युक्रेनमा पृथकतावादको खतरा बढ्दो

  • 25 फेब्रुअरी 2014
टुरचिनोभ तस्वीर कपीराइट Reuters
Image caption अन्तरिम राष्ट्रपति टुरचिनोभले सरकार गठनमा ढिलाइ भैरहेको कुरा बताएका छन्

युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्सान्डर टुरचिनोभले राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थ गरिए पछि पृथकतावादको खतरा बढेको चेतावनी दिएका छन्।

युक्रेनका रुसी भाषी क्षेत्रहरुमा कियेभको नयाँ प्रशासनप्रति विरोध जारी रहँदा उनले सो टिप्पणी गरेका हुन्।

यानुकोभिचलाई अपदस्थ गरिएकोमा क्राइमिया र पूर्वका रुस समर्थक केही क्षेत्रहरुमा विरोध प्रदर्शनहरु भएका छन्।

ढिलाइ

एकताको सरकार गठन गर्ने म्याद बिहीबार सम्मका लागि पर सारिएको छ।

राष्ट्रिय आस्थाको एउटा गठबन्धन तयार पार्नु पर्ने भएकोले सरकार गठनमा ढिलाइ भएको टुरचिनोभले बताएका छन्।

भिक्टर यानुकोभिचको बर्खास्ती बारे विवादहरु बढ्दै जाँदा रुसले पश्चिमा समर्थन पाएको युक्रेनको नयाँ सरकारको कडा आलोचना गरेको छ।

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले किएभस्थित अन्तरिम सरकारको वैधता माथि प्रश्न उठाउँदै उनीहरु सशस्त्र विद्रोहबाट शक्तिमा आएको बताएका छन्।

रुसी विदेश मन्त्रालयले सो कदमको विरोध गरिरहेका रुसी भाषा बोलिने क्षेत्रहरुमा दमन भएको जनाएको छ।

मुद्दा

अपदस्थ राष्ट्रपति भिक्टर यानुकोभिच बिरुद्ध अन्तर्राष्ट्रीय अपराध अदालतमा मुद्दा चलाउने पक्षमा संसदले मतदान गरेको छ।

यानुकोभिचमाथि विरोध प्रदर्शनको बेला एक सय भन्दा बढी मानिसको मृत्युको लागि जिम्मेवार रहेको आरोप छ।

यानुकोभिच कहाँ छन् भन्ने कुरा अझै जानकारीमा आएको छैन।

सांसदहरु गृहमन्त्री र महान्यायाधिवक्ता माथि पनि हेगमा मुद्दा चलाउन चाहन्छन्।