इजरेल-गाजा संघर्षको पृष्ठभूमि

  • 25 जुलाई 2014
इजरेल गाजा नक्सा
Image caption गाजा भूमध्य सागरको तटवर्ती सांघुरो भूभाग हो

गाजा भूमध्य सागरको पूर्वी तटमा अवस्थीत सांघुरो भूभाग क्षेत्र हो।

त्यहांको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ र त्यहां १८ लाख प्यालेष्टीनीहरुको घनाबस्ती छ, ति मध्ये धेरै शरणार्थीहरु छन्।

त्यस क्षेत्रलाई इजरेलले सन् १९७६ मा छ दिनसम्म चलेको युद्धका क्रममा कब्जामा लिएको थियो।

सन् १९९३ मा इजरेलका प्रधानमन्त्री यित्जाक राबिन र प्यालेष्टिनी मुक्ति संगठन, पीएलओ, का तत्कालीन अध्यक्ष याशेर आराफातबीच ओस्लो शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि सम्म गाजा स्ट्रीप भनिने उक्त तटवर्ती सांघुरो भूभागमा इजरेलको नियन्त्रण रहेको थियो।

उक्त सहमति अनुसार, गाजाको नव स्वायत्त क्षेत्र र वेस्ट ब्यांक स्थित जेरिको शहरको नियन्त्रण प्यालेष्टिनी राष्ट्रिय प्रशासन मातहत पुगेको थियो।

सन् १९९४ मा याशेर आराफात २७ बर्षे निर्वासनपछि भव्य स्वागतका साथ गाजा स्ट्रीपमा फर्केका थिए। त्यसपछि सन् १९९६ मा उनी प्यालेष्टिनी प्रशासनका प्रथम अध्यक्ष नियुक्त भए।

तस्वीर कपीराइट Getty images
Image caption प्यालेष्टिनी प्रशासनका प्रथम अध्यक्ष बनेका याशेर आराफातको सन् २००४ मा निधन भएको थियो।

यो शान्ति प्रकृयालाई द्वन्द्वको दुवै पक्षमा रहेका कट्टरपन्थीहरुले विरोध गरेका थिए। र सन् १९९५ मा यित्जाक राबिनलाई एकजना इजरेली दक्षिणपन्थी उग्रवादी यिगाल अमिरले हत्या गरे।

प्रतिरोध

आराफातको शान्ति स्थापना प्रयासले पनि इस्लामवादी संगठनहरु हमास र इस्लामिक जीहादको तर्फबाट कडा प्रतिरोधको सामना गर्नु पर्यो।

ति विरोधी संगठनहरुले इजरेलको अस्तित्वलाई अस्वीकार गरे र छुट्टै प्यालेष्टीनी राज्य स्थापनाका लागि सशस्त्र प्रतिरोध एकमात्र उपाय रहेकोमा जोड दिए।

Image caption एरिएल शरोन सन् २००१ मा अत्यधिक बहुमतका साथ निर्वाचित भएर प्रधानमन्त्री बनेका थिए

इजरेल र विभिन्न पश्चिमी र गैरपश्चिमी सरकारहरुले ति दुवै संगठनहरुलाई आतंकवादी घोषणा गरेका छन्।

सन् २००० सम्ममा प्यालेष्टिनी राष्ट्रिय प्रशासन वेस्ट ब्यांकका कतिपय शहरहरुमा नियन्त्रण कायम गर्न सफल भएको थियो भने त्यसको मुख्यालय वेस्ट ब्यांकको रमल्लाहमा स्थापना गरियो। तर शान्ति प्रकृयालाई अन्तिम रुप दिने वार्ताहरु भने अवरुद्ध हुन पुगे भने हमास र इस्लामिक जीहादले इजरेलभित्र श्रृंखलाबद्ध आक्रमण शुरु गरे।

