तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सम्भावित प्रमुख राजनीतिक खेलाडी र स्वार्थहरु

  • 15 नोभेम्बर 2013
Image caption राजनीतिक विश्लेषक सि के लाल

विभिन्न चुनौतीका बावजुद संविधानसभाको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने सम्भावना सुदृढ हुँदै गएपछि परिणाम घोषणापछिको परिदृश्यबारे अड्कलबाजी सुरु भएको छ।

कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा जनलहर नदेखिएको अवस्थामा स्थानको संख्यामा केही थपघट भएपनि मुख्य राजनीतिक शक्तिहरुको सन्तुलन कमोबेसी विगठित संविधानसभामा जस्तै कायम रहन सक्दछ ।

त्यस्तो परिस्थितिमा मुख्य दलका राजनीतिक नेताहरुको रणनीति आ-आफ्नो प्राथमिकतामा आधारित रहनेछ।

प्राथमिकता

एकीकृत नेकपा माओवादीका नेता पुष्पकमल दाहालको सबभन्दा ठूलो प्राथमिकता आफ्नो नेतृत्वमा सरकारको गठन कसरी गर्ने भन्नेमा हुनेछ।

माओवादी सिद्धान्तमा बहुदलीय अवधारणाका लागि ठाउँ नभएको र वामपन्थीहरुले सामान्यतया प्रतिक्षारत सरकार वा प्रमुख प्रतिपक्षीको सिद्धान्त स्वीकार नगर्ने हुनाले जसरी पनि सरकारको नेतृत्व हासिल गर्नका लागि दाहालले सम्पूर्ण प्रयत्न त्यतातिर केन्द्रित गर्नेछन्।

नेपाली कांग्रेसका सुशील कोइरालाका लागि भने त्यो भन्दा ठ्याक्कै उल्टो प्राथमिकता रहनेछ।

र, त्यो हुनेछ माओवादीको नेतृत्वमा कुनै पनि हालतमा सरकार गठन हुन नदिने, अन्तिम समयसम्मको पर्यन्त।

त्यो यसकारण पनि कि, सैद्धान्तिक असहमति एनेकपा माओवादीसँग त नेपाली कांग्रेसको हो नै, त्यसमा कार्यनीतिक भिन्नता पनि थपिएको छ।

किनभने दुबै पार्टीका प्रतिवद्धताहरु नै फरक किसिमका छन्।

एमालेका नेता झलनाथ खनालका लागि पनि सामान्य वामपन्थीहरुको जस्तै जसरी भएपनि सरकारमा कसरी सहभागी हुने भन्नेमा ध्यान पुर्‍याउनेमा रहनेछ।

किनभने सरकारमा नगइकन केही पनि कार्यक्रम लागू गर्न सकिँदैन भन्ने वामन्थी मान्यता एमालेमा पनि हावी छ।

प्रत्याभूति मधेसवादी नेताहरु चाहे उपेन्द्र यादव हुन् वा महन्थ ठाकुर, तिनको सम्पूर्ण प्रयत्न भने संविधानसभाद्वारा स्थापित संघीयता एवं समावेशिताका मूल्य एवं मान्यताको निरन्तरताको प्रत्याभूति कसले गर्छ? त्यस किसिमको सरकार निर्माणमा प्राथमिकता दिनेमा रहनेछ।

नयाँ शक्तिका रुपमा संघीय समाजवादी पार्टी र तिनका नेता अशोक राई आउन सक्छन्। संख्या भन्दा पनि प्रभावको दृष्टीकोणले तिनको महत्व छ।

किनभने नेपाली राजनीतिमा संघीयता र पहिचानको मुद्दा लिएर आउने ती नयाँ किसिमका राजनीतिकर्मी हुनेछन्।

तिनको ध्यान संघीयताको मुद्दामा केन्द्रित रहनेछ। पाँचौं ठूलो शक्ति भने कमल थापाको हो । र, उनको सम्पूर्ण शक्ति र प्रयत्न धर्म निरपेक्षता उल्टाउने, एकल तात्कालीक मुद्दामा आधारित रहनेछ।

समग्रमा हेर्दा संविधानसभा गठन भएपछि कम्तिमा सुरुका केही दिनहरु संवैधानिक भन्दा पनि सरकार गठनको चुनौतीले सबैजसो दलका नेताहरुलाई व्यस्त राख्ने सम्भावना देखिन्छ।

समानुपातिक प्रतिस्पर्धाले गर्दा गठबन्धन निर्माण अवश्यंभावी भएकाले नेतृत्वको परीक्षण आधारभूत न्युनतम कार्यक्रमका आधारमा निर्माण गरिने राजनीतिक गठजोर निर्माणका बेला देखिनेछ।