दुई पत्रकारहरुको हत्या

  • 26 अगस्ट 2015
पत्रकारहरु तस्वीर कपीराइट WDBJ7
Image caption प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकारहरुमाथि अचानक गोली प्रहार गरिएको थियो

अमेरिकाको भर्जिनिया राज्यमा प्रत्यक्ष रिपोर्टिग गरिरहेका दुईजना पत्रकारहरुको हत्या गरिएको छ।

भिडियो फुटेजहरुमा प्रत्यक्ष कुराकानीका बेला एक महिला पत्रकार पाहुनासंग बोल्दै गर्दा गोलीहरु चलेको आवाज आएको देखिन्छ।

त्यसपछि अन्तर्वार्ताकार चिच्याएको अनि क्यामेरा घुमेर भूईंतिर फर्किएको देखिन्छ।

डब्लुडिबिजे न्युज च्यानलका अधिकारीहरुका अनुसार मारिनेहरुमा २४ वर्षीय रिपोर्टर एलिसन पार्कर तथा क्यामेराम्यान २७ वर्षीय एडम वार्ड रहेका छन्।

मर्माहत

सो टेलिभिजन स्टेसनका महाप्रबन्धक जेफ्रे मार्क्सले सो घटनाबाट आफुहरु मर्माहत भएको बताए।   उनले भने, “आज बिहान पौने सात बजे ब्लुडिबिजेसेभेन मर्निङ कार्यक्रमकालागि प्रत्यक्ष अन्तरवार्ता गरिरहेका बेला हातमा बन्दूक लिएको संभवत एकजना पुरुषले ६, ७ राउण्ड गोली चलाएको थियो। हामीले चिच्याइरहेको आवाज सुन्यौं र क्यामरा भुईंमा खस्यो।“

प्रहरीले ती आरोपी पुरुषलाई इन्टरस्टेट एटी वान हाइवेको उत्तरमा लखेटेका थिए।

भर्जिनिया राज्यका गभर्नर टेरी मकउलिफले सो हमलालाई आतंकवादी नभइ एक आपराधिक घटनाका रुपमा लिइएको बताए।

हमला

स्थानीय रेडियोहरुले सन्दिग्ध हमलाकारीको नाम ४१ वर्षीय भेस्टर ली फ्लानागान भएको जनाएका छन्।

उनी पनि एक टेलिभिजन पत्रकार भएको र केही वर्ष अघि सोही स्टेशनमा काम गरेको बताइएको छ।

उनले 'ब्राइस विलियम्स' को नाममा रिपोर्टिङ गर्ने गर्दथे।

उनले आफ्ना पूर्व सहकर्मीहरु विरुद्ध गालीगलौज गर्नकुा साथै आफुले गरेको हमलाको फुटेज सामाजिक सन्जालहरुमा राखेका थिए।

फ्लानागानले आफ्नै शरीरमा गोली चलाएको र उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृ्त्यु भएको अधिकारीहरुले जनाएका छन्।