तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्रचण्डसंगको विशेष अन्तर्वार्ता

  • 22 सेप्टेम्बर 2015

एकिकृत माओवादीका अध्यक्ष प्रचण्डको कथा अनौठो छ। उग्र माओवादको वकालत गर्दे २५ वर्षभन्दा बढी समय भूमिगत भए। १७ हजार मानिसको ज्यान जानेगरी सशस्त्र युद्धको नेतृत्व गरे। आफ्ना एजेण्डा अघि बढाउन आफ्नै टाउकोको मूल्य ५० लाख रूपैयाँ तोक्नेहरूसँग सम्झौता गरे। गणतन्त्र र संविधानसभाका कट्टर विरोधीहरूलाई पछिपछि हिँडाए। संविधानसभाको चुनाव जिते, पार्टी फुटाए अनि चुनाव हारे तर साम्यावदको स्थापनाबाहेकका १० वर्षे सशस्त्र युद्धका मुख्य लक्ष्यहरु हासिल गरेरै छोडे।

नयाँ संविधान घोषणा भएपछि उनै प्रचण्डसँग बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रले अन्तर्वार्ता लिएका थिए। स्रोता/पाठकको अनुरोधका कारण संविधान घोषणा भएको भोलिपल्ट (असोज ४) गते लिइएको उक्त अन्तर्वार्ताका सम्पादित अंश यहाँ प्रस्तुत छ।

गणतन्त्र, संविधानसभाबाट संविधान, संघीयता र समावेशीता जस्ता तपाईंका मुख्य उद्देश्यहरू हासिल गर्नुभयो, अब तपाईंको आकांक्षा के छ?

केही दिनदेखि सुरक्षाकर्मीहरुले मलाई सुरक्षा खतरा बढेको छ, बाहिर यतायता नजानुस भनेका थिए। मलाई यहाँ (लाजिम्पाट)बाट बालुवाटार, सिंहदरबार अनि बानेश्वर भन्दा यताउति नजान सुरक्षा प्रमुखदेखि लिएर मसँग बस्ने सुरक्षाकर्मीको पनि आग्रह थियो। संविधानसभाबाट संविधान पारित भएको दिन जब म घर आउँदै थिएँ त्यतिखेर म धेरै भावुक पनि भएको थिएँ। मैले यहाँ आएर सबै सुरक्षाकर्मीलाई राखेर भनें कि अब म मरे पनि केही फरक पर्दैन। त्यसकारण मेरो धेरै ठूलो आकांक्षा अब छैन। अब मरे पनि नेपालको इतिहास अगाडि बढ्यो, गणतन्त्र संस्थागत भयो भनें। उनीहरुले होइन सर, तपाईंले यो भन्न मिल्दैन। तपाईं त अझै बढी बाँच्नुपर्छ भने।

तर, सैद्धान्तिक परिवर्तन पो भयो, देशको विकास त भएको छैन नि। तपाईंको मिसन पूरा भयो र?

यो सैद्धान्तिक परिवर्तन या सम्बोधन जे भएको छ यसको उद्देश्य भनेको देशको विकास नै हो। म के मान्छु भने विकासको काम पूरै बाँकी छ। तर यो एउटा पूर्वसर्त थियो।

तपाईंले यो भन्दा अगाडि मैसँग कुरा गर्दा अझै ७/८ वर्ष म मूलधारको राजनीतिमा हुन चाहन्छु भन्नुभएको थियो। अब ७/८ वर्ष तपाईं राजनीतिमा कुन रुपमा रहन चाहनुहुन्छ?

तपाईंले ठीकै ठाउँमा प्रश्न गर्नुभयो। यद्यपि मैले अघि भनेको विषयसँग यसको तादात्म्य अलिकति फरक भएजस्तो देखिए पनि मलाई लाग्छ म ७/८ वर्ष अझै सक्रिय राजनीति गर्न सक्छु र गर्नु पनि पर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेको छ। समावेशी, समानुपातिक थुप्रै आयोगहरु बनेका छन्। ती संरचनाहरु कार्यान्वयन गर्नुपर्छ।

त्यो गर्नाका लागि त तपाईं प्रधानमन्त्री नै बन्नुपर्छ होला नी होइन?

