शशांक कोइराला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘सबै पछिल्ला परिवर्तनहरुको समीक्षा गरिनुपर्छ’

  • 1 मार्च 2016
नेपाली कांग्रेस भावि नेतृत्व चयनको संघारमा छ। नेतृत्वको निम्ति अहिलेसम्म देखिएका आकांक्षीहरुको नजर विपी पुत्र शशांक कोइरालामाथि रहेको देखिएको छ। महाधिवेशन नजिकिँदै गर्दा पनि उनी भने कुन रुपमा प्रस्तुत हुने भन्नेबारे मौन रहेका छन्।महाधिवेशनको यही संघारमा उनै कोइरालासँग बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रले विशेष अन्तर्वार्ता लिएका थिए। सोमबार साँझ बजेको उक्त विशेष अन्तर्वार्ताको सम्पादित अंश यहाँ राखिएको छ।

तपाईं पार्टी सभापतिमा उठ्ने कि महामन्त्रीमा?

नेपाली कांग्रेसको महाधिवेशन हुँदै गर्दाखेरि मैले प्राथमिकता कुन विषयलाई दिएको छु भन्दा यो १३ औं महाधिवेशन एउटा समय हो- पुनरावलोकन, पुनर्मूल्यांकन र पछाडि फर्किने। हामीले अहिले सोच्नुपर्छ- ७० वर्षको इतिहासमा टेकेर हामीले त्रुटिहरु के गर्यौँ र हामीले कुन बाटो अब लिनुपर्ने हो। मेरो चिन्ता भनेको अहिले पार्टीकै लागि हो। यो महत्वपूर्ण होइन कि को पदमा आउँछ। पार्टी भनेको त एउटा माध्यम मात्रै हो। हाम्रो दृष्टि त राजनीतिक स्थिरता यहाँ विकास, प्रजातन्त्र फस्टाओस् भनेर न राजनीतिक गरेको हो। सुशील कोइराला दोषी ठान्नुस् अथवा गिरिजाबाबु दोषी भन्ठान्नुस् त्यो आफ्नो ठाउँमा छ तर अहिलेको अवस्थामा यसलाई परिवर्तन गर्नुपर्छ भन्ने मेरो भनाई हो। त्यसैले मेरो उम्मेदवारी भन्दा पनि नेपाली कांग्रेस कता जान्छ त्यो महत्वपूर्ण हो। दोस्रो कुरो- हामी अहिले नयाँ संविधान अन्तर्गत आइसकेका छौँ। अब त्यो संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने? यी एकदम गहन विषयहरु छन् जुन महाधिवेशनभन्दा पहिलेनै भइसक्नुपर्ने हो।

अब यसको लागि तपाईं आफैं सभापतिमा उठेर पार्टीलाई अहिले तपाईंले भने जस्ता परिवर्तनका निम्ति नेतृत्व दिने सम्भावना चाहिं कतिको छ?

आफूलाई त लाग्छ मसँग प्रष्ट धारणा छन्, पार्टीलाई कुन दिशामा लिएर जाने भनेर। दोस्रो, यो देशलाई कुन दिशातर्फ लिएर जाने भन्ने कुरा।

तर धेरै कार्यकर्ताले तपाईंनै अगाडि बढ्नुस् भनेर आग्रह गरिरहेका छन् भन्ने खबरहरु बाहिर आइरहेका छन् नि?

होइन, त्यो त सबैलाई भन्छन् हेर्नुस्। कार्यकर्ताले त शेरबहादुर (देउवा) जीलाई पनि भन्छन्, रामचन्द्र (पौडेल) दाइलाई नि भन्छन्, प्रकाशमान (सिंह) जीलाई, (कृष्णप्रसाद) सिटौलाजीलाई भन्छन्। सबैलाई भन्छन्। हुन त धेरैले मलाई पनि आएर भनेका छन्। मलाई महामन्त्रीका निम्ति शेरबहादुजी, रामचन्द्र दाइ, सिटौलाजी र सुजाता (कोइराला) जीले पनि भन्नुभयो। प्रकाशमानजीले त भनिनैरहनुभएको छ। जब उम्मेदवार बन्ने सबै नेतालाई म महामन्त्रीका लागि स्वीकार्य छु भने म सभापतिकै लागि किन नलड्ने भन्ने कुराहरु पनि छन्।

