डा. मृगेन्द्रराज पाण्डे
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा. मृगेन्द्रराज पाण्डे

  • 7 सेप्टेम्बर 2016

मनकारी डाक्टर श्रृंखलामा यसपटक कुराकानी गरेका छौं डा. मृगेन्द्रराज पाण्डेसँग। जतिबेला देशमा सर्वशक्तिमान राजा थिए तिनको स्वास्थ्य हेरचाहको जिम्मा पाएका एक डाक्टर हुन् मृगेन्द्रराज पाण्डे। डाक्टर बनेको करिब पन्ध्र वर्षपछि उनले दुखी गरिबहरुको सेवा गर्न भन्दै संस्था खोले मृगेन्द्र संझना चिकित्सा गुठी। गुठी सञ्चालन गर्न आवश्यक परेको रकम जोहो गर्न आफ्नो घर नै गुठीको नाममा पास गरिदिए। त्यही गुठीले चार दशक भन्दा बढी भयो विकट जिल्ला जुम्ला लगायत अरु कैयौं गाउँमा गएर गरिबहरुका लागि निशुल्क क्लिनिक सन्चालन गर्दै आएको। गुठी मार्फत उनले विश्वमै उदाहरणीय हुने अनुसन्धान पनि गरेका छन्। प्रस्तुत छ, डा. पाण्डेसँग रमा पराजुलीले गरेको कुराकानी।

डा. पाण्डे, दरबारको तामझाममाबाट गरिब गुरुवाको झुपडीमा जाने प्रेरणा कहाँबाट आयो?

म सामान्य विद्यालय शिक्षकको छोरा हुँ। यो सबै मौका मैले कसरी पाएँ भने मलाई राणाहरुले डाक्टर पढ्न पठाए। राणाहरुले जम्मा गरेको पैसा जनताबाट उठाइएको हो। गरिब जनतालाई बेस्सरी चुस्सिन्थ्यो त्यतिबेला। बेलायतीहरुले पनि मलाई पढाए, खुब राम्रो गरे। पहिलो विश्व युद्ध, दोश्रो विश्व युद्धमा त्यति धेरै लाहुरेले रगत बगाएका छन्। मैले पनि त्यो नुन खाएको हुनाले तिर्नुपर्यो। तर त्यो मात्र होइन। म यत्रो ठूलो मान्छे भएपछि मैले केही गर्नु पर्दैन त? खाली औषधी गर्यो रमाइलो गर्यो यो मात्र त भएन नि। सम्पति पनि केही दिउँ भन्ने विचार आयो। सल्लाह गरेँ र जमलको घर मैले ग्वाम्मै दिएँ।

खासमा काम के गर्ने भन्ने सोच्नुभयो?

म डाक्टर भएका हुनाले सबभन्दा गरिबहरुकहाँ गएर स्वास्थ्य सम्बन्धी सेवा गर्छु भन्ने सोचेँ।

गरिब कसलाई रोज्नुभयो?

मैले सुन्दरीजलतिर ताकेँ। पहिले उपचार मात्र गरेँ। पछि उनीहरुको रोग केले भएको छ? उनीहरुको खानपान र रहनसहन कस्तो छ नहेरिकन उपचार गरेर मात्र हुँदैन रहेछ भन्ने सोच भयो ।

त्यसो भए उपचार गर्न जाँदा प्राप्त ज्ञानका आधारमा रोग लाग्नबाट कसरी बचाउने भन्ने तिर खोज्न थाल्नुभयो?

हो। वायु प्रदुषण खासगरी घर भित्रको वायु प्रदुषणबारे मैले गरेको काम विश्वमै उदाहरणीय बन्यो। त्यसबारे सबभन्दा पहिले कराउने मै हुँ।

गाउँमा जाँदा घर भित्रको धुँवा समस्याकारी देख्नुभयो?

धुँवा देखेँ। त्यो रोगको कारण हो त्यसैले यो हुनु भएन भन्नेमा गएँ।

घरभित्रको धुवाँले मान्छेको स्वास्थ्यमा कस्तो असर पार्छ?

के रोग लाग्दैन भन्नोस न। फोक्सोको रोगहरु। ब्रोन्काइटिश। छाती मुटु क्यान्सरहरु। अरु पनि नाना प्रकारका रोगहरु छन्। आँखादेखि लिएर थुप्रै अंगमा रोग लाग्छ। सुन्दरीजलपछि अरुतिर पनि जानुभयो काम गर्न?

त्यसपछि छैमले गएको। अहिले पनि ती ठाउँहरुमा क्लिनिक सञ्चालनमा छ।

छैमले पछि कहाँ जानुभयो?

जुम्ला।

जुम्ला किन जानुभयो?

सबभन्दा अविकसित ठाउँ जुम्ला हो।

त्यतिबेलाका एकदम शक्तिशाली राजाको पनि सेवा गर्नुहुन्थ्यो। फेरि एकदम विपन्नकहाँ पनि पुग्नुभयो त्यसो गर्दा कस्तो भयो?

