dr shankar prasad upreti
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा. शंकरप्रसाद उप्रेती

  • 26 अगस्ट 2016

बीबीसी नेपालीको कार्यक्रम मनकारी डाक्टरको दोश्रो श्रृंखलामा हामीले डा. शंकरप्रसाद उप्रेतीसँग कुराकानी गरेका छौं। भारतमा अर्काको घरमा सहयोगी बसेर स्कूले शिक्षा र आइएस्सीसम्म पढेपछि उप्रेती नेपाल आए। शिक्षा मन्त्रालयबाट एमबीबीएसको छात्रवृत्तिका लागि आवेदन दिए र छात्रवृत्ति पाएकै क्षण प्रतिज्ञा गरे- म डाक्टर बनेपछि पचास वर्षसम्म गाउँमा बसेर सेवा गर्छु। डाक्टर बनेर नेपाल फर्के- पचास वर्ष पूर्वी नेपालस्थित झापाको गाउँमा आफ्नै घरमा बसेर गाउँलेको सेवामा दत्तचित्त रहे। हुनेखानेसँग शुल्क लिए, गरिब दुखीलाई निशुल्क सेवा दिए। प्रस्तुत छ डा. शंकरप्रसाद उप्रेतीसँग रमा पराजुलीले गरेको कुराकानी।

डाक्टर बन्ने र बेलायत अमेरिका हानिने चलन डाक्टरहरुमा व्याप्त छ। तपाईँलाई गाउँमा बसेर पचास वर्ष काम गर्ने प्रेरणा कसरी आयो?

मैले एमबीबीएस पढ्न छात्रवृत्तिको फाराम भरेपछि मेडिकल पढ्ने पक्का भयो त्यही क्षण कृष्ण भगवानलाई याद गरेँ। हे प्रभु मैले नपाउने पाएँ, म एमबीबीएस भन्दा बढी गर्दा पनि गर्दिन। मेरो शरिरले साथ दियो भने पचास वर्ष गाउँमा काम गर्छु भन्ने प्रतिज्ञा गरेँ। छात्रवृत्ति पाउँदा सरकारसँग शर्तनामा गर्नुपरेको थियो फर्केपछि पाँच वर्ष सरकारले खटाएको ठाउँमा काम गर्ने भन्ने। पहिले त्यो पुरा गरेँ।

पाँच वर्ष सरकारी अस्पतालमा काम गरेपछि गाउँ जानुभयो?

डाक्टर बनेर यहाँ फर्केपछि मैले अपोन्टमेन्ट मागेँ। कैलाली अस्पताल मात्रै खाली छ भने। कैलाली अस्पताल कालापानी जस्तो थियो। जंगलको बीचमा। डाइरेक्टरले मलाई भने- हेर कैलाली जान्छु भन्छौ यो भन्दा अगाडि डा गिरिलाई पठाएको म जंगलमा बस्दिन भनेर दुई महिनामा भागेर आए। तिमि पनि भागेर त आउँदैनौ? फिक्रि नगर्नुस म भागेर आउँदिन भनेँ। म कैलाली गएँ।

पूर्वको मान्छे पश्चिम पुग्नुभयो?