तपाईंले अघि नेपाली कांग्रेसले आफूलाई पुनर्समीक्षा गर्नुपर्छ त्यसका चुनौतीहरु छन् अहिलेको संविधानले जुन परिवर्तन ल्याए त्यसलाई ग्रहण गर्ने कि नगर्ने यो सबैकुरा बुझेको नेतृत्व हुनुपर्छ भनेर भन्नुभो। अहिलेको संविधानलाई ग्रहण गर्ने कि नगर्ने भन्दा जवाफ के हुनसक्छ?

कुनैपनि राष्ट्रको इतिहास हेर्यो भने एउटा गम्भीर मोडमा तपाईंले के निर्णय गर्नुहुन्छ त्यसले राष्ट्रलाई डोर्याउने हो, होइन र? भर्खरै आएको संविधान हो जुन हामी सबैले स्वीकारी सकेका छौँ। त्यो संविधानलाई टेक्ने हो भने पहिलो त हामीले एक किसिमको विकेन्द्रित राज्यको अवधारणा राखेका छौँ। एकैरातमा परिवर्तन हुँदैन। तपाईंलाई एउटा मार्मिक उदाहरण दिन्छु। मलाई सम्झना छ। मैले शिक्षण अस्पतालमा काम गर्दै गर्दाखेरि एकजना बुढा बालाई ‘बाबा तपाईंको घर कहाँ हो?’ भनेर सोध्दाखेरि ‘पूर्व १ नम्बर’ भनेका थिए। मलाई डर के छ भन्दाखेरि कांग्रेस अहिले पनि ‘पूर्व १ नम्बर’ कै मनस्थितिमा छ कि! यो परिवर्तन ग्रहण गर्न गाह्रो हुन्छ कि!

भनेको अहिलेको यो जुन संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको सोच छ, त्यो ग्रहण गर्न गाह्रो हो?

मैले भन्न के खोजेको हो भने तपाईंको अहिलेको निर्णयले तपाईंको (भाविष्यलाई) प्रभावित पारिरहेको हुन्छ। अहिले पनि प्रजातन्त्र/लोकतन्त्र जे भन्नुस् अहिले पनि धरापमा छ। तपाईं ग्यारेण्टी दिन सक्नुहुन्छ, ०१७ साल पुस १ गते (जननिर्वाचित सरकार अपदस्त गर्ने काम) फेरि दोहरिन्न भनेर? के हामीले त्यति ग्रहण गरिसकेका छौँ, लिइसकेका।

तर २०१७ साल पुस १ गते जस्तो त कसरी होला? किनभने अब राजतन्त्रनै छैन?

उत्तरः होइन, राजतन्त्रकोमात्र कुरा हो र? यहाँ त कुरा के आउँछ भने भोलि अप्रिय घटना भयो अथवा दुर्घटना भयो भने भोलि केही कारणबश आपतकालीन अवस्थाको घोषणा हुन सक्दैन र? हामीले अहिलेसम्म लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई लिएका छौँ र? म त देख्दिनँ। अहिले पनि हामी यस्तो तरल अवस्थामा छौँ, अहिलेपनि हाम्रो लोकतान्त्रिक मूल्य र सिद्धान्तमाथि प्रश्न उठिरहेका छन्।

तपाईंको भित्र मनमा कतै तपाईंका बुबा बीपी कोइरालाले लिएको ठिक थियो र यो बीचमा जुन बाटो बदलियो त्यसले यो देशको हित गर्दैन भन्ने किसिमको सोच भित्र मनमा परिराखेको हो?