अब निर्वाचनसम्म जाने हो। अर्को नयाँ निर्वाचनद्वारा संघीयता, प्रदेशहरु र स्थानीय निकाय बन्नेछन्। सबै संरचना पूरा भएर विकासको गतिलाई पनि तीव्रता दिनुपर्छ। त्यसका लागि अहिले कुनै पद विल्कुल मेरो दिमागमा छैन।

तपाईंले चाहेको सपना तपाईं बाहिरै बसेर राजनीति गरेर कार्यान्वयन त हुँदैन नी?

एकदम ठीक भन्नुभयो। मैले आजै (सोमबार) मात्रै पनि (टुँडिखेल) मञ्चबाट अपिल गरें। प्रमुख शक्तिहरु मिलेर यो उपलब्धि हासिल भएको छ। यसलाई कार्यान्वयन गर्न र देशलाई विकासतिर लैजानका लागि केही वर्ष हामी मिलेरै जानुपर्छ। अब हाम्रो पार्टी सरकारमा हुन्छ। म बडो प्रष्टसँग भन्न चाहन्छु हाम्रो पार्टी महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा हुन्छ।

अब बन्ने सरकारमा तपाईंहरुको पनि सहभागिता हुन्छ? तपाईंहरु विपक्षमा बस्नु हुन्न?

अहँ। हामी सरकारमा सहभागी नभइकन यो संविधान कार्यान्वयन पनि हुँदैन र आर्थिक विकासको सपना पनि पूरा गर्न सकिँदैन। त्यसकारण हामी सरकारमा हुन्छौं। सरकार सञ्चालनका निम्ति प्रमुख पार्टीहरुको संरचना हुन पनि जरुरी छ। जसले राजनीतिक र नैतिक हिसाबले सरकारलाई एउटा दिशा दिन मद्दत गर्नसक्छ। त्यस्तो संरचना सायद मेरो लागि ठीक हो कि भन्ने मलाई लाग्छ।

बाबुराम भट्टराईजी एकीकृत माओवादीको अध्यक्ष बन्न खुब चाहिरहनुभएको छ भन्ने चर्चा त छँदैछ, तपाईं ७/८ वर्ष राजनीतिमा सक्रिय रहने फेरि प्रमुख नेताहरुको अर्को एउटा समूह बनाएर सरकारलाई सल्लाह सुझाव दिने भनेपछि त बाबुरामजीले अहिलेचाहीं अध्यक्षको अपेक्षा नगरे हुने भयो होइन?

हाम्रो पार्टीको केन्द्रीय समितिमा अब पार्टी कसरी लैजाने, नेतृत्व हस्तान्तरण कसरी गर्ने भन्नेबारेमा मैले प्रस्ताव पेश गरेको छु। त्यसमाथि छलफल हुन बाँकी छ। म सक्रिय राजनीतिमा लाग्नको लागि पार्टीको अध्यक्ष भइनै राख्नुपर्छ भन्ने छैन।

तपाईं प्रधानमन्त्री भइसकेको मान्छे, पार्टी यत्रो समयसम्म हाँकेको मान्छे, पार्टीको अध्यक्ष नभए पनि म मूलधारको राजनीतिमा सक्रियतापूर्वक योगदान पुर्याउँछु भन्ने त अलि आदर्शवादी कुरा भएन र?

कहिलेकाहीं के हुँदोरहेछ भने नेतृत्वले राष्ट्र, जनता र दुनियाँकै लागि राम्रो काम गर्दै गयो भने औपचारिक पद नेताका अगाडि साह्रै सानो लाग्ने ठाउँमा पनि पुग्न सकिंदोरहेछ। नेताहरु त्यो भन्दा धेरै माथि हुने पनि ठाउँ आउँदो रहेछ। हामीले विश्वमा धेरै त्यस्तो देखेका छौं। एउटा वैचारिक ‘अथोरिटी’ भयो र पार्टीले त्यसखालको वातावरण बनायो भने अध्यक्ष पद मेरा निम्ति अब महत्वपूर्ण छैन।

तपाईंहरुले एकताका हामी गान्धी हुने, मण्डेला हुने भनेकै हो। त्यसपछि सत्ताको संघर्ष गरेकै हो? त्यसो हुनाले पत्याउन अलिकति गाह्रै होला नी?

शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया नेपालमा पछिल्लो चरणमा अगाडि आए। यी दुईवटै प्रक्रिया सफल नहुँदासम्म हामीले चाहेर पनि मण्डेला र गान्धी हुने स्थिति हुँदैनथ्यो। हामी त्यहाँ मुछिनै पर्थ्यो। तर मैले यसो भन्दै गर्दा छाडिनै हाल्छु भनेको पनि होइन।

बाबुरामजीले संविधान घोषणा हुने दिन अब म सत्ताको खेलमा लाग्दिन, नयाँ शक्तिको गठनमा लाग्छु भने। तपाईंलाई उनले पार्टी छाड्ने संकेत दिएका छन्?

त्यस्तो कुराकानी हामीबीच भएको छैन। उहाँले नयाँ शक्तिको कुरा त धेरै पहिल्यैदेखि गरिराख्नु भएकै छ। हाम्रो संगत ३० वर्ष लामो छ। हामी २०४१ सालदेखिसँगै छौं।

त्यतिबेला तपाईं संविधानसभाको विरोध गर्नुहुन्थ्यो रे भनेर पनि लेखेका छन् उनले?

मसँग त यस विषयमा केही कुरा भएको छैन। म संविधानसभाको विरोधी होइन। संविधानसभा परिवर्तनकारी हुनुपर्छ यथास्थितिवादी हुनुहुँदैन भन्ने मेरो बुझाइ थियो। मलाई लाग्छ त्यो बुझाई अहिले पनि सही हो।

अरु विषयमा पनि बाबुरामजी निकै आलोचनात्मक रुपमा प्रस्तुत हुनुभयो, त्यो पनि संविधान आउने दिनमा?

यो चाहीं स्वाभाविक देखिँदैन। मलाई लाग्छ बाबुरामजीजस्तो ‘उचाई’ को नेताले संविधान घोषणा हुने बेलामा त्यस्तो भन्नुहुँदैन थियो। उहाँलाई के भएको छ भन्ने बारे हामी बसेर छलफल गर्न पाएका छैनौं। उहाँले त्यस्तो लेख्नु, बोल्नु या आचरण गर्नु स्वाभाविक जस्तो मलाई लाग्दैन।

छोडेर जान खोजेर हो कि?

त्यो कुरा त आउने दिनले प्रष्ट पार्ला। तर म के भन्न चाहन्छु भने छोडेर कहीं गएर बाबुरामजीको भलो हुँदैन। यो राष्ट्रको पनि भलो हुँदैन। हाम्रो पार्टीको पनि भलो हुँदैन। बाबुरामजीमा केही विशेषता छन्। तर फेरि म असाध्यै नजिक बसेको हुनाले (मलाई थाहा छ) बाबुराम धेरै जटिल मान्छे पनि हो। उनलाई मैले ३० वर्षदेखि झेलेको छु। अर्को कोही मेरो जति नजिक भएर एक वर्ष बसेको हेर्न मन छ मलाई।

खुशीयाली सभामा (असोज ४ गते) पनि उहाँ उपस्थित हुनुभएन?

उहाँ हुनुपर्थ्यो। नारायणकाजी पनि आउनुभएन कि भन्ने लागेको थियो। तर उहाँ अर्को दिर्घामा बस्नुभएको रहेछ।

तपाईंले खुसियाली सभामा बोल्दाखेरि भारतलाई तिमीहरुले हाम्रो स्वतन्त्रताको सम्मान गर, अनि हामी तिमीहरुको स्वतन्त्रताको सम्मान गर्छु भन्नुभयो। प्रधानमन्त्री मोदीको विशेष दूत आएर भेट्दा के भन्नुभयो?

