dr sundar mani dixit mankari doctor
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा. सुन्दरमणि दीक्षित

  • 19 अगस्ट 2016

'मनकारी डाक्टर' बीबीसी नेपाली सेवाको नयाँ साप्ताहिक श्रृंखला हो। यसमा हामी आफ्नो पेशागत दायराभन्दा बाहिर गएर समाजलाई योगदान पुर्याएका डाक्टरहरुसँग कुराकानी गर्छौं। पहिलो श्रृंखलामा हामीले डा. सुन्दरमणि दीक्षितसँग कुराकानी गरेका छौं।

झण्डै पाँच दशकअघि एमडी गरेर नेपाल फर्केपछि विरामीको उपचार गर्दै आएका सुन्दरमणि दीक्षित दक्ष डाक्टर त हुँदै हुन् उनले आफ्नो पेशागत दायरा बाहिर निस्केर थुप्रै परोपकारी कामहरु गरेका छन्। बीर अस्पतालबाट काम शुरु गरे, त्यहाँ जे गरे झण्डै २५ वर्षसम्म सबै नि:शुल्क गरे। आफ्नो निवास परिसरमा फरक खालको क्लिनिक चलाउँछन्, चलनचल्तीको शुल्कको तुलनामा आधा पनि लिंदैनन्। त्यसरी जम्मा हुने सबै रकम कल्याणकारी काममा लगाउँछन्। प्रस्तुत छ, डा. दीक्षितसँग रमा पराजुलीले गरेको कुराकानीको सम्पादित अंश।

डाक्टर बनेर फर्केर आउने वित्तिकै बीर अस्पतालमा किन नि:शुल्क काम गर्नुभएको?

२०२६ सालमा म काठमाण्डू फर्केर आएँ। काम गर्न राजा महेन्द्र समक्ष बिन्तिपत्र हालेँ, “सरकार म फर्केर आएको छु; देश र नरेशको सेवा गर्न पाउँ।” त्यहाँबाट तुरुन्त प्रधानमन्त्रीलाई भेट्नु भन्ने खबर आयो। प्रधानमन्त्रीलाई भेटेपछि स्वास्थ्य मन्त्रीलाई भेटेँ। त्यसबेला राजाको डाक्टर मृगेन्द्र राज पाण्डे, सँधै राजासँग हिँड्न पर्ने भएकाले सहयोगी चाहिएको थियो। म एम डी सकेर आएको थिएँ। उनीहरुलाई डाक्टर र मलाई काम चाहिएको थियो। त्यसैले निशुल्क गरेँ।

त्यतिबेला तलब कति थियो? किन लिनुभएन?

तपाईँले अचम्मको कुरा सोध्नुभयो। त्यसबेलामा मलाई तलब लेउ भनेर कसैले पनि भनेन। म मेरो बाबाआमासँग संयुक्त परिवारमै बस्थेँ। फेरि रानी जगदम्बाकुमारी देवी - जो मेरो बाबाको मालिक हुनुहुन्थ्यो - उहाँले हामीलाई सबै सहयोग गर्नुभएको थियो। पैसा कमाउनेतिर त म लाग्दै लागिन।

धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमुख भएर काम गर्दाको पैसा के गर्नुभयो?

लोकतन्त्र आइसकेको थियो। एमालेको सरकार बनेपछि उनीहरुले मलाई जबर्जस्ती धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाए। त्यहाँ सत्र महिना काम गर्दा तलब लिएँ तर अन्तिम तीन महिनाको तलब औपचारिक रुपमा त्यहिँका कर्मचारीलाई बाँडेर आएँ।

तपाईँको क्लिनिकमा बिरामी हेरेर उठ्ने पैसा पनि दान गर्नुहुन्छ भन्ने सुनिन्छ, हो?

रानी जगदम्बा कुमारी देवी मार्फत मेरा बाबाआमालाई र उहाँहरु मार्फत मलाई खान लाउन पर्याप्त छ। धेरै पैसा चाहिन्छ भन्ने मलाई छैन। मसँग तीनवटा मोटर छ। मँसँग काठमाण्डूमा दुईटा घर छ। भरतपुरमा घर छ। देवघाटमा घर छ। म जति भाग्यमानी कोहीपनि छैन यहाँ। मलाई करोडौं, अरबौं, खरबौं रुपैया कमाउनु छैन। खान लाउन पाउँ, छोराछोरीहरु आफ्नो कमाइमा जाउन्। मेरो क्लिनिकमा जति पैसा आउँछ सबै परोपकारी काममा जान्छ।

परोपकारी काम कहाँ, के गर्नुहुन्छ?