आफ्नो ब्रम्ह स्पष्ट राखेर काम गर्नुहुन्छ भने केही पनि गाह्रो पर्दैन। विपन्नकहाँ गर्नु र राजाको काम गर्नु त्यति गाह्रो काम होइन। राजाकै विरोधी- जेलमा रहेका बीपी कोइरालालाई हेर्न सरकारले पठायो मलाई। हेर्दा रोग त ज्यादै कडा रहेछ।

के रोग रहेछ?

उनको दिमागमा रगत पुर्याउने मुल नशा क्यारोटिड आर्टरी नै ब्लक भएर बसेको थियो। त्यसले उनलाई जुनसुकै बेला पक्षाघात हुन सक्छ भन्ने थाहा थियो। मलाई ठूलो समस्या आइलाग्यो। नेपालको त्यसबेलाको परिस्थिति असाध्यै कठीन थियो। तर उनलाई छुटाउनु पनि मेरो कर्तव्य भयो। म सबकहाँ पुगेँ। तर समस्या समाधान भएन। बीपीकहाँ गयो हेर्यो। सान्दाई हजुरलाई ठीक छ भन्थेँ।

नाडी छाम्दै त्यस्तो ब्लक भएको थाहा हुन्छ?

उनको लक्षणबाट थाहा पाएँ। म चानचुने डाक्टर होइन नि दिमाग छ के गर्नुहुन्छ (हाँसो)। बीपीको अगाडि मुख अँध्यारो बनाउनु भएन उनी कम बाठा थिएनन् उनले पत्ता लगाइहाल्थे। बीपीलाई पनि जिल्याउनु थियो। फेरि राजाकहाँ गएर उनलाई छुटाउनु पनि थियो। आखिरमा एकजना सचिवले म मिलाउँला तपाईँ घरमै बसिरहनुहोस् भन्नुभयो। सचिव आउनुभयो। उहाँले राजा वीरेन्द्रकहाँ लग्नुभयो। अरु सचिव कोहीपनि थिएनन्। बीपीको विमारबारे कति प्रतिशत निश्चित हुनुहुन्छ भनेर राजाले सोध्नुभयो। मैले ९९ प्रतिशत भनेँ। कसरी ९९ प्रतिशत निश्चित हुन सकिन्छ भन्नुभो। उहाँकै परिवारमा चमत्कारिक निदान गरेको थिएँ यस अघि नै। मैले उहाँको हजुरआमाको त्यस्तै रोग नाडी छामेर पत्ता लगाएर उपचार गर्न लगाएको थिएँ। करिब एक घण्टा कुराकानी भएपछि राजा आश्वस्त भए। अनि बीपी आए मयलपोश सुरुवाल लगाएर। राजाले मसँग राजनीतिक कुरा गर्न बोलाएका होलान् भन्ने सोचेर आएका रहेछन् बीपी। मलाई पनि बोलाइयो। बीपीको रोगको बारेमा कुराकानी भयो। त्यसपछि राजाले बीपीलाई सबभन्दा राम्रो उपचार गर्न दिउँ भनेर अमेरिका पठाइदिनुभयो।

अनि जुम्ला कसरी पुग्नुभयो?

त्यहाँ एकदम पिछडिएको थियो। बच्चाहरु झिँगा मरेजस्तो गरेर मर्थे। केही थिएन। त्यसैले जुम्ला गयौं र जुम्लाको जिल्लाव्यापी कार्यक्रम चलायौं।

के कार्यक्रम थियो त्यो?

मुख्य रुपमा त बाल बचाउ कार्यक्रम नै हो।

त्यतिबेला जुम्लाको बाल मृत्युदर कति थियो कतिमा घटाउनुभयो?

प्रति दश हजार ३३६ बाट ११० बनायौं। अहिले त झन झन घट्यो। यही कार्यक्रमले गर्दा नेपाल नमुना भएको छ। एआरआइबारे डब्लु. एच. ओ. र युनिसेफको बाल बचाउ कार्यक्रम हामीले जे गरिरहेका थियौं त्यही स्वीकार गर्यो।

एआरआई भनेको के हो?

एक्युट रेस्पीरेटरी सिन्ड्रम जसलाई हामी न्यूमोनिया भन्छौं; बच्चाको न्यूमोनिया हो।

अहिले संझिँदा त्यतिबेला पञ्चायत काल थियो। तपाईँले गरिरहेको कामलाई दरबारले ठीक छ गर भन्यो कि नगर भन्यो?

