बीबीसी नेपाली सेवाको परिचय

बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारिखमा शुरू भएको हो।

हाल बीबीसी नेपाली सेवा देश-विदेशका समाचार, विचार, अन्तर्वार्ता र विश्लेषणहरु लिएर दिनमा दुई पटक स्रोतामाझ उपस्थित हुने गर्दछ।

नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे नेपालका झण्डै ३५० वटा एफएमका फ्रिक्वेन्सीहरुमा दैनिक आधा घण्टा सन्ध्याकालीन प्रसारण "बेलुकीपख" प्रसारण हुँदै आएको छ।

त्यसैगरी हरेक दिन बिहान सवा सात बजे हाम्रो प्रभातकालीन प्रसारण "बिहानीपख" १५ मिनेट प्रसारण हुन्छ।

आरम्भ

शुरूका वर्षहरूमा नेपाली सेवा लण्डनमा पढ्न या तालिम लिन गएका नेपालीहरूबाट सञ्चालन हुने गर्दथ्यो।

त्यतिबेला साप्ताहिक समाचार तथा घटना समीक्षाको रुपमा प्रसारित नेपाली कार्यक्रमको मुख्य स्रोता हंगकंगमा कार्यरत ब्रिटिश गोर्खा सैनिकहरु हुन्थे।

तत्कालीन विद्यार्थी र पछि उत्तरी आयरलण्डको एउटा विश्वविद्यालमा लामो समय प्राध्यापन गरेर हाल अवकाशप्राप्त जीवन बिताइरहेका पुरन अग्रवाल १९६९ को जून ७ तारिखमा शुरु भएको नेपाली सेवाको पहिलो प्रस्तोता थिए।

विकास

१९६९ मै त्यतिबेला रेडियो नेपालमा कार्यरत तथा चलचित्र निर्माण अध्ययन गर्न लण्डन पुगेका यादव खरेल पनि नेपाली सेवामा संलग्न भए।

तर खरेलले अध्ययन पुरा भएपछि काठमाण्डू फर्किने निर्णय लिएकाले, उनले नेपाली सेवा प्रशारणको जिम्मा सन् १९७१ मा मणि राणालाई सुम्पिए, जो रेडियो नेपालबाट तालिमकै सिलसिलामा लण्डन गएका थिए।

१९८० को दशकको शुरुतिरदेखि बीबीसी नेपाली सेवामा विविधताहरु थपिन शुरु भयो र क्रमश: प्रसारण समय बढ्दै हप्तामा पाँच अनि सात दिन भयो।

राणाले वरिष्ठ उत्पादकका रुपमा सन् २००३ मा स्वेच्छिक अवकाश लिएका थिए।

सन् १९७९ मा खगेन्द्र नेपालीलाई बीबीसीले नेपाली सेवामा सहायक कार्यक्रम उत्पादकका रूपमा काम गर्नका लागि चयन ग-यो।

त्यसपछि वरिष्ठ कार्यक्रम उत्पादक र पछि नेपाली सेवाको प्रमुखको रुपमा सो सेवाको नेतृत्व गरेका उनले सन् २००६ मा अवकाश पाएका थिए। सोही वर्ष नेपाली सेवाको नेतृत्व रवीन्द्र मिश्रले सम्हाले र सन् २०१७ को फेब्रुअरीमा उनले स्वेच्छिक अवकाश लिए।

सन् १९९२ मा नेपाली सेवामा काम शुरू गरेका सुमन खरेलले कार्यक्रम उत्पादक हुँदै डेस्क एडिटर भएर सन् २०१५ सम्म काम गरेका थिए।

हरेक ऐतिहासिक घटनाका बेला आईपर्ने सबै चुनौतीहरुभन्दा माथि उठ्ने प्रयास गर्दै नेपाली सेवाले तथ्यपूर्ण र वस्तुपरक समाचारका साथसाथै तिनको पृष्ठभूमि र तिनबारे विश्लेषणहरु प्रस्तुत गरिआएको छ।

त्यसैको परिणाम हुनुपर्छ, नेपाली सेवा नेपाल तथा संसारभरिका नेपालीभाषी स्रोतामाझ बढ्दो रूपमा लोकप्रिय रहिआएको छ।

सन् २००९ जनवरीमा भएको स्रोता सर्वेक्षण अनुसार नेपालभित्र बीबीसी नेपाली सेवाका ५२ लाख स्रोता रहेका छन्।

नेपाल बाहिर लाखौं स्रोताले इन्टरनेटमा नेपाली सेवा सुन्ने गर्दछन्।

नेपाली सेवा परिवार

बीबीसी नेपाली सेवाको लण्डन तथा काठमाण्डूमा कार्यालयहरू छन्।

नेपाली सेवाका सम्पादक जीतेन्द्र राउत काठमाण्डूमा कार्यरत छन्।

साथै कार्यक्रम उत्पादक भगीरथ योगी लण्डनमैं रहेर काम गर्दछन्।

काठमाण्डूमा कार्यक्रम उत्पादक तथा संवाददाताहरू सुरेन्द्र फुयाल, शरद केसी, सञ्जय ढकाल, रमा पराजुली, महेश आचार्य, फणीन्द्र दाहाल, गनी अन्सारी र विनिता दाहाल कार्यरत छन्। साथै श्याम नेपाली प्राविधिक व्यवस्थापक हुन् भने श्रद्धा सापकोटा कार्यालय व्यवस्थापक हुन्। दिपक लुई‌टेल कार्यालय सहयोगीका रूपमा कार्यरत छन्।

काठमाण्डूमैं कार्यरत ओजस्वी ढुंगेल मूलरुपमा हाम्रा स्रोता तथा एफएम साझेदारहरूसँगको सम्बन्धलाई हेर्दछन्।

हाम्री कला समाचारदाता सेवा भट्टराई हुन् भने निरञ्जन राजवंशी हाम्रा खेलकुद समाचारदाता हुन्। त्यसैगरी लक्ष्मण डंगोल हाम्रा विज्ञान समाचारदाता हुन्।

त्यसैगरी देशका विभिन्न क्षेत्रमा कार्यरत हाम्रा समाचारदातामा प्रतिक्षा दुलाल (काठमाण्डू), कमल परियार (काठमाण्डू), नेत्र केसी (काठमाण्डू), उमाकान्त खनाल (झापा), सीता निरौला (ताप्लेजुङ), विक्रम निरौला (विराटनगर), सीता मादेम्बा (धरान), सुजाता तामाङ् (सोलुखुम्वु), बृजकुमार यादव (जनकपुर), ईश्वर जोशी (नारायणगढ), नारायण कार्की (पोखरा), माधव नेपाल (बुटवल), बसुन्धरा गौतम (दाङ), कृष्णमाया उपाध्याय (जुम्ला), उमीद बागचन्द (धनगढी), माधुरी महतो (वीरगंज), मतिना त्वानाबासु (भक्तपुर), निराशी थामी (दोलखा), शक्तिमाया तामाङ् (नुवाकोट), रविना बोहोरा (बाग्लुंग) र मञ्जु कल्याल (दार्चुला) रहेका छन्।