क्लिनिकबाट मैले निजी परोपकारी काम गर्छु। मसँग तीन, चारवटा संस्थाहरु छन्। एउटा साइ समाज सेवा निधि छ। त्यसमा ५०-६० लाखको पुँजी छ। त्यसबाट हामी स्वास्थ्य, शिक्षा, वातावरण र समाज सेवामा काम गर्छौं। देवघाटमा नि:शुल्क क्लिनिक चलाउँछौं। छात्रवृत्तिहरु दिन्छौं। दोश्रो, रानी जगदम्बा कुमारी देवीको नामबाट जगदम्बा मेडिकल च्यारीटी छ। केही पैसा त्यसमा छ। त्यसबाट खान लाउन नपाएका गरिबहरुलाई केही न केही हामी दिन सक्छौं। त्यो हाम्रो दर्ता भएको गुठी हो। तेश्रो, मेरो बाबुआमा केदारमणि-विद्यादेवीको नामबाट केबी स्वास्थ्य सेवा निधि छ। मेरा बाबाआमाको इच्छा थियो, छोराछोरीले हेलाँ गरेका, कोही सहारा नभएका व्यक्तिलाई केही गर्न भनेर उहाँले नै एउटा संस्था खोल्नुभएको थियो। त्यसमा उहाँले केही पुँजी राख्नुभएको थियो। त्यसमा हामीले थप्दै थप्दै लगेका छौं। असाध्यै दुख पाएका व्यक्तिलाई सहयोग गर्छौं। उदाहरणका लागि भक्तपुरका एक बृद्ध दम्पत्ति सानेपा ललितपुरमा कपडा थापेर भीख मागेर बसेको खबर मकहाँ आयो। तिनलाई ल्याएर मासिक रुपमा केही रकम दिने प्रबन्ध मिलायौं। अहिले हामीले त्यस्ता बीस जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छौं ताकि उनीहरुले खान लाउनका लागि छोराबुहारीसँग हात फिँजाउन नपरोस्। मेरो क्लिनिकको पैसाचाहिँ मुख्यगरी पुजामा जान्छ। ललितपुरको र भरतपुरको मन्दिरमा।

तपाईँ आधुनिक जमानाको ‘एलोप्याथिक’ डाक्टर । भगवान भन्दा विज्ञान सर्वेसर्वा हो भनेर ठान्ने विज्ञानबाट दीक्षित। तर तपाईँ त भगवानसँग जोडिनुहुन्छ। क्लिनिकभरी जताततै साइबाबाका मूर्तिहरु-तस्वीरहरु राख्नुभएको छ। यो किन?

म बीर अस्पतालमा काम गर्दाखेरीको उदाहरण दिन चाहन्छु। कुनै बिरामीलाई वैज्ञानिक धारणा अनुसार गर्न सक्ने सब गर्यो, यो बिरामी एकदम ठिक छ भन्यो । भोलीपल्ट जाँदा त्यो मान्छे मरिसकेको हुन्थ्यो। अर्को तिर सिकिस्त बिरामी हेर्यो, खत्तम भयो, यो त गयो अब परिवारलाई पनि भन्दिउँ भनेर बस्यो, भोली आउँदाखेरी उ तन्नेरी भएर बस्या हुन्थ्यो। हाम्रो विज्ञानले जे भन्छ, त्यसले भने बमोजिम जति सकिन्छ त्यो काम गर्नुपर्छ। तर मेरा बाजे, बाबु, आमा सबै मरे। मरेपछि के हुन्छ कसो हुन्छ यो सबै नसोच्ने हो भने मान्छेले पेशा त चलाउला तर त्यसमा अध्यात्म, नैतिकता हुँदो रहेनछ। खासगरी डाक्टर त झन समवेदनशील हुन्छ यो मुद्दामा किनभने हामी दैनिक रुपमा जीवन र मरणसँग खेलिरहेका हुन्छौं।

तपाईँले डाक्टरी पेशामा डट्न आफुलाई अद्यावधिक कसरी राख्नुहुन्छ?

