लैला, २४, मोरोक्को

लैला (नाम परिवर्तन), पाँच वर्ष अगाडि मात्तिएका आफन्तद्वारा बलात्कृत भएकी थिइन्।

“एउटा नजिकको आफन्तबाटै यस्तो कायरतापूर्ण काम होला भनेर मैले कहिल्यै सोचेको थिइनं। यसले मेरो पीडा थप्यो। यो त धोका थियो। ममाथि यस्तो होला भनेर मैले कहिल्यै सोचेको थिइनं। मैले आफुलाई घरभित्रै बन्दी बनाएं। घर छाडेर बाहिर निस्कन सकिनं। मैले मानिसहरुलाई भेट्ने तथा आफन्तहरुसंग कुराकानी गर्नै बन्द गरें। जे भयो त्यसपछि अब के गर्ने भन्ने अलमलमा म परें।

मैले बलात्कार पीडितहरुलाई सहयोग गर्ने संस्थाहरुको सहयोग लिएं। उक्त सहयोगले मेरो आत्मबल बढायो अनि म अछुत होइन भन्ने महशुश गरायो। ममाथि भएको त्यो आक्रमणमा मेरो कुनै दोष नरहेको बुझाउन यो सहयोगी रह्यो। कोहीसंग त्यसरी कुराकानी गर्न पाउँदा मन निकै हलुंगोपनि भयो।

मेरी आमाले मलाई निकै सहयोग गर्नुभयो र यो पूरै कठिन समयमा वहाँ मेरो साथै हुनुहुन्थ्यो। मानिसहरु मेरो बारेमा नराम्रा कुरा गर्छन्। उनीहरु मलाई खराब भन्छन्। मैले आफुलाई जानी जानी यस्तो अवस्थामा पुर्‍याएको उनीहरु ठान्छन्। यसका लागि म नै जिम्मेवार भएको उनीहरु मान्छन्। उनीहरु मलाई एक पीडित ठान्दैनन्।

मेरी आमाले मलाई पढाईमा ध्यान दिन हौस्याइन् र मलाई जीवनप्रतिको धारणा परिवर्तन गर्दै नौलो शुरुवातका लागि घच्घच्याइन्। तर जे भयो त्यो बिर्सन निकै गाह्रो छ। बारम्बार म आफुलाई निकै नि:सहाय ठान्छु अनि जब जब उक्त घटना सम्झन्छु म रोइहाल्छु।

मलाई लाग्छ यस्तो जघन्य अपराधका लागि पाँच वर्षको जेल सजाय निकै कम हो। बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्छ। उसले मलाई जुन पीडा दियो र जसरी उसले मेरो जीवन बर्बाद पार्‍यो त्यो घाउ मसंग संधै रहिरहनेछ।

अरु कुनै युवतीले मेरो जस्तो पीडा बेहोर्न नपरोस् भन्ने मेरो आशा छ। यस्तो पीडा कसैलाईपनि हुनुहुँदैन। सरकारले जिम्मेवारी बहन गर्नुपर्दछ तथा बलात्कारका पीडितहरुलाई सहयोग गर्नुपर्दछ। किनकि त्यस्तो अपराधले पीडितको मानसिकतामा गहिरो प्रभाव पार्छ। ”

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।