तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मुम्बईमा महिला पत्रकारलाई सामूहिक बलात्कार

  • 23 अगस्ट 2013

भारतको मुम्बईमा बिहीबार एक महिला पत्रकारलाई सामूहिक बलात्कार गरिएको सम्बन्धमा प्रहरीले एकजनालाई गिरफ्तार गरिएको बताएका छन्।

गत वर्ष दिल्लीमा भएको एक सामूहिक बलात्कारसित मिल्ने यो घटनापछि भारतभरि आक्रोश व्यक्त गरिएको छ।

ती युवती एक फोटो पत्रकार हुन् र उनी बिहीबार साँझ कामको सिलसिलामा मुम्बईको पारेल क्षेत्रस्थित एक त्यागिएको कपडा कारखाना परिसरमा पुगेकी थिइन्।

उनीमाथि त्यहीं आक्रमण भएको बताइएको छ।

उनीसंगै त्यहाँ पुगेका एक पुरूष साथीलाई आक्रमणकारीहरूले कुटपीट गरेका जनाइएको छ।

पीडित युवतीलाई थुप्रै चोट लागेको छ र उनी अहिले अस्पतालमा छिन्।

प्रहरीले खोजी भइरहेका संदिग्ध आक्रमणकारीहरूको कोरिएका तस्वीरहरू सार्वजनिक गरेका छन्।

छानबीन टोली

मुम्बईका प्रहरी प्रमुख सत्यपाल सिंहले उक्त अपराधको छानबीन गर्न २० जनाको टोली गठन गरिएको बताए।

“पीडित युवतीलाई शुक्रबार छोटो सोधपुछ गरिएको थियो र उनलाई भित्री र बाहिरी दुवै किसिमका चोटहरू लागेको छ,“ प्रहरीको विज्ञप्तीमा भनिएको छ।

गत डिसम्बर महिनामा राजधानी दिल्लीमा एक महिला र उनका पुरूष साथीमाथि निर्घात आक्रमण भएको थियो।

ती महिलाको पछि अस्पतालमा मृत्यु भएको थियो।

सो घटनापछि देशव्यापी रूपमा विरोध प्रदर्शनहरू भएका थिए।

त्यसपछि महिला विरूद्धको अपराध नियन्त्रण सम्बन्धी कडा कानुन ल्याउन अधिकारीहरू बाध्य भएका थिए।