मण्डेलाको शोकमा भेला भएको भिड
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेल्सन मण्डेलाको निधनमा दक्षिण अफ्रीका शोकाकुल (लाइभ दृश्य)

दक्षिण अफ्रीकाको जोहानेसबर्ग र सोवेटोमा भेला भएर द‌क्षिण अफ्रीकीहरुले देशका भूतपूर्व नेता नेल्सन मण्डेलाको निधनमा शोक मनाइरहेका छन्। उनको बिहीबार ९५ बर्षका उमेरमा निधन भएको थियो।

सोवेटोमा नेल्सन मण्डेलाको पुरानो घर अगाडी भेला भएको भिडले नाच गान गरेर रातभरी उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो। राष्ट्रपति जेकब जुमाले राष्ट्रिय टेलिभिजनमा मण्डेलाको मृत्युको घोषणा गरेपछि राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

सन् १९९४ मा दक्षिण अफ्रीकाको प्रथम अश्वेत राष्ट्रपति बन्नु अघि नेल्सन मण्डेलाले २७ बर्ष जेल जीवन विताएका थिए।

विभाजन

उनको प्रशासनले जातिवादी श्वेत अल्पसंख्यक शासनलाई प्रतिस्थापन गरेको थियो, जुन सत्ताले एपरथाइड भनिने जातिवादी नीति अन्तर्गत दक्षिण अफ्रीकामा श्वेत र अश्वेत बीच विभाजन लागु गरेको थियो।

त्यसपछि मण्डेला विश्वकै सबैभन्दा प्रतिष्ठित मध्येका एक राजनेता बन्न पुगेका थिए।

अब सोमबार, जोहानेसबर्ग शहरको बाहिरी भेगमा पर्ने ९५ हजार क्षमताको रंगशालामा राष्ट्रिय शोकको कार्यक्रम गरिने भएको छ। त्यसपछि उनको पार्थिव शरिरलाई तीनदिनसम्म राजनीतिक प्रीटोरियामा ससम्मान अन्तिम दर्शनका लागि राखिने छ।

उनलाई राजकीय सम्मानका साथ उनी हुर्केका पूर्वी केप स्थित कुनु गाउंमा समाधिस्थ गरिनेछ।