दिल्ली जाँदाखेरि मैले त्यहाँका सबै नेताहरुसँग र प्रधानमन्त्री मोदीसँग पनि यो कुरा भनेको थिएँ। हामी असल मित्र हुन चाहन्छौं। तर हामीलाई तपाईंहरुले जे भन्यो त्यही मान्ने ‘यसम्यान’ बनाउन खोज्नुभयो भने माफ गर्नुस् त्यो सकिँदैन भनेको थिएं। हामीलाई हाम्रै राष्ट्रको बढी माया हुन्छ। तपाईंहरुलाई तपाईंकै राष्ट्रको बढी माया हुन्छ। मित्रले तपाईंको ‘चासो’ लाई सम्बोधन गर्नसक्छ। ‘यसम्यान’ले कहिल्यै पनि सक्दैन। यो मैले खुलेर भनेको कुरा हो।

अस्ती मोदीको दूत आउँदा के भन्नुभयो?

उहाँ निकै नै कडा रुपमा प्रस्तुत हुनुभएको थियो।

के भने कडा रुपमा?

तपाईंहरुले सबैलाई समेटेर संविधान घोषणा गर्नुभएन भने हामी समर्थन गर्दैनौं, गर्न सक्दैनौं भन्नुभयो। हामीले समर्थन नगरेपछि अरु दुनियाँले गरेर केही अर्थ हुँदैन भन्ने कुरा उहाँले गर्नुभयो।

तपाईंले सोध्नुभएन तिमीहरुको देशमा संविधान आउँदा कति प्रतिशतले समर्थन गरेको थियो भनेर?

मैले त्यसरी चाहिं प्रतिवाद गरिन। मैले के मात्रै भनें भने तपाईंले गम्भीर कुरा भन्नुभयो। यस्तो कुरा भन्न या त तपाईं १५ दिन अगाडि आउनुपर्थ्यो या १५ दिन पछि आएर भन्नुपर्थ्यो। अहिले आएको समय त्यति मिलेको लागेन भनेर प्रष्टसँग भनें। अरु प्रतिवाद धेरै गरिनँ।

तपाईंले कुटनीतिमा सम्मानको कुरा गर्नुभयो। तर तपाईंले भारतीय दूतलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नुभयो?

त्यस्तो त हाम्रो यहाँ वास्तवमा कसैले भनेन पनि। मसँग पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुरामजी हुनुहुन्थ्यो। तर परराष्ट्रको प्रतिनिधि राख्ने भन्ने चाहीं त हामीकहाँ झण्डैझण्डै परम्परा नभएजस्तै भएको छ।

तर, तपाईं प्रधानमन्त्री भइसकेको मान्छे। तपाईंलाई थाहा हुनुपर्ने हो नी कुटनीतिमा यसरी विदेशी दूतसित भेट्दा या कुनै नेतासँग भेट्दा पहिला परराष्ट्रको ब्रिफिङ लिनुपर्छ र परराष्ट्रको प्रतिनिधि राख्नुपर्छ भनेर?

तपाईंले जुन कुरा उठाइदिनुभयो। यो कुरा सही हो। अब संविधानसभाबाट संविधान घोषणा भएको, नयाँ प्रक्रिया सुरु भएको सन्दर्भमा यो ‘आचार संहिता’ पालना हुनुपर्छ भन्ने म ठान्छु।

तर अहिले नै एकजना दूतलाई भेट्दाखेरि भूतपूर्व प्रधानमन्त्रीले कुटनीतिक मर्यादा पूर्णरुपमा पालना नगरेको परस्थितिमा भोलि चाहीं फेरि तपाईंहरुले त्यो मर्यादा कायम गर्नुहोला र एकअर्काको सम्मान गर्नुहोला भनेर कसरी विश्वास गर्ने?