हो पश्चिम पुगेँ। त्यहाँको हालत निकै खराब थियो। जंगलको बीचमा। विरामी पनि कोही नआउने थारु त झन् आउँदै नआउने। त्यहाँ बसेर लागत अनुमान गरेर पठाएँ। मर्मत सम्भार गराएँ। पैसा निकासा गराएँ। चउर मात्रै थियो अस्पतालको क्षेत्रफल कति हो थाहै थिएन क्षेत्रफल बन्दी गराएँ। धेरैँ काम गरेँ मैले त्यहाँ। त्यसबेला साधन पनि केही थिएन। बडाहाकीमको हात्ती थियो। उनीसँग हप्ताको एकदिन मलाई हात्ती दिन आग्रह गरेँ। उनले के गर्न? भनेर सोधे। मैले गाउँ घुम्न भनेँ। १६ सालमा कांग्रेसको क्याबिनेट हुँदा हरेक बुथमा एउटा मेडिकल बक्सा पठाएको रहेछ। त्यसमा केही ट्याब्लेट मलमहरु, गलगाँड सम्बन्धी मलम, लुतोका मलम, घाउका मलम, रुइहरु रहेछन्। त्यो त बडाहाकिम अन्तर्गत त्यसै बसेको रहेछ। ति सबै ल्याएँ। अनि गाउँ घुम्न थालेँ। एउटा गाउँ, दुईटा गाउँ। मलमले लुतो ठीक भयो। घाउ ठिक भयो। हुँदा हुँदै थारुहरु आउन थाले। सीमा क्षेत्र भएकाले भारतीय थारुहरु समेत आउन थाले उपचारका लागि। म त्यहिँ रमाएँ। तीन वर्ष पछि डाइरेक्टर दिनाथानन्द बैद्य हुनुहुन्थ्यो। उहाँले सरुवा मिलाइदिन्छु भन्नुभयो। मैले दाइ मलाई अरु दुइ वर्ष यहीँ बस्न दिनुहोस्। मेरो पाँच वर्ष पुरा हुन्छ म यहीँबाट घर जान्छु भनेँ। पाँच वर्ष पुरा पनि भयो। म छुट्टी मागेर गाउँ गएँ झापा। मेरा बुवालाई भने आफ्ना छोरा हाकिम भएर बसिरहुन् भन्ने थियो। बुवाले मलाई राजीनामा नगर भन्ने दवाव दिनुभयो। तर म त्यो पक्षमा थिइन। मलाई हुम्ला सरुवाको कागज आयो गइन। भोजपुर सरुवा गरिदिए मलाई। भोजपुरमा अढाइ वर्ष जति बसेँ। त्यहाँ पनि अधकल्चो अस्पताल थियो। मैले पुरा बनाइदिएँ। त्यसपछि छुट्टी मागेर घर गएँ। घरमा चिठी आयो हेटौंडा अस्पतालको बरिष्ठ डाक्टर बनाइएको । मैले मानिन। उनीहरुले भद्रपुरमा दरबन्दी भए बस्छु कि भनेर सोधे, मैले मानिन।

त्यसरी जागिर छोड्न मन हुनुको कारण गाउँमै बसेर पचास वर्ष सेवा गर्छु भन्ने थियो कि अथवा यताबाट उता उताबाट उता पुर्याइदिएका कारण हो?

मैले सरकारको जागिर खानु परेको कारण त छात्रवृत्ति पाउँदा भरेको शर्तका कारण अनिवार्य थियो। पाँचको ठाउँमा ६/७ वर्ष काम गरेँ त्यो पनि बुवाको दवावका कारण। मैले भगवानसँग गरेको प्रतिज्ञा पुरा गर्नु पर्यो नि।

भगबान कृष्णसँग गरेको प्रतिज्ञा कारण त्यस्तो निर्णय लिनुभयो?

कसैसँग पनि इमान्दारी पूर्वक गरेको प्रतिज्ञा हरेकले पुरा गर्नु पर्छ नि।

गाउँमा उपचार दिन सजिलो कि गाह्रो?

सजिलो कि गाह्रो त अवस्था अनुसार हुन्छ। शहरको कुनै विशेषज्ञ गाउँमा लगेर राखे उसलाई गाह्रो होला। म त शुरुदेखि गाउँमा काम गरेको मान्छे। दबाइ भन्ने कुराको अवधारणा नै नभएको ठाउँ कैलाली र भोजपुरमा काम गरेँ। त्यसैले मलाई गाउँमा काम गर्न कुनै अफ्ट्यारो थिएन।

अहिले पनि थुप्रै मानिसहरु गाउँबाट शहर आउँछन्। अहिले डाक्टर बन्नेहरुको सपना बेलायत अमेरिका जाने छ। अहिले पनि गाउँमा विरामी जाँच्ने मान्छे त छैनन् नि होइन?

अब बिस्तारै जाँदैछन्। पहिले म झापामा जाँदाखेरि भद्रपुरमा एकजना डाक्टर थिए अरु कोही थिएन। भद्रपुरको सीधा उत्तरमा पर्छ शनिश्चरे म त्यहाँ बसेँ। दुइजना मात्र थियौं। अहिले त्यहाँ एक से एक अस्पताल बनिरहेका छन्।

त्यो त तराईको समथरको कुरा भयो। तर नेपालका अनेकौं गाउँमा डाक्टर छैनन्। तर तिनै गाउँहरुबाट पनि थुप्रै मानिसहरु डाक्टर बनेका होलान्। उनीहरु गाउँमा गए भने काम गरेर खान सक्छन् कि सक्दैनन्?