मेरो भनाई के हो भने म पछाडितिर फर्किएर हेर्नुपर्छ। नितान्त आवश्यकता हो राष्ट्रका लागि। र, अगाडिको बाटो हेर्दाखेरि प्रमुख कुरा के हो भने हामीले यहाँ लोकतन्त्र/प्रजातन्त्र जे भन्नुस् यसलाई जोगाउने कि नजोगाउने? के हामी सबै २ करोड ८० लाख जनताले स्वीकारेका छौँ र स्वीकारेका छौँ भने हाम्रो व्यवहार त्यो किसिमको छ, हाम्रो राजनीतिक व्यवहार, हाम्रो सामाजिक व्यवहार त्यो किसिमले भईरहेको छ? भन्ने प्रश्न छ कि छैन, रवीन्द्रजी? तपाईंलाई नै प्रतिप्रश्न गर्दैछु।

तपाईंले केही समयअघि मसँगैको अन्तर्वार्तामा ‘अहिलेका परिवर्तन धरापमा छन्, यसलाई हामीले समीक्षा गर्नुपर्छ। लोकतन्त्र पनि धरापमा पर्नसक्छ। त्यसो हुनाले विचार गर्नुपर्ने स्थिति छ’ भन्दा तत्कालीन राष्ट्रपति रामवरण यादव र तत्कालीन पार्टी सभापति सुशील कोइरालाले तपाईंलाई बोलाएर ‘के बोल्या त्यस्तो? त्यस्तो पनि बोल्ने हो?’ भनेको कुरा बाहिर आयो। तर तपाईंको त्यो चिन्ता त अझै पनि कुराकानीमा प्रष्टै झल्किन्छ नि?

मलाई त चिन्ता छ, हेर्नुस्। नयाँ संविधान त आयो। बहुमत मात्र होइन अत्यधिक बहुमतले आयो। यो परिवर्तनलाई हामीले ग्रहण गर्ने, कहिलेसम्म गर्ने, कति समय लाग्ने हो? ग्रहण गर्ने कि नगर्ने? कांग्रेसको महाधिवेशन गर्दै गर्दा पछाडि एकचोटि फर्केर हेर्नैपर्छ। त्रुटिहरु के-के हुन्? आउँदो धरापलाई पनि हामी अहिलेदेखि बुझ्न सक्दैनौ र? अहिले पनि डर छ किनभने अहिले पनि राष्ट्र स्थिर देख्दिन। तपाईंले प्रश्न राख्दै गर्दा मलाई सम्झना आयो। मलाई लाग्छ, गिरिजाबाबुको सबभन्दा राम्रो भाषण २०४६ सालको आन्दोलन सफल भएपछि को हो। उहाँले ‘यो जित सबैको हो’ भन्दाखेरि हुटिङ भएको थियो। बोल्न पनि दिएनन्।

भनेको बीपी कोइरालाले भनेजस्तो राष्ट्रिय मेलमिलाप नीतिमै फर्किनुपर्छ र चाँडै नै समीक्षा हुनुपर्छ भन्ने तपाईंको धारणा?

मेरो एकदम प्रष्ट धारणा छ- अहिले पनि प्रमुख भनेको राष्ट्रियता नै हो। हाम्रो भूराजनीतिक वास्तविकता के हो भने, यो राष्ट्रियता जोगाउनका लागि हामी एक हुनैपर्छ। विकल्प छैन।

तर देश धर्मनिरपेक्ष भइसक्यो, गणतन्त्र भइसक्यो। भनेपछि सबैको धारणा समेट्नै पर्छ। र, मेलमिलापकै बाटोबाट फेरि अगाडि बढ्नुपर्छ। भन्न खोज्नुभएको?

मलाई त त्यही लाग्छ, हेर्नुस्। बीपीले दिएको (विचार) राजनीतिक मात्र थिएन। पहिलो हाम्रो कदम भनेकै राष्ट्रियता हो। यो राष्ट्रियता जोगाउन सकेको खण्डमा न हामी जोगिने हो। नत्र त हाम्रो यत्रो ठूलो संस्कार र संस्कृति मासिने? भूराजनीतिक यथार्थ नै त्यही हो। बीपीले त्यो बुझेर न भन्नुभएको थियो। त्यो राष्ट्रियतामा टेक्दै गर्दा १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको ७० वर्षको इतिहास पुन: एकपटक हेर्नुपर्यो।

भनेपछि, यो १३औं महाधिवेशनमा धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता सबैको एकचोटि खुलारुपमा समीक्षा हुनुपर्यो भन्न खोज्नुभएको हो?