मैले भनिहालें हामी एउटा युगबाट अर्को युगमा गएका छौं र हामीले हाम्रो परम्परा अथवा प्रचलनलाई बदल्नै पर्छ। हामीले एकअर्काको सम्मान गर्ने पद्धति बसाल्नैपर्छ।

तराईमा धेरै ठाउँहरुमा निकै विरोध भइरहेको छ। तराई केन्द्रित दलका नेताहरुले यो संविधान जलाउन पनि थालिसके। यो स्थितिमा भारतको पनि सहयोग नहुने देखियो। अब तपाईंहरु कसरी अघि बढ्नुहुन्छ?

मैले आज (सोमबार) टुँडिखेलमा सम्बोधन गर्दा पनि भनें तराईमा थारुहरुको या आदिवासी जनजातिहरुका असन्तुष्टिलाई सम्बोधन गर्ने ठाउँ संविधानले दिएको छ। हामी प्रमुख राजनीतिक दलहरुले एउटा राजनीतिक प्रतिबद्धताको रुपमा पनि त्यसलाई स्पष्ट रुपमा सम्बोधन गर्ने संकल्प गरेका छौं। अहिले मधेस केन्द्रित दलका केही साथीहरुले जे भन्नुभएको छ हाम्रो यो पूरा भएन, त्यो पूरा भएन भनेर। त्यो मात्रै पूरा नहुने होइन, प्राप्त भएका सबै उपलब्धि पनि गुम्न सक्ने खतरा पैदा भएको कुरामा उहाँहरुसँग पनि मैले पटकपटक कुरा गरेको छु। साँचो कुरा भनौं, मधेस केन्द्रित दलका नेता साथीहरुले कोठामा एक्लै बसेर कुरा गर्दा हामीलाई अघि बढ्नुस्, संविधान बनाउनुस् हामीलाई त अहिले अप्ठेरो छ जे बनाए पनि समर्थन गर्न सक्दैनौं किनकि हामीले समर्थन गर्दा हाम्रो त्यहाँ (तराईमा) प्रभाव घट्छ, एकदमै उग्र भएर बोल्नेहरु छन् त्यसकारण तपाईंहरु संविधान बनाउनुस् हाम्रो अलिअली आलोचना रहन्छ तर अन्ततः ठीकै हुन्छ भन्ने साथीहरु पनि हुनुहुन्छ।

उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता नेताहरुले पनि त्यसो भने?

नाम म अहिले लिन चाहन्न। ती भन्दा परिपक्व नेताहरुले भन्नुहुन्छ हामीलाई।

महन्थ ठाकुर?

नाम नलिइदिनुस् न अहिले ‘प्लिज’। त्यति भनेपछि तपाईंले बुझ्नुभयो। नाम लिइदिनुभयो भने अप्ठेरो हुन्छ नी। तर उहाँहरुका समस्या के छन् भने त्यहाँ अर्का एकथरि उग्रवादी खालका छन्। अलग्गै बनाउनुपर्छ भन्ने खालका कुरा गर्नेहरु पनि छन्। त्यहाँ भ्रम पर्ला भनेर उहाँहरुले आफ्नो ‘पोलिटिकल स्पेस’ का निम्ति अहिले समर्थन गर्न गाह्रो परेको कुरा मैले पनि बुझेको छु।

तराईमा पहिले धेरैले यो कुरा गर्दैनथे। आजभोलि विस्तारै कुरा हुन थालेको छ। निरन्तरको अस्थिरता र कसैकसैले अझ विखण्डनको कुरा पनि गर्न थालेका छन्। त्यो खतरा देख्नुभएको छ?

