देवीमाया, २८, नेपाल

देवीमाया (नाम परिवर्तन) को घर पूर्वी नेपाल हो। उनी र उनको श्रीमान दुवै जना बैदेशिक रोजगारीमा थिए। उनी कुवेतमा श्रीमान साउदी अरेबियामा। सन् २००८ मा कुवेतमा उनी बलात्कारको शिकार भएकी थिइन् र त्यसपछि स्वदेश फर्केर उनले नेपालमा छोरीलाई जन्म दिइन् जो जन्मै देखि अपांग छिन्।

“बलात्कारका बारे मैले साउदी अरेबियामा फोन गरेर श्रीमानलाई बताएं। उनले मलाई चिन्ता नगर्नु भनेर सम्झाए। उनले नेपालमा मेरा सासु ससुरालाई पनि सम्झाउने र मप्रति नराम्रो धारणा नराख्‍न भन्ने पनि बताए, किनकी त्यसमा मेरो कुनै दोष थिएन। म एकदम असहाय अवस्थामा थिएं र जतिसक्दो छिटो घर फर्कन चाहन्थें।

कुवेतमा मैले बलात्कारको कुरा प्रहरीमा उजुरी गर्न सकिनं किनकी बलात्कारी मैले चिनेको मानिस थिएन र उजुरी नै कसरी गर्ने भन्ने पनि मलाई थाहा थिएन। कुवेतमा म अर्काको घरमा काम गर्न बसेको मान्छे, मलाई न त्यहांको भाषा आउंथ्यो न त नियम कानूनका बारे नै केहि थाहा थियो। सहयोग गर्ने पनि कोही थिएन। म बलात्कारको परिणाम स्वरुप गर्भवती भएकाले बल्ल बल्ल केहि महिनापछि घर फर्कने अनुमति मालिकहरुबाट पाएं।

कुवेतबाट फर्केपछि मैले छोरी जन्माएं, उनी शारीरिक रुपमा अपांग छिन। घर फर्केपछि मेरा बाआमाले सासु ससुरासंग कुरा गरे र मलाई र मेरो पेटको बच्चालाई अपनाउने की नअपनाउने भनेर कुरा गरे। मेरो श्रीमानसंग पनि फोनमा कुरा भयो। उनले त्यो बच्चा म स्वीकार्छु भनेपछि त्यसबेला कुरा मिल्यो। म सासु ससुरासंग बस्न गएं।

तर तीनचार दिन पछि नै स्थिती विग्रीयो। सासु ससुराले मसंग बोल्नै छाडे। दिन दिनको गालीगालौजका साथै ममाथि कुटपीट समेत हुनथाल्यो। तिनीहरुले मलाई घर छाडेर जा समेत भनें। मैले जान्न भनेपछि तिनीहरु नै घरमा भएको सबै सामग्री लिएर अन्यत्र बस्न गए। मेरो आठ बर्षको छोरो समेत तिनीहरुले लिएर गए, अहिले तिनीहरु कहां छन् मलाई केहि थाहा छैन। त्यसपछि त मेरो श्रीमानले समेत मलाई फोन गर्न छाडे। अब उनी पनि मलाई छाड्ने स्थितीमा पुगेका मैले बुझेको छु। सासु ससुराले म बसेको घर बेचिदिने धम्की दिएकाले मैले एउटा गैरसरकारी संस्थाको सहयोगमा अदालतमा गएर त्यस्तो विक्री रोक्का गरिदिएको छु।

म र मेरो अवस्थाका बारे थाहा पाउने धेरै जसो मानिसहरुले मलाई नराम्रो दृष्टिले हेर्छन्। जीविकाका लागि मलाई कसैले काम पनि दिंदैनन्। तिनीहरु मलाई “मुसलमानको बच्चा” लिएर आएकी भनेर घृणा गर्छन्। त्यसैले पनि काम खोज्नका लागि मैले टाढा टाढा जानु पर्छ जहां मलाई अरुले चिन्दैनन्। मलाई जीवन विताउन साह्रै गाह्रो भैरहेको छ। बसेको घरको छाना समेत चुहिएको छ, बनाउन मसंग केहि पनि छैन। तर जे जस्तो भएपनि मैले जीवन विताउनै पर्छ किनकी म मर्न पनि त सक्दिनं।

मेरो आमाबुबाको पनि स्थिती राम्रो छैन, त्यसैले मलाई कुनै हिसाबले सघाउन उनीहरु सक्दैनन्। श्रीमानको काकी नाता पर्ने एकजना दयालुको परिवारले मलाई काम दिने गरेका छन् र त्यसैबाट म र मेरी छोरीको गुजारा जेनतेन चलिरहेको छ।“

सम्बन्धित शिर्षकहरु

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।