वांगु कान्जा, ३७, केन्या

केन्याकी ३७ वर्षीय वाङ्गु कान्जालाई कामबाट फर्किरहेका बेला एकजना भन्दा बढि पुरुषहरुले सन २००२मा बलात्कार गरेका थिए। उनले आक्रमणकारीहरुको अनुहार देख्न सकिनन् किनभने उनको अनुहार छोपिएको थियो। आफ्नै अनुभवका कारण उनले बलात्कार र यौन हिंसाका पीडितहरुलाई सहयोग पुर्‍याउन वाङ्गु कान्जा फाउन्डेशन स्थापना गरिन्।

“म त्यतिबेला डेरामा एक्लै बस्थेँ। घटना भएको दुइदिनसम्म म कोठाबाट बाहिर निस्किइनं। त्यसपछि कोठाको भाडा र अन्य बील तिर्न कोठबाट बाहिर निस्कन मलाई बाध्य पारियो। मलाई भएको अत्यासलाग्दो घटनाबाट कैयौं दिनसम्म म बाहिर निस्कन सकिनं। विस्तारै म काममा पनि फर्कें। तर मेरालागि त्यो सम्झना भयावह थियो। म डरलाग्दो सपनाबाट गुज्रिरहेकी थिएँ। म अत्तालिएकी थिएँ र मानसिक अवसादमा थिएँ। त्यसबाट भाग्न मैले रक्सी खान थालेँ। र म झन डिप्रेसनमा गएँ २००२ देखि २००५ सम्म।

म एक्लीएकी थिएँ। र त्यस्तो अवस्थासँग म खुशी थिइनं। मैले मनोविज्ञानको कोर्स लिने निर्णय गरेँ। त्यो नै मेरालागि त्यो स्थितिबाट बाहिर निस्कने मुख्य घुम्ति थियो। कोर्सको व्यवहारिक कक्षाहरुमा मैले बलात्कार र यौन दुर्व्यवहारबाट पीडितहरुलाई परामर्श दिने काम रोजें। त्यस्ता घटनामा परेकालाई कसरी परामर्श दिने भन्नेबारे सिक्दा मेरो मानसिक स्थितिलाई पनि फाइदा पुग्यो। मेरो परिवारले ममाथि बलात्कार भएको भन्नेबारे अखबारका समाचार र लेखहरु पढेर थाहा पाएको थियो। त्यसबेला म उनीहरुसँग राम्रो सम्बन्धमा थिइनं। र त्यो डरलाग्दो घटनाले पनि सम्बन्ध सुधार्न सघाएन। उनीहरुले बलात्कार भएको थियो भन्ने नै स्वीकार्न चाहेनन् शुरुमा।

मेरो वरिपरि रहेका जसलाई त्यो थाहा थियो उनीहरुले चाहिने भन्दा बढि म प्रति सहानुभुति प्रकट गरे जसले मलाई झन नकारात्मक असर पार्‍यो। यो कठीन यात्राबाट मैलै एक्लै गुज्रिनु पर्‍यो। परिवार या कुनै मित्रहरुले वास्तविक सहयोग गरेनन्। वास्तवमा सहयोग पुर्‍याउने एकजना मात्र मेरी आन्टी थिइन्। उनले मलाई डाक्टरी परिक्षणमा लगिन्। विभिन्न सेवा लिन तथा सुचना र सुझाव लिन सघाइन्।

मैले पुलिसमा रिपोर्ट गरेँ। उनीहरुले मलाइ त्यो मुद्दा अगाडि नबढाउन भने। उनीहरुले सहि रिपोर्ट पनि दर्ता गरेनन्। उनीहरुले मलाई मुद्दा दर्ता नगर्न र आरोप नलगाउन दवाव दिइरहे। त्यसैले मैले त्यो मुद्दा अगाडि बढाउन चाहिन। बरु म डिप्रेसनबाट बाहिर कसरी निस्कने भन्नेमा केन्द्रित रहें। र त्यस्तै स्थितिबाट पीडित अरुलाई कसरी केहि सहयोग पुर्‍याउँ भन्नेमा लागेँ। समस्यामा परेकाहरुलाई सहयोगको खाँचो छ र त्यसैकारण मैले मेरो फाउन्डेशन सन् २००५ मा स्थापना गरेकी हुँ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।