सन् २००० को सेप्टेम्बरमा दक्षिणपन्थी लिकुड पार्टीका नेता एरिएल शारोनले जेरुसलेमस्थित पवित्र टेम्पल माउण्टको भ्रमण गरे। उक्त भ्रमणलाई प्यालेष्टिनीहरुले एकदमै भड्काउने खाले व्यवहारका रुपमा लिए र त्यसपछि व्यक्त हिंसात्मक प्रतिक्रिया सन् २००१ र २००५ को बीचमा भएको प्यालेष्टिनी विद्रोह बन्न पुग्यो।

अल अक्सा इन्तीफादाका नामले चिनीएको यो विद्रोहका क्रममा नै हमास र इस्लामीक जीहादले इजरेल विरुद्ध रकेट र आत्मघाती बम हमला शुरु गरेका हुन्।

इजरेलले बदलामा सैनिक कार्वाही, घुसपैठ र हमास तथा जीहादका शिर्षस्थ नेताहरुको हत्या गर्ने गर्न थाल्यो।

तस्वीर कपीराइट AP
Image caption हमासले आफ्नो रकेट भण्डारलाई बलियो बनाएको छ

निधन

सन् २००१ को फेब्रुअरीमा शरोन अत्यधिक बहुमतका साथ इजरेलका प्रधानमन्त्री बने। सन् २००४ मा याशेर आराफातको निधन भयो र उनको स्थानमा महमुद अब्बास नियुक्त भए।

त्यसपछि शरोनले गाजाबाट फिर्ता हट्ने योजना तयार पारे जुन सन् २००५ मा सम्पन्न भयो। इजरेलले गाजाबाट हुन सक्ने आक्रमणलाई रोक्न कडा समुद्री, स्थलगत र हवाइ नियन्त्रण कायम राख्यो जस्लाई गाजाबासीले आफूलाई घेराबन्दीमा राखिएको भन्दै गाजालाई खुला जेलका रुपमा लिए।

सन् २००६ मा हमासले निर्वाचनमा विजय हासिल गर्यो र तुरुन्तै महमुद अब्बास नेतृत्वको फतह आन्दोलनसंग उक्त समूहको हिंसात्मक मतभेद शुरु भयो।

सन् २००७ मा प्यालेष्टिनी इलाका फतह नियन्त्रणको वेस्ट ब्यांक र हमास नियन्त्रणको गाजा स्ट्रीपमा विभाजीत हुन पुग्यो। हमासले इजरेल र इजीप्टले लगाएको नाकाबन्दी तोड्न गाजा र इजीप्टबीचको सिमानामा तस्करी सुरुंगहरु खन्न थाल्यो।

सन् २००८ देखि २०१४ को बीचमा हमास र इस्लामिक जीहादले आफ्नो रकेट अस्त्र भण्डारलाई बलियो बनाएका कारण हमास र इजरेल बीच तीन पटक ठूलो भिडन्त भैसकेको छ।

र यो क्रममा इजरेल प्यालेष्टिनी शान्ति प्रकृयालाई व्युंताउने सबै प्रयासहरु असफल भएका छन्।

तस्वीर कपीराइट BBC World Service
Image caption गाजामा भएका इजरेली आक्रमणको मारमा गैरसैनिक महिला तथा बालबालिकाहरु नै धेरै परेका छन्

कार्वाही

गाजा स्ट्रीपबाट इजरेलमा रकेट हमला गर्ने हमासको क्षमतालाई कमजोर तुल्याने उद्देश्यले सन् २००८ र २०१२ मा इजरेलले दुईवटा ठूला सैनिक कार्वाही गरेको थियो।

ति सैनिक कार्वाहीहरुले घोषित लक्ष्य हासिल गर्न सकेनन्।

गाजा फेरि इजरेलसंग रक्तपातपूर्ण संघर्षमा लागेको छ। र पहिले पहिले जस्तै, हताहत हुनेमा गाजाका गैरसैनिकहरु नै बढी रहेका छन्।