहरू बताउँछन्।

उनीहरूका ‌अनुसार शरणार्थी बनेर अन्य देश जान नपाएका तिब्बतीहरू अचेल आफ्नो भूमिमा आन्तरिक रूपमा विस्थापित भएर बस्न बाध्य छन्।

त्यसरी विस्थापित हुनेहरूको संख्या १५ लाख देखि २० लाखसम्म भएको तिब्बतीहरूका धर्मगुरू दलाई लामाको भारतस्थित धर्मशालामा रहेको कार्यालयका अधिकारीहरूले बताएका छन्।

सो कार्यालयमा वातावरण सम्बन्धि शाखाका प्रमुख तेनजिन नोर्बुले हालैको समयमा तिब्बतबाट शरणार्थी भइ आएकाहरूको अनुभवबारे सुनाउँदै भने, “त्यसरी शरणार्थी भइ हामीकहाँ आइपुगेकाहरूले आफूहरू युगौंदेखि पशुपालन गरी आएका चरणक्षेत्रहरू चिनीयाँ अधिकारीहरूले गैरकानूनी तरिकाले कब्जा गरी सुन तथा तामा जस्ता खनिज उत्खनन गर्ने काम थालेका छन् भन्ने कुरा हामीलाई सुनाउँछन्।

'चेतावनी'

“उनीहरूले हामीलाई भने अनुसार चिनीयाँ अधिकारीहरू माइक प्रयोग गरी चेतावनी दिन्छन् रे यदि कसैले खानी उत्खननको विरोध गरे त्यो चीन राज्य कै विरोध गरे सरह हुनेछ भनी।

“ती शरणार्थीहरूले के पनि भनेका छन् भने चिनीयाँ अधिकारीहरू तीनको घरघरमा गई एउटा कागजमा सही गराउँछन् रे, त्यो कगाजमा यस क्षेत्रमा हुने खानी सम्बन्धि कामको हामी विरोध गर्दैनौं किनभने चीनको विकासको लागि खनिज पदार्थको आवश्यक्ता छ भनी लेखिएको हुन्छ रे।“

तेन्जिनका सहकर्मी तथा तिब्बती शोधकर्ता जिग्मे नोर्बुले पनि शरणार्थीहरूसित कुरा गरी आफूले बुझेको कुराबारे भने, “चिनीयाँ सरकारले पर्यावरण जोगाउने भनी तिब्बती समुदायलाई जुन चरणक्षेत्रबाट विस्थापित गर्दैछ त्यहीं त्यत्रो उत्खननको काम गरी वातावरण पुरै बिथोल्ने काम भइरहेको छ।“

बृहत स्तरमा खानी उत्खननका लागि उर्जाको आवश्यक्ता पर्ने हुनाले ती ठाउँहरूमा धमाधम बाँध निर्माण गरिएका र त्यहाँ रहेका याङ्त्जे, यलो र मेकोङ् जस्ता पूर्वी एसियाका ठूल्ठूला नदीहरूको मुहान क्षेत्र नै प्रदुषित हुने खतरा रहेको विज्ञहरू बताउँछन्।

लगानीकर्ताको ओइरो

उनीहरूका अनुसार त्यसरी बाँध बनाइ विद्युत निकाल्न थालिएपछि खानी उत्खननकालागि तिब्बतका ती क्षेत्रहरूमा लगानीकर्ताहरूको ओइरो लागेको छ।

तिब्बतबारे झण्डै ४० वर्षदेखि शोधकार्यमा लागेका गाब्रिएल लाफिते पनि त्यस्ता गतिविधिहरू बढेको भनी आफ्नो जानकारीमा आएको बताए।

उनले भने, “पहिले चरण क्षेत्रहरूबाट फिरन्ते समुदायलाई हटाइ ती ठाउँहरूलाई राष्ट्रिय निकुन्ज वा संरक्षित क्षेत्र भनी घोषणा गरियो, तर पछिल्ला वर्षहरुमा तीनै ठाउँमा खानी उत्खननको काम शुरू गरियो।

“संरक्षित क्षेत्रमा तपाई कसरी त्यस्तो काम गर्न सक्नुहुन्छ?”

लाफितेले चिनीयाँ सरकारले उक्त तिब्बती समुदायको प्रकृतिसित मिलेर बस्न सक्ने क्षमताको पुरै अवहेलना गरेको आरोप लगाउँदै भने, “ती चरणक्षेत्रमा दिगो रूपले बाँच्न र वातावरण जोगाउन तिब्बतीहरूको सो फिरन्ते समुदायसित नौ हजार वर्षको अनुभव छ, तर चिनीयाँ सरकार उनीहरूलाई अबुझ, पिछडिएका र निरक्षर भएको मात्र ठान्दछ।“

यी सबै आरोपहरूबारे तिब्बत स्वशासित क्षेत्र र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अधिकारीहरूको प्रतिक्रिया लिन बीबीसी ले गरेको पटक पटकको प्रयास असफल भएको छ।

तिब्बती शरणार्थी नेताहरूका अनुसार हालैका वर्षहरूमा आत्मदाह गरेका १३० भन्दा बढी तिब्बतीहरूमा कम्तिमा २० फिरन्ते समुदायका थिए।