तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दोस्रो संविधानसभाले समाधान देला?

  • 17 नोभेम्बर 2013
Image caption पत्रकार ध्रुवहरि अधिकारी

निर्वाचनको दुई दिन अगाडि देशका प्रमुख अखबारहरुले अमेरिकि राजदूत पीटर बोडेको लेख प्रकाशित गरे।

जसमार्फत उनले भनेका छन् नेपाल आएर उद्योग व्यवसाय गर्न इच्छुक अमेरिकि लगानीकर्ताहरु यहाँको राजनीतिक अन्योलका कारण यतिञ्जेल यहाँबाट टाढै रहे।

राजदूतको आशय रहेछ चुनाव भए अनिश्चय हट्छ अनि लगानी आउन पाउँछ।

सदाशयको महत्व आफ्नो ठाउँमा होला तर यहीं छेउ एउटा प्रश्न उठ्छ के अमेरिकि राजदूतले इंगित गरेको राजनीतिक अन्योलको बादल यसपालिको चुनावपछि राम्रैसित फाट्ला?

अनिश्चयको जवाफ तीव्र गतिमा सङ्गलो बन्दै जाला? यसै भन्न गाह्रो छ।

सुधार

कबुल गरिएको नयाँ संविधान जारी नभइकन परिस्थितिमा सुधार आउने आधार नै तयार हुँदैन।

अनि चुनावमा होमिएका प्रमुख दलहरुको प्राथमिकतामा चाहीं संविधान निर्माणको विषय पर्ला जस्तो देखिंदैन।

अहिलेको तँछाड मछाड त सत्ताप्राप्तिको सेरोफेरोमै सीमित होला जस्तो लाग्छ।

यही बीचमा संयुक्त राष्ट्रसंघको मुख्यालयबाट महासचिव बान कि मुनको वक्तव्यपनि आयो जसमा उनले अन्तर्राष्ट्रिय समुदायको नेपालप्रतिको चासो प्रतिध्वनित गर्दै निर्वाचनको लगत्तैपछि यतिञ्जेल रोकिएको संविधान निर्माणको प्रक्रिया फेरि चालु हुने अपेक्षा गरेका छन्।

उनको यस कथनले पुरानो बक्यौता काम सकेर त्यसैका आधारमा नयाँ संविधान दिनुपर्छ भन्ने सन्देश प्रवाहित भएको छ। यता धरातलीय यथार्थ भने वेग्लै छ र असहजपनि छ।

साविकको माओवादी पार्टि फुटेर मोहन वैद्यको नेतृत्वमा नयाँ समूह जन्मिएको छ र त्यो समूह अहिलेको निर्वाचनमा सामेल छैन। त्यस मोर्चामा अन्य साना घटकहरुपनि छन्।

अब यस्तो पृष्ठभूमिमा शान्ति प्रक्रिया र संविधान निर्माणको क्रम विना अवरोध चालु रहन सक्दैन।

प्रमाण

विगत केही वर्षयता पार्टि फुट्ने र पार्टि फेर्ने प्रचलनमा तीव्रता आएको छ। चुनावी मैदानमा देखिएका पार्टिको संख्या १२० नाघ्नु अस्वस्थ प्रवृत्तिको प्रमाण हो।

धेरैजसो राजनीतिक दलहरु सिद्धान्त, दर्शन, मूल्य र मान्यताबाट निर्देशित छैनन्। त्यसैकारण संकुचित स्वार्थ र जातिपातिका कुराहरुमा रुमल्लिएका छन्।

गणतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता लगायतका मामिलाले सिर्जना गरेका विवाद सुल्झाउन जनमत लिने जस्तो उपाय अपनाउन परिवर्तनकारी शक्तिहरुले आँट गर्न सकिरहेका छैनन्।

यस्तो परिप्रेक्षमा अहिलेको निर्वाचनले विद्यमान समस्याको हल निकाल्ने आशा गर्न सकिंदैन।

चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मुलुक संङ्क्रमणकालभित्रको विशिष्ट अवस्थामा छ भन्दै आएका छन्।

तसर्थ अहिले हुन लागेको चुनावलाई वाध्यताको उपज ठान्नु मनासिब होला।

मंसिर ४ को मतदानले मुलुकलाई दुईवटा उपलब्धि भने गराउला – निर्वाचित सरकार अनि लोकतान्त्रिक परम्परा धान्ने एउटा अर्को अभ्यासको अवसर।