‘पूरक बजेट ल्याउने सरकारको गृहकार्य’

  • 26 नोभेम्बर 2016

झण्डै एक खर्ब रुपैयाँ बराबरको पूरक बजेट ल्याउने गरी तयारी शुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

पूरक बजेट वर्तमान सरकारले घोषणा गरेका गरीबसँग सरकार जस्ता कार्यक्रमहरु र पूर्वाधार निर्माणमा लक्षित हुने बताइएको छ।

आफ्ना कार्यक्रम कार्यान्वयन गराउन सहायक हुने पूरक बजेट ल्याउनका लागि सरकारका तर्फबाट राजनीतिक सहमतिको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्।

केपी ओली नेतृत्वको आफ्नै पार्टी सम्मिलित सरकारले ल्याएको आर्थिक वर्ष २०७३/७४ को बजेट कार्यान्वयनको चरणमा रहेकै बेला प्रधानमन्त्री प्रचण्डले पूरक बजेट ल्याउने बताउँदै आएका छन्।

गृहकार्य

जसका लागि निर्देशन दिइसकेको र उक्त निर्देशन अनुरुप नै अर्थ मन्त्रालयले पूरक बजेटको गृहकार्य तीव्र बनाइएको बताइएको छ।

विकास बजेटलाई बढाउन र सरकारले घोषणा गरेका कार्यक्रमहरुका लागि बजेट छुट्याउन त्यस्तो तयारी भएको अधिकारीहरु बताउँछन्।

पूरक बजेटका लागि करिब एक खर्ब रुपैयाँ रहेको र त्यहींभित्र रहेर तयारी अघि बढाइएको अर्थ मन्त्रालयका सल्लाहकार पुण्यप्रसाद रेग्मीले बताए।

उनले भने, "भएको पैसा पनि सदुपयोग गर्न सकियो भने विकासमा राम्रो प्रभाव पर्ने भएकाले तयारी शुरु गरिएको छ। राजनीतिक सहमति भयो भने यहीं महिनाभित्र पूरक बजेट आउन सक्छ।"

पूरक बजेटमा सरकार घोषणा गरेका कार्यक्रमका अलावा पुनर्निर्माणका लागि थप रकम विनियोजन गर्ने र केही विकासका नयाँ योजनलाई अघि बढाउनेतर्फ मन्त्रालयको ध्यान रहेको सल्लाहकार रेग्मीले बताए।

उनले भने, "गरीबसँग सरकार भन्ने कार्यक्रम छ, पुननिर्माणमा पनि केही पैसा थप्नुपर्ने छ। विद्युतीय रेलमार्गका लागि र गाँउपालिका लक्षित केही विकासका कार्यक्रम पनि थपिन सक्छन्।"

चेतावनी

राजनीतिक सहमति नभई पूरक बजेट ल्याउन कठिन भएकाले त्यसका लागि पहल भइरहेको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुसँग पूरक बजेटमा बारेमा छलफल थालेको अधिकारीहरुले बताएका छन्।

तर एमाले अध्यक्ष ओलीले पूरक बजेट ल्याउन नदिने सार्वजनिक कार्यक्रममै चेतावनी दिइसकेका छन्।

विगतको सरकारले यस आर्थिक वर्षका लागि ल्याएको १० खर्ब ४९ अर्ब रुपैयाँ बराबरको बजेट चार महिना बितिसक्दा पनि पुँजीगत खर्च ज्यादै न्यून अवस्थामा रहेको बताइएको छ।

पूरक बजेटको तयारीले खासगरी प्रतिपक्षी दल र सरकारबीचको दूरी झनै बढाउन सक्ने आशंका कतिपयले गरेका छन्।