दरबारमा म खटिएको थिएँ। देवघाटमा ठूलो शिविर थियो । बीरन्द्रलाई मन पर्यो कि परेन थाहा छैन। मलाई भन्थे ‘डाक्टर यु आर ह्याबिङ अ नाइस टाइम।’ सरकार! भन्थेँ। उनी पनि हाँस्थे, म पनि हाँस्थेँ। कोही तास खेलेर बस्थे त्यो टाइममा म शिविर गर्छु भन्थेँ। उनीहरुलाई अलि मन पर्दैनथ्यो। भरतपुर हो कि पोखराको सवारीमा एकदिनको एजेण्डा नै त्यही थियो। ऐश्वर्यले शुरु गरेको – आज डाक्टरको गुठीको बारेमा कुरा गरौँ न भनिन्। दरबारको साँझको एउटा एउटा पेय पदार्थ लिएर बस्ने बैठकमा। सारा थिए। उनीहरु मैले केही माग्छु कि भन्ने अपेक्षामा थिए तर मैले केही मागिन। किन माग्ने? के चाहिया छ? धेरै चाहिन्न नि। थोरै होस् तर चोखो होस्।

जस्तो मैले सुन्दरीजलमा पहिले खोलेँ नि क्लिनिक। त्यसबेलामा बीपी कोइरालालाई सुन्दरीजलमा थुनेको थियो। त्यहाँबाट मलाई दरबारले हटाउन खोज्यो। पहिले प्रीन्सेप शाह लगाए। उनले चारपटक रात्रिभोजमा बोलाएर त्यो छोड्दिनोस भनिन्। के छोड्ने?

सुन्दरीजल बन्द गरिदिनोस भनेको। तपाईँलाई मेयो क्लिनिक हामी बनाइदिन्छौं। हामीसँग लाग्नोस् अर्को बनाइदिहाल्छौं नि भनिन्। मैले ज्यान गए पनि मानिन। तिनले अन्त्यमा मैले भनेको मान्नुभएन तपाईँलाई म भन्दा माथिको आउँछ भनिन्। आखिरमा ऐश्वर्यले ‘तपाईँले क्लिनिक चलाउनुभाछ सेवा गर्नुभाछ त्यो त राम्रो कुरा हो तर त्यहाँ नगरेर अन्त जानुहोस् न’ भनिन्। किन त्यसो भनिएको हो मलाई थाहा छैन तर बीपी त्यहिँ थुनामा राखिएका हुनाले त्यसको डर भएको हुन सक्छ। मैले त्यतिबेला दिएको जवाफ संझिन्छु। ‘सरकार! बाउनको छोरो आफुले कमाएको सम्पत्ति बागमतीको किनारमा बसेर दान गर्न पाउँ सरकार। सरकारको जो हुकुम!’ भनेपछि उनी चुप लागिन्। त्यसपछि सुन्दरीजलमा रहेको सेनाले नजिकबाट हाम्रो निगरानी गरिरहे। सबै मैले जे जति भन्या छु भएकै कुरा हो।

दरबार र झुपडी अनि दरबारमा बस्ने मान्छे र झुपडीका मान्छे कस्तो अनुभव हुन्थ्यो?

आधारभुत कुरा पुग्ने हो भने झुपडीमा बस्ने मान्छेहरुले दरबारमा बस्ने मान्छेहरुको इर्श्या गर्नुपर्ने केही पनि पाइन मैले। तिनलाई पनि शान्ति छैन। दरबार भनेको दरबार मात्र होइन शक्ति केन्द्रहरु सबै उस्तै हुन्।

जमलको घर दुखी गरिबहरुको सेवा गर्छु भनेर दिनुभयो तर त्यो घर यहाँले कसरी कमाउनु भएको थियो?

त्यहाँ एक टुक्रा जग्गा थियो। त्यसमा एउटा हल्ला छ बक्सिस पाएको भनेर। त्यो होइन। मैले त्यो बेलाको चलनचल्‍तीको मोल तिरेर लिएको हुँ। त्यसको कागजपत्र अहिले पनि मसँग छ।

आफुसँग धेरै सम्पत्ति भएर दुईचारवटा घर भएर जमल दिनुभएको होइन?

होइन, होइन। मसँग एउटा बस्ने घर थियो अर्को त्यही जमल थियो। अहिले पनि केही छैन। जमल पनि दिएँ। त्यो बस्ने घर पनि गयो। अहिले अपार्टमेन्ट लिएर बसेको छु तर त्यसमा मलाई दुख लागेको छैन।

करोडौं रुपैया दिएँ भन्दा आफुलाई मनमा कस्तो लाग्छ?

मलाई आनन्द लाग्छ। किनभने मसँग अहिले जति पैसा छ त्यो मेरो धन होइन। मैले जुन दान दिएँ त्यही मात्रै मेरो धन हो। जिन्दगीमा सन्तोष नै मलाई त्यसैले दिराखेको छ। धेरै धन किन चाहियो? तपाईँलाई अहिले चिया खुवाउन सकिहालेँ, त्यति भएपछि केलाई चाहियो? के गर्ने त्यो? त्यसको समस्या कति? तर जुन मैले दिएँ त्यसले त मलाई सन्तोष आएको छ नि।

अरु कुरा केही भन्नु छ कि यहाँको?

म त्यस्तो मान्छे हुँ शुरुदेखि कुनै पनि प्राइभेट नर्सिङ होममा गइन। कुनै निजी मेडिकल कलेजमा गइन। साथीहरुले जोड गर्दाखेरि पनि गइन। यो डाक्टरी पेशामा व्यापार गर्न हुँदैन भन्ने सिद्धान्तमा बसेँ। प्रलोभनहरु प्रशस्त आए तर त्यो सिद्धान्तमा अहिलेसम्म अडिग छु।