संसारभरीको उत्कृष्ट म्यागेजिनहरुको ग्राहक बनेको छु। आफ्नै पैसाले किन्छु। विदेशी मुद्रामा किन्नुपर्ने भएकाले त्यो निकै महँगो पर्छ। मकहाँ बेलायतको ब्रिटिश हार्ट जर्नल आउँछ। अमेरिकाको सबभन्दा पुरानो र प्रख्यात म्यागेजिन न्यू इङल्याण्ड जर्नल अफ मेडिसिन भन्ने आउँछ। मुटु सम्बन्धी, नशा सम्बन्धी, पेट सम्बन्धी र संक्रामक रोग र जनरल मेडिसिन गरी पाँच थरीका संसारभरीबाट आउने निष्कर्ष(सीनप्सीस)हरु छापिने पत्रिका हरेक दुई हप्तामा आउँछ। अमेरिकाको पेन्सलभेनियाबाट मेडिकल लेटर भनिने पछिल्ला औषधी उपचारबारे जानकारी दिने म्यागेजिन पनि आउँछ। म आफुलाई अद्यावधिक बनाइरहन्छु किनभने मैले त्यसो गरिन भने त म भुत्ते तरवार जस्तो बन्छु। बिरामीको राम्रो उपचार गर्न सक्दिन । बिरामीको म माथि विश्वाश पनि रहँदैन।

मान्छेहरुले आफुलाई स्वस्थ्य राख्न गर्नैपर्ने कुरा के के हुन्?

पहिलो त खानेकुरा कम खानोस्। जंक फुड, उच्च घनत्व हुने खाद्य पदार्थ नखानोस्। पिउने हो भने एकदम संयमित रुपमा पिउनुहोस्। धुमपान त गर्दै नगर्नोस्। रोजिन्दा कसरत त गर्नैपर्छ। दौडनु र पसिना आउने गरि छिटो छिटो हिँडने गर्नुपर्छ। पृथ्वी र खुट्टा भगवानले दिनुभएको छ हिँड्नु सबभन्दा उपयुक्त हो। समय व्यवस्थापन गर्नोस्। समयमा सुत्नोस्। समयमा उठ्नोस्। यो राती ढिला ढिला बसेर टीभी हेर्ने काम नगर्नोस्। विहान पनि सकेसम्म ब्रम्ह मुहुर्त भेट्टाउने गरी उठ्नोस्। तपाईँको दिमाग स्वस्थ राखेर अध्यात्म समातेर अगाडि बढ्नुभयो भने तपाईँ स्वस्थ्य रहनुहुनेछ।

तपाईँ विरामी जाँच्न र पढ्न लेख्न दैनिक कति समय विताउनुहुन्छ?

बिहान दुई घण्टा पढ्छु। लगभग ६ घण्टा सक्रिय रुपमा विरामी हेर्छु। कुल साढे सातदेखि आठ घण्टा म विरामी सम्बन्धी काम नै गरिरहेको हुन्छु।

नेपाल या संसारभरमै यति उमेर पुगेपछि अवकाश लिने भन्ने छ। तपाईँ त अहिले पनि दैनिक आठ घण्टा खट्नुहुँदो रहेछ। कहिलेसम्म यस्तो गर्न सक्छु जस्तो लाग्छ?

मेरो विचारमा अवकाश भन्ने हुँदै हुँदैन। खासगरी डक्टरी पेशामा त हुँदै हुँदैन। हाम्रो यत्रो अनुभव, हामीले त अब दिने बेला भो। बरु नि:शुल्क दिउँ। बी एण्ड बी अस्पतालमा म केहि समय काम गर्छु र त्यसबाट आउने पैसा सबै जनजाति कल्याण केन्द्रमा जान्छ। थोरै आउँछ तर उनीहरुले सीधै उतै लग्छन्। काम गर्दा गर्दै मरेँ भने त्यो मेरा लागि ठूलो सौभाग्य हुन्छ। म विरामी भएर लुलो लंगडो भएर अवकासप्राप्त भएर बस्ने सोच्नै सक्दिन्। शरिरको शक्ति कम हुँदै गएको अवस्थामा सीमित हिसाबमा काम गर्नुहोस्। सकेसम्म समाजलाई, विरामीलाई मुलुकलाई झन फाइदा हुने किसिमको काम गर्नुहोस। आफ्नो बुद्धि दिनोस्। आफ्नो अनुभव दिनोस्। आफ्नो नैतिकता र आचरण दिनोस्। जिन्दगीभर तपाईँले गर्दै आएको काम जनतालाई दिनोस्, युवाहरुलाई दिनोस्, जति सक्नुहुन्छ दिनोस् अनि मरेर जानोस्।