ली क्वान यूप्रति श्रद्धान्जली

  • 23 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption तीन दशक सत्ता सम्हालेका लीमाथि सत्तालिप्साको आरोप समेत लाग्ने गर्दथ्यो

विश्व नेताहरुले सिंगापुरलाई संवृद्धिको मार्गतर्फ डो-याउने श्रेय पाएका संस्थापक नेता ली क्वान यूप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामाले ली इतिहासका एक महान व्यक्तित्व भएको बताए।

चिनियाँ राष्ट्रपति सी जीनपिङले भने, "ली एकजना अत्यन्तै सम्मानित राजनेता तथा रणनीतिकार हुनुहुन्थ्यो।"

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले स्वर्गीय ली सबैभन्दा प्रेरणास्पद एसियाली नेताहरुमध्ये एक भएको बताए।

सिंगापुरका 'राष्ट्रपिता' पनि भनिने ली क्व‍ान यूको सोमबार सबेरै ९१ वर्षको उमेरमा निधन भएको थियो।

श्रेय

सिंगापुर जस्तो एउटा सानो बन्दरगाह शहरलाई एक सम्पन्न विश्वकेन्द्र बनाउने श्रेय उनलाई दिने गरिन्छ।

सिंगापुरको संवृद्धिको मार्गचित्र कोर्ने व्यक्तित्वको रुपमा ली क्वान यूलाई सिंगापुरमा निकै सम्मान गरिन्छ।

उनले ३१ वर्षसम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए।

तर सत्ताप्रतिको आशक्तिलाई लिएर उनको आलोचना समेत हुने गरेको थियो।

उनको कार्यकालमा अभिव्यक्ति स्वतन्त्रतामाथि निकै कडाइ गरिएको र विपक्षी नेताहरुलाई अदालतले निशाना बनाउने गरेको बताइन्छ।

शोक

राजकीय सम्मानका साथ आगामी सोमबार उनको अन्त्येष्टि गरिने छ भने एक सातासम्म शोक मनाइने छ।

लीले ब्रिटेन र मलेसियाबाट सिंगापुरलाई स्वतन्त्रता दिलाएका थिए।

तस्वीर कपीराइट AP
Image caption निमोनियाबाट ग्रस्त बनेपछि गत ६ सातादेखि उनी उपचाररत थिए

प्रधानमन्त्री ली सेन लुङको कार्यालयले एउटा विज्ञप्तिमा भनेको छ, “सिंगापुरका संस्थापक प्रधानमन्त्री ली क्वान यूको निधन भएको घोषणा गर्नुपर्दा प्रधानमन्त्री निकै मर्माहत भएका छन्।

वर्तमान प्रधानमन्त्री ली सेन लुङ ली क्वान यूका छोरा हुन्।

प्रधानमन्त्रीको कार्यालयले जेनरल अस्पतालमा स्थानीय समयअनुसार बिहान ३ बजेर १७ मिनेट जाँदा लीको निधन भएको जनाएको छ।

निमोनियाले ग्रस्त भएपछि केही सातादेखि उनी उपचाररत थिए।

ली ले ब्रिटेनको क्याम्ब्रीज विश्वविद्यालयबाट कानुनको उपाधि प्राप्त गरेका थिए।

जोड

चमत्कारी र कहिले क्षमा नमाग्ने व्यक्तित्व भएका लीले पिपुल्स एक्सन पार्टी गठन गरे, जुन पार्टीले सन् १९५९ मा चुनाव जित्यो र उनी पहिलो प्रधानमन्त्री बने।

उनले आफ्नो शासनकालमा अंग्रेजी भाषाको पठनपाठनमा जोड दिएका थिए।

पूर्वाधार र उद्योगधन्दाको विकास गर्न उनले सरकारी तथा विदेशी लगानी भित्र्याउने नीति अपनाएका थिए।

उनको सरकारले स‌िंगापुरमा जथाभावी फोहर फाल्न, चुईंगम चपाएर थुक्नमा पनि प्रतिबन्ध लगाएको थियो।

उनले आफ्नेा देशका मेधावी युवा युवतीहरुको बिहे गराइदिने योजना पनि ल्याएका थिए।

उनको शासनकालमा एउटा गरीब, बन्दरगाह शहर सिंगापुर संसारकै धनी मुलुकहरुमध्ये एक बन्न पुगेको थियो।

बीबीसीसंग कुरा गर्दै सिंगा‌िुरका विदेशमन्त्री के शन्मुगामले भने, "उहाँ सिंगापुरेहरुकालागि (अमेरिकाका पहिलो राष्ट्रपति) जर्ज वाशिङटन र (ब्रिटिश प्रधानमन्त्री) चर्चिलको संयुक्त रुप हुनुहुन्थ्यो।"