हामीले पुनरावलोकन त गर्नुपर्छ। तर त्यसैको निहुँमा फेरि यहाँ अस्थिरता चाहिँ आउनुभएन। धर्म, संघीयता वा अरु विषयबारे पनि प्रश्न छन् नि! तर हामीले यो स्वीकारेर, ६०१ (सांसद) ले, विभिन्न दलले स्वीकारेर अगाडि बढ्ने हो भने दलहरुमा पनि त सुधार आउनुपर्यो। यो बाटो जाने वा पछाडि जाने? पछाडि जाँदा के बिग्रियो र? अहिले अगाडि जाँदा पनि के हासिल भएको छ र? मेरो पहिलो चिन्ता भनेको राष्ट्रियता हो, यो राष्ट्र हामीले जोगाउनैपर्छ।

राष्ट्रियता, राष्ट्रियता भनेर तपाईंले बारम्बार भन्नुभयो। त्यसलाई खतरामा पर्नबाट जोगाउने बाटो चाहिँ के हो जस्तो लाग्छ?

हाम्रो भूराजनीतिक वास्तविकता नै राष्ट्रियतामा आधारित छ। पुनर्विचार गर्ने एउटा कुरा हो, गर्नु पनि पर्छ, सोच्नु पनि पर्छ। तर मैले पटकपटक भन्ने गरेको जस्तै पार्टी हाम्रो साध्य होइन, साधन मात्रै हो।

तपाईंले यो भूराजनीतिको कुरा बारम्बार ल्याउनुभयो। भूराजनीति भनेपछि स्वाभाविक रुपमा भारत र चीनको कुरा आउँछ। उनीहरुको त्यस्तो कुनै भावना बुझ्नुभएको छ जसले तपाईंले अलिकति चिन्तित तुल्याएको छ?

हामीले पहिले आफ्नो घरको कुरा गर्नुपर्यो। हामीले यो यथार्थ बुझ्नुपर्यो कि यो विषय भारत र चीनमा निर्भर गर्दैन, हामीमा गर्छ।

तपाईंको कुरा सुन्दा आफ्ना बाबु बीपी कोइरालाको राजनीतिक दर्शन र मार्ग पुनर्स्थापित गर्न भित्रै मनबाट धेरै उद्दत हुनुहुन्छ जस्तो देखिन्छ नि!

आफूलाई लागेको र मैले बुझेको राजनीतिक शास्त्रका कुरा गर्दा पनि बीपीले दिएको (दर्शन) त सत्य नै हो। अहिले बीपीको समयका केही व्यक्ति मात्रै होलान् तर बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक छ—राष्ट्र, समाजवाद वा प्रजातन्त्र जुन सुकै कुरामा होस्।

तर उनले राष्ट्रियताका लागि राजाको र मेरो घाँटी जोडिएको छ भनेर भन्थे।

उहाँले त्यो बेला भन्नु भएकै हो। राष्ट्र बचाउनुपर्यो। उहाँले त्यत्रो संघर्ष गरेको, बन्दुक उठाएको होइन र? एउटा अवस्था कस्तो आयो भने, राष्ट्र नै खतरामा छ भने त मैले फर्कनुपर्यो, मलाई फाँसीको सजाय हुनसक्थ्यो तैपनि म फर्कन्छु भनेर एउटा अठोट लिएर उहाँ आउनुभएको हो नि।

तपाईंले महाधिवेशनको मुखैमा यस्तो कुरा गरिराख्दा, अनि तपाईं सभापति र महामन्त्रीको आकांक्षी भइरहेको स्थितिमा यस्तो कुरा गर्दा भोट नपाइला, हारिएला भन्ने लागेको छैन?

मैले आमनिर्वाचनमा पनि र पार्टीको निर्वाचनमा भोटको राजनीति गरेको छैन। तर आफ्नो विचारबाट म पृथक हुँदिन। मलाई भोट बुझेर वा नबुझेर दिन्छन्, दिदैंनन्, त्यो महत्वपूर्ण होइन। मैले मेरो राजनीतिक धरातल बुझाउनैपर्छ। महत्वपूर्ण कुरा त, देशले हार्नुभएन। म हार्दै गर्दा देशले हार्नुभएन। भोलि गएर कसले जित्छ त्यो केही समयका लागि महत्वपूर्ण होला। तर त्यो अन्तिम लक्ष्य त हाम्रो रहनैपर्यो नि।