त्यो त व्यक्ति व्यक्तिमा भर पर्छ। पैसा कमाउँ, सजिलो जीवन बिताउँ, नाम कमाउँ भन्ने चाहना धेरैमा हुन्छ। आज भन्दा पचास वर्ष अघिको अवधारणा र अहिलेको अवधारणामा धेरै फरक छ। त्यतिखेर सानो कुराले पनि चित्त बुझ्थ्यो। केही भएपनि ओहो के के न भयो जस्तो हुन्थ्यो। अहिले त धेरै चाहिन्छ। त्यसले गर्दा मानिसहरु चिकित्सा भनेको सेवा हो भन्ने भन्दा पनि आर्थिक तिर ज्यादा मुखरित भएका छन्।

अहिले डाक्टर बन्ने मान्छेले आफ्नै गाउँमा फर्केर काम गर्यो भने उसले बाँच्न सक्ने स्थिति हुँदैन?

बाँच्ताखेरि हुने हो नि। सक्छ पनि उसले चाहेमा। तर उसले अर्कोलाई देखिरहेको छ। अर्कोले अर्कोलाई देखिरहेको छ। अरुको प्रगति देख्दा मान्छेले आफुलाई बेवकुफ सम्झन थाल्छ। त्यसैले उनीहरु गाउँमा बस्न मान्दैनन्।

धेरै वर्ष गाउँमा बस्नुभो गाउँका र शहरका मान्छेको स्वास्थ्यका समस्या फरक हुन्छन्?

हुन्छ। शहरको मान्छे पढे लेखेको हुन्छ। तर गाउँमा त्यस्तो कम हुन्छ। बच्चा जन्माउने काम नै हेरौं। त्यो गाउँमा कसले बच्चा जन्माउन सहयोग गर्न जान्थ्यो र? कोही जाँदैनथ्यो। शहरमा सबै अस्पताल पुग्छन्। झापामा मैले सेवा शुरु गरेपछि तीन पुस्ता बुढीआमा आमा नातीनी बच्चा जन्माउन सहयोग पुर्याएको छु।

गाउँमा त कति मानिसहरु गरीब हुन्छन्। उनीहरुसँग शुल्क लिनुभयो कि निशुल्क गर्नुभयो?

गरीब नहुनेसँग कसरी लिने? कोही धनी सम्पन्न आउँथे; पाँच सातसय रुपैया लिन्थेँ म दबाइ सबाइ मिलाएर। एउटा गरीब आएको थियो। छोरो जन्मियो। अरु मान्छे पनि थिए बसिरहेका। त्यो व्यक्ति मेरो टेबलमा विस्तारै आएर डाक्टर साब भनेर डेढ सय रुपैया राखिदियो। डेलिभरी फिस, आइरन चक्की र अरु दबाइ पनि दिनुपर्यो। एउटा डेलिभरीमा कम्तिमा दुई/तीन सय रुपैया खर्च हुन्थ्यो। मैले त्यो गरिब विचराको मुख हेरेँ। भरे सुत्केरीलाई खुवाउने कुखुरा छ? घरमा भनेर सोधेँ। उसले छैन भनेपछि उसैलाई फिर्ता दिएँ सय रुपैयाँ । वरपर बसेका सुन्नेहरु पनि छक्क परे। पैँतालीस दिनपछि परिवार नियोजन गर्न आउनु भनेर पठाएँ। कतिलाई निशुल्क परिवार नियोजन गरिदिएको छु। हुनेखानेसँग लिएर गरीबलाई मद्दत गर्नुपर्यो नि त।

पचास वर्ष गाउँमा काम गरेर आइसकेपछि अहिले कस्तो लाग्छ मनमा?

अहिले मलाई आनन्द लाग्छ। किनभन्देखि मैले एउटा उमेरसम्म जे काम गर्नु थियो त्यो गरेँ। छोरा र बुहारी छन्। उनीहरुका दुइ छोरी अर्थात मेरा नातीनीहरु छन्। म खुशी छु तर देशको स्थिति हेर्दा मलाई दुख लाग्छ।

नोट: अर्को हप्ता बिहिबार (सेप्टेम्बर १ तारिख) स्वास्थ्य सम्बन्धी विभिन्न गतिविधि गर्न एउटा घर नै गुठीलाई सुम्पेका तत्कालीन राजाका डाक्टर मृगेन्द्रराज पाण्डेसँग कुराकानी गर्नेछौं। कृपया सुन्ने प्रयास गर्नुहोला।