म २/३वटा बुँदामा भन्न चाहन्छु। पक्कै पनि एकथरि तत्वहरु जसको मधेसी जनतामा कुनै प्रभाव छैन उनीहरु कहीं न कहीं तराईलाई विखण्डन गराउने सम्मका कुरा गरेर हिँडेका छन्। दोश्रो, मधेशी जनता विखण्डनको पक्षमा छैनन् भन्ने कुरामा म धेरै गहिरो गरी विश्वस्त छु। मधेसी जनता ७/८ सालदेखि थुप्रै क्रान्तिकारी खालका किसान संघर्षहरु, वर्ग संघर्षहरु गरेका जनता हुन्। नेपाल राष्ट्रप्रतिको देशभक्ति भनौं न नेपालप्रतिको निष्ठा मधेसी जनताको धेरै माथि छ। त्यस कारण मधेसी जनतामा विखण्डनको कुनै प्रभाव पर्छ, साथ दिन्छन् भन्ने मलाई पटक्कै लाग्दैन। त्यसकारण मैले के भनें भने विखण्डनको कुरा गर्नेहरु मधेसी जनताका निम्ति आत्मघाती हुन् र त्यो राष्ट्रघात पनि हो।

तर भारतले समस्या सिर्जना गरिदिने सम्भावना देख्नुभएको छ कि छैन सिमावर्ती क्षेत्रमा? किनभने उसले जुन किसिमको चीसो प्रतिक्रिया दिइराखेको छ। त्यसबाट समस्या होला कि नहोला?

म अलिकति चिन्तित त्यहाँनेर छु। नेपाली जनतालाई बढो गम्भीर र जिम्मेवारीपूर्वक भन्नुपर्छ भन्ने मलाई लाग्छ। अस्ती विदेश सचिव जयशंकर आउँदा एउटा विषयमा उहाँले खुला बोर्डर (सीमा) भएको हुनाले भारतलाई अप्ठेरो छ। बोर्डरमा हिंसाका गतिविधि भयो भने त्यसको असर यूपी, बिहारमा पर्छ त्यसकारण हामीले चासो लिनुपर्छ भनेर उहाँले खुला बोर्डर, खुला बोर्डर भनेर भन्नुभयो। मैले एउटा शब्द भनेको थिएँ। तपाईंले बोर्डरको कुरा अलि बढी त गर्नुभयो। त्यसको त एउटा कारण होला। तर ‘बोर्डर’ होइन ‘ब्रोडर’ (वृहद) नेपालसँगको सम्बन्धलाई बढी हेर्नु उचित होला। सीमाको मात्र होइन बृहद् नेपालको हित र बृहद् नेपालसँग भारतको सम्बन्धलाई कसरी राम्रो बनाउने भन्ने कुराले दुवै देशको हितलाई बढी प्रतिनिधित्व गर्ला भनेर भनें। आज बिहान (सोमबार) मात्रै भारतीय राजदूत फेरि अपरझट् दिल्ली जाँदै हुनुहुन्छ रे भन्ने थाहा पाएपछि मैले राजदूतलाई तपाईं जाँदै हुनुहुन्छ भन्ने सु्नें, एकछिन म कुरा गर्न चाहन्छु भनेपछि उहाँ यहाँ आउनुभयो। मधेसमा जो समस्या भएको छ त्यसबारे हामी वार्तामा ल्याउन तयार छौं भनें। त्यसमा भारतले पनि सदभाव राखिदिनुपर्यो। मोदीजीले बोलाएर तपाईँ जाँदै हुनुहुन्छ भने प्रधानमन्त्री मोदीजीलाई मेरो यो कुरा राखिदिनुपर्यो कि हामी वार्ताद्वारा मधेसको, थारुको या तराईको समस्या समाधान गर्नमा केन्द्रित छिट्टै हुन्छौं भनेर भनें।

के भन्नुभयो उहाँले?

उहाँले हुन्छ म यो कुरा भन्छु भन्नुभयो।

प्रचण्डजी, देशको मूल दस्तावेज परिवर्तन भयो। नक्सा परिर्वन भयो, तपाईंहरुजस्ता नेताको राजनीतिक संस्कार परिवर्तन हुने कहिले?

मलाई लाग्छ मानिसहरु कमीकमजोरी विहीन जन्मिएका हुँदैनन्। मानिस सीमा र कमजोरीसहितै आउँछ। उसले त्यसैबाट शिक्षा लिएर अगाडि बढ्ने प्रयत्न गर्छ कि गर्दैन भन्ने सबभन्दा ठूलो विषय हो ।